विराटनगर । भोजपुरमा माओवादी केन्द्रका उम्मेदवार सुदन किराती र एमालेका उम्मेदवार शेरधन राईबीच प्रतिस्पर्धी छन ।

प्रतिनिधिसभाका लागि माओवादी केन्द्रका उम्मेदवार सुदन नेपाली कांग्रेस, एकीकृत समाजवादीलगायत पाँच दलीय सत्ता गठबन्धनको साझा उम्मेदवार हुन् । एमालेका उम्मेदवार शेरधनलाई भने अन्य पार्टीले सहयोग गरेका छैनन् । भोजपुरको चुनावी प्रतिस्पर्धामा एमालेका शेरधनभन्दा माओवादी केन्द्रका सुदन अगाडि देखिन्छन् ।

स्थानीय तहको निर्वाचनमा पनि गठबन्धन्ननै अगाडी देखीन्छ । । स्थानीय चुनावमा भोजपुरका वडाध्यक्षहरूमा एमालेले कुल २७ हजार ६५६ मत पाएको थियो । उता सत्ता गठबन्धनले वडाध्यक्षहरूमा पाएको कुल मत ३८ हजार ५५६ पुग्छ ।

गठबन्धन एमालेभन्दा १० हजार ९ सय मतले अगाडि छ ।

एमालेका उम्मेदवार शेरधन मन्त्रीदेखि मुख्यमन्त्रीसम्म भइसकेका छन् । माओवादी केन्द्रका उम्मेदवार सुदन भने अहिलेसम्म मन्त्री भएका छैनन् । चुनावी मैदानमा सुदन र शेरधनको दुईपटक जम्काभेट भइसकेको छ । २०६४ को निर्वाचनमा सुदनले शेरधनलाई पराजित गरेका थिए भने २०७० मा शेरधनले सुदनलाई । २०७४ को निर्वाचनमा भने सुदन र शेरधन दुवै वाम गठबन्धनका उम्मेदवार थिए । त्यतिबेला सुदन प्रतिनिधिसभा र शेरधन प्रदेशसभाका उम्मेदवार थिए । २०७४ को निर्वाचनमा दुवै निर्वाचित भएका थिए ।