काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले पाँच वर्ष भ्रष्ट्राचार र राष्ट्रघात गरेर सर्वाङ्ग भएकाहरूलाई सुनपानी छर्नका लागि निर्वाचन हुन लागेको बताएका छन ।

मंगलवार पार्टीको नवौं महाधिवेशनको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले निर्वाचनमा जितेर आउनेले अहिलेको भन्दा डरलाग्दो जनविरोधी र राष्ट्रविरोधी हर्कत गर्ने विश्वकर्माले बताए । उनले आफ्नो पार्टीले निर्वाचनलाई खारेज गर्ने नीति लिएको भन्दै भ्रष्टाचार गर्ने, तर लोकतन्त्रवादी हुँ भन्दै जनताकोमा मत माग्न जाने नेताहरूलाई गाउँ–गाउँबाट लखेट्ने बताए ।

प्रवक्ता विश्वकर्माले दलहरूले घोषणापत्रमा नेताहरूको सम्पत्ति छानबिन गर्ने कुरा राखेको उल्लेख गर्दै ‘दूधको साक्षी बिरालो’ भएको टिप्पणी गरे । सबैभन्दा बढी भ्रष्टले सम्पत्ति छानबिन गर्ने कुरा गर्नु जनतालाई मूर्ख बनाउनु भएको उनको भनाई छ ।