धरान । सुनसरीको १ नम्बर निर्वाचन क्षेत्र एमालेको बलियो किल्ला मानिन्थ्यो । तर, यसपटकको निर्वाचनमा त्यही किल्लामै एमाले उम्मेद्वारविहीन बनेको छ ।
वामपन्थी मत बलियो रहेको यही क्षेत्रबाट सत्ता गठबन्धनबाट माओवादी केन्द्रका नेता मुक्साहाङ मेन्याङ्बो (मुकेश) चुनावी मैदानमा छन् भने एमाले नेतृत्वको गठबन्धनबाट जनता समाजवादी पार्टीका नेता अशोक राई प्रतिष्पर्धामा छन् । एमालेबाट विद्रोह गरेका धरानका पूर्व मेयर मनोज मेयाङ्बो स्वतन्त्र उम्मेद्वार छन् ।
यसपटक सुनसरी १ का एमाले समर्थक मतदाताका लागि कुनैबेला पार्टीकै नेता रहेका तर पछिल्लो समयमा एमालेलाई सबैभन्दा बढी पश्चगामी र नश्लवादी भन्ने अशोक राई जिताउनु पर्ने बाध्यता आइलागेको छ ।
धरान उपमहानगरपालिकासहित बराहक्षेत्र नगरपालिकाको वडा नम्बर १ देखि ५ सम्म र रामधुनी नगरपालिकाको वडा नम्बर ६ र ७ पर्ने सुनसरी–१ मा एमालेको आधिकारिक उम्मेदवार उनै राई हुन् ।
०७४ को चुनावमा पनि एमालेविरुद्ध नेपाली कांग्रेसले अशोक राईलाई नै उम्मेदवार बनाएको थियो । तर, एमालेका जय राईसँग दोब्बरबढी मत अन्तरले पराजित भए । त्यसबेला अशोकले २२ हजार १२३ मत पाउँदा जयले ४४ हजार ५२८ मत ल्याएर जितेका थिए । तिनै अशोक राई यसपटक पनि कांग्रेस नेतृत्वको सत्ता गठबन्धनबाटै उम्मेदवार बन्ने देखेरै धरान एमालेले फेरि जय राईलाई अगाडि बढाउने निर्णय गरेको थियो ।
तर, जसपाले सत्ता गठबन्धन तोड्दै राजनीतिक समीकरण बदलेपछि अशोक राई एमाले कित्तामा आइपुगे । ‘राजनीतिक उतारचढाब अचम्मै हुने रहेछ, ३१ वर्ष अगाडि मैले नै अशोक राई यहाँको (सुनसरी–१ बाट) उम्मेदवार हुनुपर्छ भनेर अडान लिएको थिएँ’ स्वतन्त्र उम्मेद्वारसमेत रहेका पूर्वमेयर मेन्याङ्बोले अतित सम्झिए, ‘तर त्यसबेला मनमोहन अधिकारीले धरानबाट चुनाव लड्ने चाहना राखेपछि अशोक राई खोटाङतिर लाग्नुभयो ।’ पञ्चायत अन्त्यपछि २०४८ मा भएको त्यो चुनावमा अधिकारीले धरानबाट जित्दा राईले खोटाङबाट जिते ।
तिनै अशोक राई अहिले यो क्षेत्रबाट एमालेकै मत पाएर संसद भवन छिर्ने दौडमा निस्कँदा मनोज भने जसरी पनि रोक्न लागिपरेका छन् । ‘यो मेरो मात्रै निर्णय होइन, नेतृत्वको मनपरी मन नपराउने धेरैको समर्थन छ’, मनोजले भने ।
एक स्थानीय नेताकाअनुसार, सुनसरी–१ जसपालाई छोड्ने एमाले नेतृत्वको निर्णयप्रति असन्तुष्ट नेताहरुले २२ असोजमा भेला राखेरै मनोज मेन्याङ्बोलाई स्वतन्त्र उम्मेदवार बनाउने निर्णय गरेका थिए । अर्थात्, खरायो चिह्न पाएका मेन्याङ्बो एमालेकै असन्तुष्ट पक्षधर नेताहरुका उम्मेदवार हुन् । यसको अर्थ एमाले गठबन्धनका बागी हुन् मनोज ।
सत्ता गठबन्धनमा भएको भागवण्डा अनुसार कांग्रेसले माओवादी केन्द्रका मुक्साहाङ लाई समर्थन छ । यो क्षेत्रबाट कुनै पनि संसदीय चुनाव कांग्रेसले जितेको छैन, तर एमालेले २०६४ बाहेक ०४८ यताका सबै चुनाव जितेको छ ।
०४८ मा मनमोहन अधिकारी, २०५१ मा लिला श्रेष्ठ सुब्बा, २०५६ मा कुन्ता शर्मा, २०७० मा कृष्णकुमार राई र २०७४ मा जय राईले जितेका थिए । सबै एमाले उम्मेदवार हुन् । २०६४ को चुनाव मात्रै माओवादी केन्द्रका किरण राईले जिते ।
यसपटक एमालेबाट फुटेर बनेको एकीकृत समाजवादीले सुनसरी–१ (२) मा रेवतमरण राईलाई उम्मेदवार बनाएको छ, जसले केही समय अगाडि मात्रै एमाले त्यागेका थिए । स्थानीय नेताहरुका अनुसार, यो क्षेत्रमा एकीकृत समाजवादीको मत जसपाकै हाराहारी छ । यहाँ मनोजले नपाउने एमालेको मत पनि अशोकलाई जान्छ भनेर ढुक्क हुने अवस्था छैन । किनकी एमाले समर्थकले कम्युनिष्टलाई नै मत हाल्ने मन गरे उनीहरुको रोजाईमा मुकेश विकल्प हुनसक्छन् ।

