विराटनगर । नवौँ राष्ट्रिय खेलकुदमा १ नं.प्रदेशले १० स्वर्णसहित ८३ पदक हासिल गर्दै पदक तालिकाको छैटौं भएको छ । पोखरामा बिहीबार सम्पन्न भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा १० स्वर्ण, २३ रजत र ५० कास्य पदक गरी जम्मा प्रदेश १ ले ८३ पदक ल्याएर छैटौं भएको हो ।
प्रदेश १ को सहभागिता सन्तोषजनक रहेको प्रदेश १ खेलकुद बिकास बोर्डले जनाएको छ । बोर्डका सदस्यसचिव हंशराज वाग्लेले विभिन्न आरोह अवरोहका बाबजुद नवौमा खेलाडीको प्रदर्शन र टोली पदक तालिकाको छैटो स्थानमा रहनु सन्तोषजनक रहेकोे बताए । सदस्य सचिव वाग्लेले पदक नतिजामा सन्तुष्ट हुने अवस्था नभएपनि समग्रमा खेलाडी र प्रशिक्षकको लगन र मेहनतबाट बोर्ड उत्साहित भएको बताए ।
तेक्वान्दोमा तीन स्वर्ण
तेक्वान्दो खेलमा प्रदेश १ बाट तीन वटा स्वर्ण पदक जितेको छ । मोरङका कुसुम राजबंसि, झापाका रोसन मगर, र भोजपुरका वीर बहादुर तामाङले स्वर्ण पदक जितेका हुन् ।
यस्तै रजक पदम जित्नेहरुमा ईन्दिरा थापा, सजिना तामाङ रहेका छन् । कास्य पदक ल्याउनेमा नितेश खवास, हिरादन राई, दिलन राई र सदिप तामाङ रहेको नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो मार्सल आटका केन्द्रीय उपाध्यक्ष तथा रेफ्री प्रमुख प्रविण कुमार कार्कीले जानकारी दिए ।
यसअघि, आठौं खेलकुदमा ९ स्वर्णसहित ८७ पदक जोडेर सातौं स्थानमा रहेको प्रदेश १ यसपटक १० स्वर्णसहित ८३ पदकसहित छैटौं स्थानमा उक्लिएको छ ।
पदक तालिकाको छैटोस्थानमा उक्लिएको प्रदेश १ ले सुदूरपश्चिम प्रदेश, एनआरएनए, मधेश प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशलाई पछाडि राखेको छ ।
पहिलोस्थानमा रहेको त्रिभुवन आर्मी क्लबले १७२ स्वर्ण, १०९ रजत र ८९ कास्यसहित कुल ३७० पदक जोडेर पहिलो स्थानमा छ ।
यससँगै नवौं राष्ट्रिय खेलकुदलाई बिदाई गर्दै २०८१ सालमा कर्णाली प्रदेशले १० औँ राष्ट्रिय खेलकुदलाई स्वागत गर्ने भएको छ ।