विराटनगर । दलभित्र युवा आकर्षण बढाउन समानुपातिक, समावेशी र युवा सहभागिताको कुरा गरेर नथाक्ने राजनीतिक दलहरू अन्ततः पुस्तान्तरणमा अनुदार हुँदा युवाहरु स्वतन्त्र रुपमै भए पनि चुनौती दिन तम्सिएका छन् ।

यसपटकको स्थानीय निर्वाचनपछि बढेको यो लहरले आम निर्वाचनमा पनि निरन्तरता पाएको छ ।
मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनावमा स्वतन्त्र रूपमा उम्मेदवारी दिएका युवाले दलबाट उम्मेदवार बनेका पाका नेतालाई धेरै ठाउँमा चुनौती दिइरहेका छन् ।

यसरी स्वतन्त्र रुपमा उम्मेद्वारी दिने युवामध्ये मोरङको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर ३ ‘२’ बाट उम्मेदवारी दिएका ऐश्यप्रसाद आचार्य ‘विपिन’ पनि एक हुन् । ५० वर्ष कटेका उम्मेदवारलाई २७ वर्षका आचार्यले टक्कर दिइरहेका छन् ।
राजनीतिक दलबाट टिकट लिएका नेताहरू दलबलसहित घरदैलोमा गइरहँदा आचार्यको चुनाव प्रचार शैली भने फरक छ । उनी एक्लै चुनाव प्रचारप्रसारमा खटिन्छन् । उनले दलबाट असन्तुष्ट बनेका नेताहरूलाई समेटिरहेका छन् । अरू दलका उम्मेदवारले कोणसभा गरिरहँदा आचार्य आफ्ना योजना सामाजिक सञ्जालबाट सार्वजनिक गरेर मतदातालाई आकर्षित गर्ने प्रयास गरिरहेका छन् ।

‘अँध्यारो राजनीतिमा उज्यालो छर्न’ आफ्नो उम्मेदवारी रहेको उनी बताउँछन् । विगत लामो समयदेखि विभिन्न संघसंस्थाको नेतृत्वमा रहेका आचार्यलाई युवाले पनि साथ दिइरहेका छन् । दल परित्याग गरेर आचार्यलाई युवाहरूले सहयोग गरिरहेका छन् । उनले ‘लालटिन’ चुनाव चिह्न पाएका छन् । उनी बेलबारी क्रिकेट क्लबका अध्यक्ष, बेलबारी जेसिजका पूर्व महासचिव, पूर्व वडा सदस्य समेत हुन् । अझ रोचक प्रसङ्ग त के छ भने निवर्तमान मेयर र निवर्तमान वडा सदस्यको चुनावी प्रतिस्पर्धा रोचक बनेको छ । नेकपा एमालेले प्रदेश सभामा उम्मेदवार बनाएका ज्ञानेन्द्र सुवेदी पूर्व मेयर हुन् भने आचार्य वडा सदस्य हुन् । उनीहरू एकै वडाका समेत हुन् । सुवेदी ६० वर्षभन्दा माथिका हुन् । सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका लक्ष्मी श्रेष्ठ चुनावी मैदानमा छन् ।

‘ठूला दलका नेताहरूका लागि टिकट पाउने पहिलो आधार भनेको लामो समयसम्म राजनीति गर्नु हो, वर्षौंसम्म राजनीति गर्दा समेत टिकट पाएका छैनन् । ठूला दलका अधिकांश उम्मेदवारहरूले टिकट पाउनका लागि ५० वर्ष काट्नुपर्ने हुन्छ,’ आचार्यले भने, ‘मैले त्यहीँ भएर निर्वाचनको मिति घोषणा नभई दल त्यागे ।’

उनले अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसबाट वडा सदस्यमा जितेका थिए । कांग्रेस विधि पद्धतिले नचलेको भन्दै उनले गत असारमा कांग्रेस परित्याग गरेका हुन् । ‘युवा क्रान्ति, परिवर्तन र अग्रगमनका सशक्त हतियार हुन् । अरूमा भन्दा २ गुणा बढी ऊर्जा, जोस र लगनशीलता युवामा पाउन सकिन्छ,’ उनले भने, ‘अब हामीले सम्मान गर्नुपर्ने हजुरबा समानका नेताले राजनीति नछोडेपछि युवाको प्रतिनिधित्व गर्दै स्वतन्त्र राजनीतिमा होमिएको हुँ । म पार्टीभित्र हुँदा विपक्षीका गलत कदमको विरोध मात्र होइन, स्वयं पार्टीभित्र पनि त्यस्ता प्रवृत्तिको भण्डाफोर गर्दै न्याय र सत्य स्थापित गर्ने गरेको थिए । अहिले स्वतन्त्र हुँदा आफ्ना योजना पनि सजिलै लागू गर्न सकिँदो रहेछ ।’

‘म यो गर्छु, उ गर्छु भनेर भोट माग्न सक्ने अवस्था म देख्दिनँ । जनताले अहिले व्यक्ति हेर्न थालेका छन् । जनता मंहगीको मारमा छन् । जनतालाई देशभित्र उत्पादनसँग जोड्नु हाम्रो पहिलो प्राथमिकता हो । उत्पादनसँग जोड्न सकियो भने हाम्रै देशमा धेरै चिज उत्पादन हुन्छ । विकास निर्माणका कामलाई योजनासहित अगाडि बढाए मात्रै हुन्छ । नत्र जनताले धेरै दुःख पाउँछन्,’ उनले भने ।