विराटनगर । समर्थक हुन् वा विपक्षी सबैले सम्बोधन गर्ने एकै शब्द थियो, गिरिजाबाबु । विराटनगरमा जन्मेर नेपाली लोकतान्त्रिक आन्दोलनको नेतृत्व गरेका उनै गिरिजाबाबु अर्थात गिरिजाप्रसाद कोइराला शान्तिप्रक्रियाका पनि अगुवा बने । उनै कोइरालाले चुनाव लड्ने क्षेत्र हो अहिलेको मोरङ २ ।

संयोग कस्तो छ भने यसपटक मोरङ २ मा गिरिजाबाबुकै छोरी सुजाता कोइराला सत्ता गठबन्धनबाट उम्मेद्वार बनेकी छन् । उनको प्रतिष्पर्धा एमाले मोरङ अध्यक्ष ऋषिकेश पोखरेलसित हुँदैछ ।
कोइराला परिवारको राजनीतिक साइनो जोडिएको क्षेत्रमा त्यही परिवारकी सदस्य चुनाव लडन अग्रसर बनेपछि मोरङ २ ले धेरैको चासो बटुलिरहेको छ ।

मुलुकभर वाम गठबन्धनको लहर चल्दा पनि २०७४ मा मिनेन्द्र रिजालले जितेको यो क्षेत्रमा यसपटक रिजालले टिकट नपाउँदा काँग्रेसभित्र ठूलो असन्तोष छ । सुजाताका लागि त्यही असन्तोष व्यवस्थापन सबैभन्दा चुनौतीपूर्ण देखिन्छ । त्यसबाहेक कोइराला परिवारको सदस्य भएर पनि सुजाता यसपटक कोइराला क्याम्पमा भने छैनन् । तसर्थ कोइराला परिवारको दबदबा भएको क्षेत्रमा सुजाताले शेखर कोइराला पक्षलाई साथ लिनुपर्ने चुनौती छ ।

अघिल्लो निर्वाचनमा माओवादीको साथ पाउँदा पनि पराजित भएका नेता हुन् एमालेका पोखरेल । यसपटक त उनलाई सत्ता गठबन्धनको चुनौती पहाड बनेर उपस्थित छ । यद्यपि एमालेको बलियो संगठनको बलमा चुनाव जित्ने अवस्थामा रहेको एमाले दाबी छ । तर, यो क्षेत्रमा काँग्रेस र एमालेबीचको चुनावी होडमा अन्य दलहरु निर्णायक बन्ने सम्भावना उच्च छ ।
यो क्षेत्रमा स्वतन्त्र तीनसहित १३ जना चुनावी मैदानमा छन् । हालको मोरङ २ नम्बर क्षेत्र तत्कालीन क्षेत्र नं १ हुँदा गिरिजाप्रसाद कोइरालाले २०४८, २०५१ र २०५६ को संसदीय निर्वाचन जितेका थिए ।

२०५६ मा मोरङ र सुनसरी ५ बाट विजयी भएका कोइरालाले मोरङ छाडेपछि उपनिर्वाचनमा उनका प्रतिनिधि आमोदप्रसाद उपाध्यायले पहिलो संविधानसभा निर्वाचनसम्म कोइरालाको विरासत थामेका थिए । दोस्रो संविधानसभा निर्वाचनमा एमालेका ऋषिकेश पोखरेलले उपाध्यायलाई तीन सय ५८ मतले पराजित गर्दै विजयी भएका थिए । २०७४ को निर्वाचनमा कांग्रेसका मीनेन्द्र रिजालले एमालेका पोखरेललाई नै पराजित गर्दै कांग्रेसको साख फर्काएका थिए ।
एक लाख २४ हजार सात सय २९ मतदाता रहेको यस क्षेत्रमा रतुवामाई, सुनवर्षी नगरपालिका र रंगेली नगरपालिकाको वडा १, २, ३, ८ र ९, पथरीशनिश्चरे नगरपालिकाको वडा नं ५ र ६ र कानेपोखरी गाउँपालिकाको वडा नं १, २ र ३ सहित २९ वटा वडा छन् ।

यो निर्वाचन क्षेत्रको प्रदेश १ मा ६१ हजार ५८ कूल मतदाता संख्या रहेकोमा महिला मतदाताको सङ्ख्या २९ हजार दुई सय ४३ रहेको छ । त्यस्तै प्रदेश २ तर्फ ६३ हजार छ सय ७१ कूल मतदाता सङ्ख्या रहेकोमा ३० हजार पाँच सय ६५ महिला मतदाता सङ्ख्या रहेको निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन क्षेत्र नं २ का निर्वाचन अधिकृत नगेन्द्र केसरी पोखरेलले जानकारी दिए । क्षेत्रभरि जम्मा ६८ मतदान केन्द्र रहने निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन क्षेत्र नं २ ले जनाएको छ ।

झापासँग सिमाना रहेको रतुवा, बीचमा बक्राहा, पश्चिममा चिसाङ र लोहन्द्रा खोलाले घेरिएको यो क्षेत्रका बासिन्दा हरेक वर्षायाममा नदी कटान र डुबानको मार खेप्न बाध्य छन् । खोलाको कटान र डुबान नियन्त्रण दुवै उम्मेदवारको साझा एजेन्डा बनेको छ ।

क्षेत्र नम्बर २ को प्रदेश १ मा प्रदेशसभा सदस्यमा तीन स्वतन्त्रसहित १२ जना चुनावी मैदानमा उम्मेदवारी परेको छ । तीमध्ये नेकपा (माओवादी केन्द्र) का गणेश उप्रेती र एमालेका दानबहादुर कार्कीलाई मुख्य प्रतिस्पर्धी ठानिएको छ । उप्रेती अघिल्लो निर्वाचनमा वाम गठबन्धनका उम्मेदवार हुँदा कांग्रेसका शिवकुमार गनगाईसँग पराजित भएका थिए ।
त्यसैगरी प्रदेश क्षेत्र २ मा दुई स्वतन्त्रसहित १० जना उम्मेदवार रहेका छन् । तीमध्ये एमालेका लीलाबल्लभ अधिकारी र कांग्रेसका विनोद कार्कीबीच मुख्य प्रतिस्पर्धा देखिएको छ । गत स्थानीय निर्वाचनको मतगणनाअनुसार यो क्षेत्रमा एमालेभन्दा सत्ता गठबन्धन चार हजार पाँच सय मतले अगाडि देखिन्छ । स्थानीय निर्वाचनमा एमालेका वडाध्यक्षका उम्मेदवारले ३१ हजार तीन सय ३० मत ल्याउँदा कांग्रेसले २८ हजार छ सय १७ र माओवादी केन्द्रले सात हजार दुई सय ७१ मत पाएका थिए ।