सोलुखुम्बु । सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका–३ मा कूल एक सय ७१ मेगावाट क्षमताको दूधकोसी– ६ जलविद्युत् आयोजना निर्माण हुने भएको छ ।
निजी क्षेत्रको सगरमाथा हाइड्रोपावरले निर्माण गर्न लागेको सो आयोजना नदी प्रवाही प्रकृतिको हो । पछिल्ला दिनमा जलविद्युत् आयोजनाको ‘हब’ का रुपमा स्थापित हुँदै गएको जिल्लामा अन्य केही आयोजनासमेत निर्माणमा क्रममा छन् । केही आयोजना भने निर्माण सम्पन्न भई केन्द्रीय प्रणालीमा बिजुलीसमेत जोडिसकेका छन् ।
आयोजनाले सुख्खायाममा दुई सय ९५ र वर्षायाममा छ सय ८८ गिगावाट घण्टा गरी वार्षिक रुपमा कूल नौ सय ८४ गिगावाट घण्टा ऊर्जा उत्पादन गर्नेछ । दूधकोसी नदी किनारै किनार भएर आयोजना स्थलको पहुँचमार्ग निर्माण हुनेछ । मुख्य संरचना ‘डाइभर्सन वेयर’, ‘अन्डरस्लुइस’, ‘ग्राभेल ट्र्याप’, ‘सेटलिङ’, ‘बेसिन’, ‘हेडरेस पाइप’, ‘हेडरेस टनेल’, ‘सर्ज ट्याङ्क’ र ‘अडिट टनेल’ जस्ता संरचना निर्माण गर्ने लक्ष्य राखिएको छ ।
सोलुखुम्बुको पासाङल्हमु गाँउपालिका ३ मा निर्माण हुने सो आयोजनाको ‘नेट हेड’ तीन सय ६७ मिटर रहेको छ । आयोजनाको विद्युत् गृह भूमिगत रहनेछ । तीन वटा ‘फ्रान्सिस टर्बाइन’ रहने आयोजनाबाट उत्पादित बिजुली दुई सय २० केभी क्षमताको ६३ किलोमिटर लामो प्रसारणलाइनमार्फत् नेपाल विद्युत् प्राधिकरणको नयाँ खिम्ती सवस्टेशनमा जोडिनेछ ।

