विराटनगर । सोमबार बिहानै एउटा अपत्यारिलो खबर फैलियो ‘पुरानो रिसइवीका कारण १४ वर्षे बालकको छुरा प्रहारबाट हत्या भयो ।’ १४ वर्षे बालकसँग त्यस्तो के प्रतिशोध हुनसक्थ्यो, जसका कारण उनको ज्यानै लिन परोस् !

जसै दिन ढल्दै गयो, अर्को अपत्यारिलो खबर आयो, ती १४ वर्षे बालकको हत्या लगभग उनकै उमेर समूहका बालकहरुले गरेका थिए । दमक १० आमबाडीका बालक दियुष श्रेष्ठ हत्या आरोपमा मोरङ प्रहरीले आठ जनालाई पक्राउ गरेको छ ।

सोमबार पाँच जना र मंगलबार तीन जना गरी घटनामा संलग्न भएको आरोपमा प्रहरीले आठ जनालाई पक्राउ गरेको हो । पक्राउ परेका सबै १८ वर्षमुनिका बालक छन् । छठ पर्व हेर्न गएको बेला उर्लाबारी नगरपालिका–७ मावा खोलानजिक दियुषको पेटमा आइतबार राति छुरा प्रहार गरेका थिए । उपचारको क्रममा सोमबार बिहान ४ः५० बजेतिर उनको मृत्यु भएको भएको थियो । पक्राउ परेका आठ जनालाई इलाका प्रहरी कार्यालय उर्लाबारीले मंगलबार ‘कर्तब्य ज्यान मुद्दामा’ म्याद थप गरी अनुसन्धान सुरू गरेको छ ।

विराटनगर–११ का १४ वर्षीय कुहिरा भन्ने विशाल सहनीसहित पाँचजनाको समूहले विराटनगर–१९ का राहुल भगतलाई पेट र छातीमा छुरा प्रहार गरेर गतवर्षको कात्तिक २ गते दशैंको बेला हत्या गरे । विशालको समूहले चाडपर्वको अवसर पारेर लागेको मेला घुम्ने क्रममा दुव्र्यवहार गरेको रिस फेर्न भगतको हत्या गरेका थिए । हत्यामा संलग्न पाँचै जना बालक थिए । प्रहरीले उनीहरूलाई तत्काल नियन्त्रणमा लिएको थियो । कलिला बालबालिकाहरू जघन्य अपराधका घटनामा कसरी संलग्न भइरहेका छन् भनेर देखाउने प्रतिनिधि घटना हुन् यी ।

पछिल्लो समय बालबालिकाहरू जघन्य प्रवृत्तिका अपराधमा संलग्न हुने क्रम बढिरहेको छ । बाल अवस्था एकदमै संवेदनशील अवस्था हो । यस्तो अवस्थामा उनीहरूलाई अभिभावकले बेलैमा निगरानी नगर्दा कुलतमा फसेर जघन्य अपराध गर्नसम्म पुग्छन् ।

पछिल्लो तीन वर्षमा प्रदेश १ मा जघन्य प्रकृतिका अपराधमा ३ सय ३८ जना बालवालिका संलग्न रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । ३ सय ३८ जना बालवालिकाहरू कर्तब्य ज्यान, ज्यान मार्ने उद्योग, जवरजस्ती करणी, जवरजस्ती करणी उद्योग, बाल यौन दुव्र्यवहार, अप्राकृतिक मैथुन जस्ता अपराधमा संलग्न देखिएको छ । १८ वर्ष मुनिकालाई कानूनले बालबालिका मानेको छ ।

आर्थिक वर्ष २०७६÷०७७ मा प्रदेश १ मा १ सय ६४ जना बालवालिका अपराधमा संलग्न भएको प्रदेश प्रहरीको अभिलेखमा देखिन्छ । यस्तै आर्थिक वर्ष २०७७÷०७८ मा ९८ जना बालवालिका विभिन्न अपराधको घटनामा प्रतिवादी भएको देखिएको छ । आर्थिक वर्ष २०७८÷०७९ मा ७६ जना बालवालिका अपराधमा संलग्न देखिएको १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नविनराज राईले जानकारी दिए ।

१४ जिल्ला रहेको प्रदेश १ मा आपराधिक घटनामा मोरङमा बालबालिकाको संलग्नता धेरै रहेको प्रहरीको अभिलेखले देखाएको छ । एक वर्षमा अन्य जिल्लाको तुलनामा अपराधमा मोरङमा बढी बालबालिकाको संलग्नता देखिएको हो । आर्थिक वर्ष २०७७÷०७८ मा प्रदेशभरि ९८ जना बालबालिका आपराधिक घटनामा संलग्न रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको तथ्यांकले देखाउँछ । जसमध्ये मोरङमा २५, झापा १४, उदयपुर १७, सुनसरीमा ८ जना बालक अपारधमा संलग्न रहेको अभिलेखमा देखिन्छ । यस्तै तेह्रथमुमा ४, भोजपुरमा २, संखुवासभामा २, ताप्लेजुङ ४, पाँचथर २, इलाममा ६, खोटाङ ८ सोलुखुम्बुमा ३ जना बालक अपराधमा संलग्न भएको देखिएको छ । ओखलढुंगामा भने बालबालिकाको संलग्नतामा कुनै पनि घटना भएका छैनन् ।

प्रदेश प्रहरीका एसपी राईले बालबालिकाको संलग्नतामा आपराधिक गतिविधि र घटना पहाडी जिल्लाका तुलनामा तराईमा धेरै भइरहेको जानकारी दिए । ‘पहाडी जिल्लाभन्दा तराईका जिल्लामा भएका आपराधिक घटनामा बालबालिकाको संलग्नता बढी छ,’ उनले भने, ‘तराईका जिल्लामा जनसंख्याको अधिक चाप, बाक्लो बस्ती, भारतसँगको खुला सिमाना आदि कारण हुन सक्छन् ।’

अभाव र समस्यामा गुज्रिएका बालबालिकाको पहिचान गर्दै आपराधिक गिरोहले कानून विपरीतका काममा बालबालिकाको प्रयोग गर्ने गरेको उनले बताए । ‘प्रहरीले पनि शङ्का नगर्ने भएकाले बालबालिकाको प्रयोग अपराधमा भइरहेको छ’ उनले भने, ‘गरिबी, अशिक्षा र अभावले बालबालिकालाई अपराधमा डोर्याएको पाइयो ।’

कमजोर पारिवारिक आर्थिक अवस्था, पारिवारिक बेवास्ता, शिक्षादीक्षा, अभिभावकको संरक्षण तथा मायाको अभावले बालबालिका अपराधमा लाग्ने गरेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख डिआइजी सुदिप गिरीले बताए । बालबालिकाहरूमा कानूनी ज्ञानको कमी हुने भएकाले के गर्न हुन्छ र के गर्न हुँदैन भनेर नबुझ्दा धेरै घटना भएको अनुसन्धानबाट खुलेको उनको भनाइ छ । सबै कुराले अपरिपक्व हुने हुँदा बालबालिका आफैले भन्दा पनि अपराधमा अरूले प्रयोग गर्ने गरेको बताउँछन् ।

‘आफूले के गर्दा कस्तो परिस्थिति उत्पन्न हुन्छ भन्ने कुरा छुट्याउन नसक्ने अवस्थामा अरूले उक्साएर प्रयोग गरिदिन्छन’ उनले भने, ‘कतिपय बालबालिका संलग्न रहेका घटना आकस्मिक रूपमा पनि भएको पाइएको छ ।’

अपराध गर्ने बालबालिकालाई विराटनगरस्थित बालसुधार गृहमा राखेर अनुसन्धान र कारबाही अघि बढाउने गरिन्छ । कारागार र प्रहरी हिरासतमा राख्न पाइँदैन । डिआईजी गिरीले अपराधमा बालबालिका संलग्नताको सवालमा पारिवारिक वातावरण, साथी–सङ्गत र उनीहरूमाथि गरिने व्यवहारले पनि असर गर्ने बताउँछन् । अपराधमा बालबालिकाको संलग्नतालाई न्यूनीकरण गर्दै शून्यमा झार्न प्रहरीले जनचेतनामूलक विशेष कार्यक्रम सञ्चालन गर्ने उनको भनाइ छ ।

वरिष्ठ मानसिक रोग विशेषज्ञ डा. रोशन पोखरेलले बालबालिकामा अचानक स्वभाव परिवर्तन भई रिसाउने, झोक्किने, इन्टरनेटमा बढी झुम्मिने र फिल्म हेर्ने बानी देखिए चिकित्सकको सम्पर्कमा पुग्नुपर्ने बताएका छन् । ‘शान्त स्वभावका बालबालिका कहिलेकाहीँ रिसाउनु स्वभाविक भए पनि पटक–पटक त्यस्तो हुन थाले चिकित्सकलाई देखाउनु पर्दछ,’ उनले भने, ‘एक्लै बस्न रुचाउने, ढोका थुनेर आफ्ना नानीहरू बस्छन् भने लागूऔषधका लतमा परेका हुन्छन् । मदिरा र चुरोटको लत लागेका बालवालिका ट्रयाकभन्दा बाहिर जान्छन् । विस्तारै त्यस्ता बालबालिका अपराधमा लाग्न सक्छन’, उनले भने । व्यवहारमा अचानक आएको परिवर्तन बुझ्नसके बढी परामर्श र थोरै औषधिबाट गलत बाटोमा जानबाट रोक्न सकिने डा. पोखरेलको सुझाव छ ।