विराटनगर । २०७४ को निर्वाचन लड्न मोरङको क्षेत्र नम्बर ३ मा आउँदा एमाले नेता भानुभक्त ढकालले मतदाता सामु अनेकौं वाचा गरेका थिए । त्यहीमध्ये एक थियो, सुकुम्बासी समस्या समाधानको मुद्दा ।
त्यसबाहेक क्षेत्रको विकाससँग जोडिएका अन्य धेरै मुद्दाहरुमा पनि उनले दिएका आश्वासन मतदाता झल्झली सम्झिरहेका छन् । ‘हाम्रोमा त सधैं चुनावमा भोट माग्ने मेलो नै हामी भयौं’ कानेपोखरी–६ मुलगाउँका ६० वर्षीय पदमकुमार श्रेष्ठले भने ‘यहाँको सुकुम्बासी समस्या समाधान गर्छु भनेर चुनाव जितेर गएकाहरुले सधैं हाम्रो मुद्दामा खेलाँची गरे । ढकालले पनि त्यसै गरे। अहिले फेरि उही मुद्दा लिएर आइरहेका छन् ।’
ढकाल मात्रै होइन, कानेपोखरी गाउँपालिका वडा नम्बर ४, ५, ६ र ७ का चार हजारभन्दा बढी सुकुम्बासी मतदाताहरुलाई २०४८ यताका प्रत्येक चुनावमा हरेकजसो उम्मेद्वारले जग्गाको लालपूर्जा दिलाउने आश्वासन दिएर मत माग्दै आए । उनीहरुले पनि आफूले मन पराएको उम्मेद्वारलाई मत दिँदै गए। तर, यतिका समय बित्यो, सुकुम्बासीको हातमा लालपूर्जा परेन। पर्यो त उही आश्वासनको पोको मात्रै ।
‘एक जनाले मात्रै होइन, हरेक दल र नेताले हामीलाई हरेक चुनावमा उही आश्वासन दिँदै आए कसैले काम गरेन’, कानेपोखरी ६ कै युवा खगेन्द्र बराइलीले भने ‘दल र नेताहरुले चुनावअघि जे पनि गरिदिन्छु भन्ने अनि चुनावपछि ती काममा चासो नदिने गर्न कसरी सक्छन् ? गर्न नसक्दा किन सकिएन भनेर जवाफ दिनु उनीहरुको दायित्व होइन ?’
उनको जस्तै प्रश्न यहाँका धेरै मतदाताको मनमा छ । तर, ‘जवाफदेही’ हुन नचाहने दल र तिनका नेता अहिले पनि एकोहोरो आफ्ना कुरा सुनाउने र हिँड्ने गरिरहेकै छन्। जसलाई उनीहरु ‘जनतामाझ पुगेको’ भनेर अथ्र्याउने गर्छन् ।
सुकुम्बासी समस्याको मुद्दा प्रमुख एजेण्डा बन्ने यो क्षेत्रमा यसपटक एमाले नेता ढकाल र काँग्रेस नेता सुनिल शर्माबीच चुनावी रिम्याच छ । २०७४ का प्रतिष्पर्धी यी दुई नेतासँगै मैदानमा अभिनेत्री रेखा थापा पनि छन् । भव्य चुनावी कार्यक्रम, अघिपछि समर्थकको भीड देखाउने होडमा रहेका यी तीनै जना उम्मेद्वारको मुख्य मुद्दा यसपटक पनि सुकुम्बासी समस्या नै छ । यद्यपि सुकुम्बासी मतदाताहरु भने आफूहरुलाई फेरि एकपटक उही पुरानै चक्रमा पारिने निश्चित रहेको बुझाइमा छन् ।
२०७४ को निर्वाचनमा ‘पाहुना’ उम्मेद्वारको ट्याग लागेका एमाले नेता ढकालले अहिले यही क्षेत्रमै घर बनाइसकेका छन् । यसबीचमा उनले फेरिफेरि मन्त्रालय सम्हाल्ने अवसर पनि पाइसकेका छन् । तर, क्षेत्रका सुकुम्बासी समस्या जस्ताको तस्तै छ । गर्छु भनेका धेरै काम अलपत्रै छन् । यसपटक उही क्षेत्रमा दोहोर्याएर चुनाव लड्न आएका ढकाल यसपटक भने हरेक चुनावीसभामा ‘ओम्नी काण्ड’बारे गलत कुरा बाहिर आएको भन्दै प्रष्टिकरण दिँदै हिँड्न बाध्य छन् । सुकुम्बासी समस्या समाधानका लागि आफूहरुले आयोग बनाएको तर गठबन्धन सरकारले अपदस्त गरेर कामै गर्न नदिएको तर्क ढकालले अघि सार्दै आएका छन् ।
उनका मुख्य प्रतिष्पर्धी भनेर अनुमान गरिएका काँग्रेसका सुनिल शर्माले अघिल्लो चुनावमा वाम गठबन्धनका ढकाललाई कडा चुनौती दिएका थिए । नोवेल मेडिकल कलेजका सन्चालक शर्मा मेडिकल क्षेत्रका विवादास्पद व्यक्ति हुन् । मेडिकल शिक्षा पढ्ने विद्यार्थीहरुलाई सताएर बारम्बार चर्चामा आउने उनले चुनाव जित्नकै लागि अस्पतालको उपयोग पाँच वर्षदेखि लगातार गरिरहेका छन् ।
केही महिनायता मोरङ ३ का विरामीले नोवेलमा उपचार गर्दा एकै रुपैयाँ पनि पैसा तिर्नु नपर्ने प्रबन्ध शर्माले मिलाएका छन् । ‘मोरङ ३ बाट उपचारका लागि आएका विरामीले डिस्काउन्ट मागेनन् भने पनि ५० प्रतिशत छुट दिनु भन्ने निर्देशन छ’, नोवेल अस्पताल प्रशासनका एक कर्मचारीले भने ‘यदि छुट मागे भने शतप्रतिशत दिने भन्ने नीति छ ।’ ती कर्मचारीका अनुसार चुनाव अवधिसम्मका लागि ‘यो योजना’ जारी रहनेछ ।
२०७४ मा वाम गठबन्धन बन्दा समेत मात्र १ हजार ९०५ मतले पराजित भएका कांग्रेसका उमेदवार शर्माले बितेका ५ वर्षमा चुनाव लक्षित मिहेनत राम्रै गरेका छन् । विराटनगरमा मेडिकल कलेज चलाएर बसेका उनले उक्त क्षेत्रका बासिन्दाका लागि ‘उपचार अफर’ नै चलाएका छन् । गाउँपिच्छे स्वास्थ्य शिविर दोहो¥याइ, तेहे¥याइ गरिसके, आफ्ना क्षेत्रका स्थानीयलाई निःशुल्क उपचार गर्दै आइरहेका छन् ।
अघिल्लो निर्वाचनमा एक ढिक्का देखिएको कांग्रेसमा महाधिवेशन र स्थानीय तह निर्वाचनमा संस्थापन पक्ष र इतर पक्षबीचको असन्तुष्टिको तुष मेटिइसकेको छैन। ‘असन्तोष छैन होइन छ’, काँग्रेसका एक नेता भन्छन् ‘तर, चुनावमा हराउनै लाग्ने गरी कोही असन्तुष्ट छैन ।’
पार्टीको चौधौं महाधिवेशनपछि निरन्तर घेराबन्दीमा परेका शेखर कोइराला समूहमा रहेका उनलाई निर्वाचन क्षेत्रमा पनि संस्थापन पक्षको सहयोग जुटाउनु चुनौतीपूर्ण देखिन्छ । गठबन्धनको आकार, पछिल्लो स्थानीय चुनावको हिसाब र व्यक्तिगत प्रभावका कारणले यसपटक तुलनात्मक रूपमा सुनिल बढी सुरक्षित देखिन्छन् ।
एमालेका उमेदवार ढकालले अघिल्लो पटक जितेर मन्त्री बन्दा महत्वपूर्ण कानुन बनाउनै धेरै समय लागेको र अधुरा काम पूरा गर्ने योजना रहेको बताउँदै यस पटक पनि सहजै आफ्नो जित हुने दाबी गर्छन् ।
राप्रपाबाट रेखा थापाको उमेदवारीलाई पनि दुबै दलले महत्वका साथ हेरेका छन्। अघिल्ला चुनावमा जितेका सांसदले काम नगरेपछि आफू जन्मभूमि फर्किएर उमेदवार बनेको थापाले बताउँदै आएकी छन् । घरदैलो र जनतासँग भेटघाटलाई तिब्रता दिएकी थापा संगठन कमजोर भए पनि मतदाताको मन जितिरहेकी छन् । उनी जहाँ गए पनि उनको वरिपरि झुम्मिने सर्वसाधारणको संख्या ठूलो छ । नेपाली चलचित्र जगतमा ‘हिरोइज्म’ भएकी ‘हिरोइन’ उनको क्रेज मतमा कति रुपान्तरण होला ? उनको जीत या हारको निर्णय त्यसैमा निर्भर हुनेछ । तर, काँग्रेस र एमाले कार्यकर्ता भने रेखाको पक्षमा उल्लेख्य भोट नजाने अनुमानमा छन् ।
‘उनले कसको मत बढी काट्ने हुन् भन्ने चिन्ता दुवै पक्षलाई छ’, एमाले कार्यकर्ता अनिल पुरीले भने ‘राप्रपाको संगठित मत यहाँ छैन ।’ पार्टीको मत कम भए पनि रेखालाई व्यक्तिगत भोट आउने राप्रपाको आश छ ।
गणतन्त्र घोषणापछि २०६४ मा भएको पहिलो संविधानसभाको निर्वाचनमा यस क्षेत्रबाट नेकपा (माओवादी केन्द्र) बाट सावित्रीकुमार काफ्ले विजयी बनेका थिए । दोस्रो संविधानसभाको निर्वाचन, २०७० मा नेपाली कांग्रेसबाट दिलिपकुमार गच्छदार विजयी भएका थिए । २०७४ को निर्वाचनमा नेकपा (एमाले)बाट भानुभक्त ढकाल विजयी बनेका थिए । सुन्दरहरैँचा नगरपालिका, बेलबारी नगरपालिका, कानेपोखरी गाँउपालिका र पथरी–शनिश्चरे नगरपालिकाका चौविस वडा मिलेर बनेको यस निर्वाचन क्षेत्रमा १ लाख ३९ हजार आठ सय ३३ मतदाता छन् । २०७४ को निर्वाचनमा खसेको ९१ हजार ६ सय ६ मतमध्ये ढकालले ४२ हजार ४ सय १३ मत ल्याई विजयी बनेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी शर्माले ४० हजार ५ सय छ मत ल्याएका थिए ।
गएको वैशाख ३० मा भएको स्थानीय निर्वाचनमा वडाध्यक्षले ल्याएको मत सख्या हेर्दा सत्ता गठबन्धनको मत बढी देखिएको छ । एकल मतमा भने एमाले थोरै अगाडि छ । स्थानीय निर्वाचनमा खसेको कुल सदर मत ८९५६२ मत मध्ये एमालेको ३७ हजार ४१० र जनता समाजवादी पार्टीको ४६३ मत आएको थियो । जसपा एमाले गठबन्धनमा ३७ हजार ८७३ मत देखिएको छ । यस्तै कांग्रेसको ३६ हजार ९ सय १६, माओवादीको ७ हजार ३ सय ७३, एकीकृत समाजवादीको १ हजार ८ सय ५५ मत रहेको छ । सत्ता गठबन्धनको कूल मत ४६ हजार १४१ मत रहेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को २ हजार १२१ मत छ। यस्तै अन्य उम्मेदवारले ३४२४ मत पाएका छन् ।

