आगलागीमा घाइते भएका विराटनगरका एक युवाको मृत्यु

 विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका ४ स्थित नितेश पेट्रोल पम्पमा आगलागी भएर घाइते भएका विराटनगर ४ का ३४ वर्षीय गन्दी मण्डलको मृत्यु भएको छ ।

उपचारको क्रममा आइतबार राती काठमाडौँ स्थित कृतिपुर अस्पतालमा मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । कार्तिक ७ गते लक्ष्मीपूजाको दिन नितेश पेट्रोल पम्पमा विद्युत् सर्ट भएर आगलागी भएको थियो । पेट्रोल पम्पमा आगलागी हुँदा मण्डलसहित बुढीगंगा ३ का ५५ वर्षीय अशोक चौधरी पनि घाइते भएका थिए । उनीहरूको उपचार विराटनगरस्थित ग्रिन क्रस हस्पिटलमा भइरहेको थियो ।

मण्डलको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि थप उपचारको लागि काठमाडौँ लगिएको थियो । उपचारको क्रममा मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते चौधरीको उपचारपछि डिस्चार्ज भएको छ । उनीहरू दुवै जना पेट्रोल पम्पका कर्मचारी हुन् । पम्प भित्र आगलागी हुन थालेपछि उनीहरू निभाउन जाँदा घाइते भएका थिए ।

सोमबार, १४ कार्तिक, २०७९, दिउँसोको १२:३४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर