काठमाडौं । सत्तारुढ गठबन्धनले रुपन्देही क्षेत्र नम्बर २ मा राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवारलाई समर्थन गर्ने भएको छ । प्रतिनिधि सभातर्फ राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवार केशवबहादुर थापालाई समर्थन गर्ने सत्तारुढ गठबन्धनले निर्णय गरेको छ ।
गठबन्धनमा आवद्ध चार दलका शीर्ष नेताहरूले बुधवार विज्ञप्ति जारी गरेर थापालाई समर्थन गर्ने घोषणा गरेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले जारी गरेको विज्ञप्तिमा गठबन्धनको समर्थन थापालाई हुने उल्लेख गरिएको छ ।
उक्त क्षेत्रमा गठबन्धनको तर्फबाट नेकपा एककिृत समाजवादीका राजु गुरुङ उम्मेदवार बनेका थिए । बैंकको कालोसूचीमा रहेको भन्दै निर्वाचन आयोग उनको उम्मेदवारी खारेज गरेपछि गठबन्धन उम्मेदवारविहीन भएको थियो । गुरुङ आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालत गएका थिए । सर्वोच्चले आयोगको निर्णय सदर गरिदिएको थियो ।
उक्त क्षेत्रबाट नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल उम्मेदवार छन् ।

