विराटनगर । युवा सङ्घ नेपाल विराटनगरका अध्यक्ष किरण लामाले मिटर ब्याजमा दिएको पैसा नदिएको भन्दै औषधी व्यवसायीलाई बन्धक बनाएर निर्घात कुटपिट गरेका छन् ।
लामाले विराटनगरको हस्पिटल चौकमा रहेको यादव फार्मेसीका सञ्चालक नवल यादव र अभिषेक साहलाई शुक्रवार दिउँसो घरमा बन्धक बनाएर कुटपिट गरेका हुन् ।
लामा समूहका कुटपिटबाट घाइते भएका दुई मध्ये अभिषेक उम्किएर भागेका थिए । उनैले मोरङ प्रहरीलाई घटनाको बारेमा जानकारी दिएपछि प्रहरीले लामाको घर खानतलासी गर्दा बन्धक बनाइएका नवललाई फेला पारेर उद्धार गरेको थियो ।
प्रहरीले यादवको उद्धार गरे पनि शरीर बन्धक बनाउने युवा सङ्घका अध्यक्ष लामालाई भने पक्राउ गरेको छैन । राजनीतिक आबद्धताकै कारण मोरङ प्रहरीका प्रमुखले घटनालाई ढाकछोप गर्ने प्रयत्न गरिरहेको पीडित पक्षको आशङ्का छ ।
कुटपिटबाट फार्मेसी सञ्चालक नवल घाइते भएका छन् । यादवले लामासँग दुई महिना अगाडी व्यवसाय सञ्चालनको लागि पाँच लाख रुपैयाँ ऋण लिएका थिए । उनले पाँच लाख रुपैयाँ विभिन्न मितिमा पटक–पटक गरी १३ लाख रुपैयाँ लामालाई बुझाइसकेका छन् । ‘पाँच लाखको ऋण मैले विभिन्न मितिमा १३ लाख रुपैयाँ बुझाइसकेको छु,’ पीडित यादवले भने, ‘सल्लाह गर्नुपर्ने छ भन्दै घरमा बोलाए । म र साथी अभिषेक किरण लामाको घरमा गएका थियौँ । घरमा पुगेपछि कोठा थुनेर अझै पाँच लाख रुपैयाँ दिनुपर्छ भन्दै कुटपिट गर्न थाले । साथी अभिषेक भागेर प्रहरीलाई खबर गरेपछि आफू बाहिर निस्कन पाएको हो ।’
स्रोतका अनुसार युवा सङ्घका नेता लामाले एमाले नेता पर्शुराम बस्नेको पैसा मिटर ब्याजमा लगानी गर्ने गरेका छन् । लामाले यसअघि विराटनगरका एक जना पत्रकारलाई पनि कुटपिट गरी यातना दिएको घटना बाहिरिएको थियो ।
कुटपिट गर्ने लामालाई कारबाहीको माग राख्दी उनीहरूले शुक्रवार साँझ जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी दिएका छन् ।
मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले ठाडो उजुरी परेकोले घटनाको विषयमा अनुसन्धान सुरु गरिएको बताए । ‘साझातिर उजुरी आएको छ,’ डिएसपी श्रेष्ठले भने, ‘घटनाको विषयमा अनुसन्धान सुरु भएको छ ।’ थप विषय बुझेर प्रक्रिया अगाडी बढाउने उनले बताए ।

