विराटनगर । नेकपा माओवादी केन्द्र प्रदेश १ ले आउँदो चुनावका लागि ‘प्रादेशिक प्रतिबद्धता पत्र’ आइतबार सार्वजनिक गरेको छ । माओवादी केन्द्रीय समितिले सोमबार मात्रै चुनावी घोषणापत्र सार्वजनिक गर्दैछ । त्यसअघि नै प्रदेश कमिटीले ‘प्रादेशिक प्राथमिकता समेटेर’ प्रतिबद्धता पत्र सार्वजनिक गरेको हो ।

प्रतिबद्धता पत्रमा संघीयता कार्यान्वयनदेखि शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक सुरक्षा, उद्योग व्यापार क्षेत्रमा आफूले गर्ने कामका सूचिहरु समेटेर माओवादीले प्रादेशिक चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेको हो । ९३ सदस्सीय प्रदेशसभाको प्रत्यक्षतर्फबाट ५६ जना चुनिन्छन् । यसपटक माओवादीले प्रत्यक्षतर्फ १९ क्षेत्रमा उम्मेद्वारी दिएको छ । वर्तमान सत्ता गठबन्धनको मुख्य घटक माओवादी केन्द्रले संघीयताको जननी नै आफू भएको दाबी गर्दै माओवादी नेतृत्वमा मात्रै संघीयता सबल हुने बताएको छ ।

‘उत्पादनमुखी विकास र समुन्नत समाज समाजवादको आधार , सुदृढ संघीयतासहित समृद्ध प्रदेशका लागि माओवादी सरकार’ भन्ने मुख्य नारासहित सार्वजनिक प्रतिबद्धता पत्रमा माओवादीले ‘हामीले व्यवस्था बदल्यौं, अब अवस्था बदल्नु छ ’ भन्ने अर्को नारा पनि समेटेको छ ।

संघीयताको कार्यान्वयनको मुद्दा आफ्नो प्रमुख प्राथमिकता भएको माओवादी प्रदेशले जनाएको छ । जसमा उसले प्रदेश राजधानीको लागि आवश्यक सम्पूर्ण भौतिक पूर्वाधारको निर्माण कार्य आगामी ५ वर्षभित्रमा सम्पन्न गर्ने, संविधान अनुसार प्रदेशमा हस्तान्तरण हुन बाँकी रहेका संघीय मन्त्रालय मातहतका निकाय र संवैधानिक अधिकार प्रदेश मातहत ल्याउने प्रतिबद्धता जनाएको छ ।

संघीयता कार्यान्वयन र प्रदेशलाई बलियो बनाउन आवश्यक संरचना, कानून र नीति निर्माण गरी कार्यान्वयन गर्ने , प्रदेश प्रहरी गठन गरी शान्ति सुरक्षाको सुदृढ व्यवस्थापन गर्ने प्रतिबद्धता पनि माओवादीको छ । भनिएको छ ‘स्थानीय तहसँगको सहकार्यमा पूर्वाधार निर्माण र संघीयता कार्यान्वयनको कामलाई अगाडि बढाउने र आम प्रदेशवासीको भावना र अपनत्व हुने पहिचान झल्कने गरी प्रदेशको नामकरण गरिनेछ ।’

प्रदेशको आर्थिक विकास र समृद्धिका लागि आवश्यक श्रोतको पहिचान एवं परिचालन गर्दै स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्न लगानीमैत्री वातावरण तयार गर्ने प्रतिबद्धता पनि माओवादीको छ । ‘बजारको आवश्यकता र माग अनुसार प्रदेशको विशिष्ट उत्पादनको कार्यक्रममा जोड दिइइनेछ’ प्रतिबद्धतापत्रमा उल्लेख छ ‘प्रदेशको रणनीतिक महत्वका र रुपान्तरणकारी आयोजना र कार्यक्रमलाई प्राथमिकता दिने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा बजारीकरण गर्न सकिने तुलनात्मक लाभका वस्तु तथा सेवाको पहिचान गरिनेछ ।’

प्रदेशका १४ वटै जिल्लालाई विषेश उत्पादन क्षेत्रमा वर्गीकरण गरेर कृषि उत्पादनलाई व्यवसायीकरण गर्ने, कृषि क्षेत्रको उत्पादन वृद्धि गरी आत्मनिर्भरता र निर्यातमा जोड दिने , प्रदेशमा उत्पादन हुने नगदेवाली, मौसमी वाली, फलफूललगायतको उत्पादन बृद्धि गर्न पकेट क्षेत्र, ब्लक र जोनको रुपमा विकास गर्ने माओवादीको योजना छ ।

कृषि, पशु अनुदानलाई व्यवस्थित प्रभावकारी र पारदर्शी बनाउँदै कृषि उद्योग व्यवसाय गर्न सस्तो व्याजदरमा सहज र सरल तरिकाले कर्जा उपलब्ध गराउने र उत्पादनको आधारमा अनुदान उपलब्ध गर्ने नीतिलाई कार्यान्वयन गर्ने प्रतिबद्धता पत्रमा उल्लेख छ । प्रतिबद्धता पत्रमा भनिएको छ ‘प्रदेशलाई चाहिने आवश्यक जनशक्तिको प्रक्षेपण गरी सोही अनुसारको जनशक्ति उत्पादन गर्न प्राविधिक शिक्षालय स्थापना गरिनेछ । सबै निर्वाचन क्षेत्रमा कम्तिमा एउटा सुविधायुक्त बहुप्राविधिक शिक्षालय स्थापना गरी प्राविधिक शिक्षा अध्ययन गर्ने र दक्ष जनशक्ति उत्पादन गरिनेछ ।’

माओवादीले प्रदेशका सबै स्थानीय तहमा प्राविधिक धारको विद्यालयसहितको नमुना विद्यालय बनाउने प्रतिबद्धता पनि उल्लेख गर्दै भनेको छ ‘सामुदायिक विद्यालयहरुलाई आवश्यक भवन तथा ल्याव र दरबन्दीसहित शैक्षिक पूर्वाधारसम्पन्न र शैक्षिक गुणस्तयुक्त बनाइनेछ । गुणस्तरीय प्रविधियुक्त शिक्षा सामुदायिक विद्यालयबाटै प्रदान गर्ने व्यवस्था मिलाइनेछ ।’

सबै जिल्ला अस्पतालहरुलाई न्युनतम् ५० शय्यामा विस्तार गर्दै विशेषज्ञ डाक्टरसहितको दरवन्दी र उपकरणको व्यवस्था गरी उच्चस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने जनाउँदै प्रतिबद्धता पत्रमा भनिएको छ ‘स्थानीय तहमा निर्माणाधीन ५ देखि १५ शय्याका अस्पताल निर्माण छिटोभन्दा छिटो सम्पन्न गरी आवश्यक उपकरण र डाक्टरसहितको दरबन्दी व्यवस्था गरी आधारभुत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराइनेछ ।’ गर्भवती महिलाहरुको लागि निःशुल्क स्वाास्थ्य परीक्षण र प्रसुतिको व्यवस्था, आङ खस्ने पाठेघरको समस्या तथा स्तन क्यान्सरको निःशुल्क उपचार गर्नेदेखि जेष्ठ नागरिकको लागि दन्त उपहार कार्यक्रम सञ्चालन गर्ने, हेमोफेलिया, थालेसेमिया र अटिजम, अब्स्ट्रेटिक फिस्टुलालगायतमा निःशुल्क उपचारको व्यवस्था मिलाउने पनि प्रतिबद्धता पत्रमा उल्लेख छ ।

पूर्वाधार क्षेत्रमा पनि माओवादीले महत्वाकांक्षी योजनाहरु समेटेको छ । प्रदेशको राजधानी विराटनगर केन्द्रीत बृहत चक्रपथ निर्माणको योजना अगाडि बढाउने , प्रदेशमा निर्माणधिन सडक, पुल, भवन जस्ता आयोजना समयमा नै सम्पन्न गराउने , प्रत्येक गाउँपालिकाको केन्द्रसम्म पुग्ने सडक, अन्तरस्थानीय तह जोड्ने सडक र मुख्य तथा महत्वपूर्ण पर्यटकीय केन्द्रलाई जोड्ने सडक कालोपत्रे गर्ने, सबै वडासम्म पुग्ने सडकको स्तरोन्नती गरी वर्षभरी सञ्चालन हुनसक्ने अवस्थाको बनाउने प्रतिबद्धतामा उल्लेख छ । तटबन्ध निर्माण र सहरी क्षेत्रको डुबान समस्या समाधानको लागि आवश्यक योजना सञ्चालन गर्ने पनि उसको वाचा छ ।

कृषियोग्य सबै जमिनमा सिंचाइको व्यवस्था गर्न नहर, कुलो सिँचाई, लिफ्टिङ सिँचाई, थोपा सिँचाई आदिको व्यवस्था गर्ने भन्दै प्रतिबद्धता पत्रमा भनिएको छ ‘सुख्खाग्रस्त क्षेत्रहरुमा लिफ्टिङ प्रबिधिमा आधारित सिँचाइको व्यवस्था गरी उत्पादन वृद्धिमा जोड दिइने छ ।’ तमोर र उपल्लो अरुण जलाशययुक्त आयोजना निर्माण कार्य अगाडि बढाउन आवश्यक पहल गर्ने , प्रदेश सरकारको लगानी र सहकारीमा मझौला विद्युत आयोजना सञ्चालनको काम अगाडि बढाउने तथा निर्माणाधीन खानेपानी आयोजनालाई तीव्र गतिमा सम्पन्न गरी सबै नागरीकलाई स्वच्छ खानेपानीको व्यवस्था गर्ने पनि प्रतिबद्धतामा उल्लेख छ ।

प्रदेशका महत्वपूर्ण पर्यटकीय क्षेत्रमा आवश्यक पूर्वाधार निर्माण गर्ने , स्थानीय तह र पर्यटन सम्बद्ध संस्थाहरुको सहकार्यमा पर्यटन प्रवद्र्धन गरी पर्यटन संस्कृतिको विकास गर्ने भन्दै प्रतिबद्धता पत्रमा प्रदेशमा पर्यटन विश्वविद्यालय स्थापना गर्ने वाचा पनि माओवादीले गरेको छ । एक घर, एक रोजगारी कार्यक्रममार्फत प्रदेशबासीलाई उत्पादनसँग जोडेर गरीवी निवारण गर्ने, अव्यवस्थित बसोवास र भुमिहिन सुकुम्बासीहरुलाई जग्गा उपलब्ध गराई धनिपुर्जाको व्यवस्था गर्ने , महिला, दलित तथा बालबालिकामाथि हुने सबैखाले हिंसा र विभेद अन्त्य गर्न कानूनी र नीतिगत प्रबन्ध गर्ने पनि प्रतिबद्धता पत्रमा उल्लेख छ ।
‘जसको नीति उसैको नेतृृत्व’ हुनुपर्ने भन्दै प्रतिबद्धता पत्रमा भनिएको छ ‘जसको एजेण्डा उसैको सरकार अनि जसको योजना उसैको कार्यक्रम भयो भने मात्र निर्दिष्ट लक्ष्य चुम्न सकिन्छ । त्यसैले आउँदो निर्वाचनमा गोलाकारभित्रको हँसिया हथौडामा मतदान गर्न हामी प्रदेशबासी नागरिकलाई अपिल गर्दछौं ।’