विराटनगर । सुनसरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा उम्मेद्वार बनेकी भगवती चौधरीले कार्यकर्तालाई उक्साउँदै छुरा हान्ने र गोली हान्न आफैं फिल्डमा उत्रने बताएकी छिन् ।

सोही निर्वाचन क्षेत्र अन्तर्गत सुनसरी इटहरीको १४ नम्बर वडामा आयोजित चुनावी भेटघाट कार्यक्रममा बिहीबार चौधरीले यस्तो अभिव्यक्ति दिएकी हुन् ।

उनले आफ्नो पक्षमा परिणाम नआए छुरी हान्ने बताएकी हुन् । ‘म भन्छु, मर्ता क्या नहि कर्ता । अन्तिम अवस्थामा त्यस्तो भयो भने, त्यस्तो चुनौति आयो भने म स्वयंम भन्छु भगवती चौधरी म उम्मेद्वार हुँ । यदि साँच्चिकै मानेन त्यहाँ धाँधली र गलत प्रक्रियाहरु, दुस्प्रयास भयो भने त्यसलाई तोड्नका लागि पहिलो फायरिङ मैले नै गर्छु । पहिले छुरा घोप्नु पर्यो कि त्यसलाई उ गर्नुपर्यो कि’, उनले भनिन्, ‘त्यसरी हाम्रा कार्यकर्ता पनि हरेक बुथमा । हरेक लाइनमा । हरेक गाउँमा कहाँ गडबढ हुँदैछ । त्यहाँ धारिलो छुरा जस्तो भएर हाम्रा कार्यकर्ता ओराल्छौं ।’

उनले परिणाममा तलमाथि भए आफैंले गोली ठोक्ने पनि बताएकी छिन् । ‘भोलीपर्सि त्यस्तो हुनसक्छ भने त्यसलाई गोली ठोक्नु पर्यो भने छुरी हान्न परे पनि भगवनी चौधरी तयार छु,’ उनले भनिन् ।

एमालेबाट उम्मेद्वार बनेकी चौधरीसँग सत्ता गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदार प्रतिस्पर्धामा छन् । गच्छदारले यसअघि पनि धाँधली गरेर निर्वाचन जितेको चौधरीको आरोप छ ।

२०७४ सालको निर्वाचनमा बाम गठबन्धनबाट उम्मेद्वार बनेकी चौधरीलाई गच्छदारले पराजित गरेका थिए । उनै गच्छदार अहिले तत्कालिन बाम गठबन्धनको घटक नेकपा (माओवादी केन्द्र), एमालेबाट विभाजन भएको पार्टी नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादीले समेत समर्थन गरेका छन् ।

चौधरीको यस्तो अभिव्यक्ति निर्वाचन आचारसंहिता विरुद्ध र अपराधिक सोचलाई प्रश्रय दिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । यादवले यस विषयमा निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गरेर आवश्यक निर्णय लिने जानकारी दिए ।

चौधरीले राखेको भनाइ जस्ताको तस्तै
युवा संघ, युथ फोर्स, महिला संघ, तपाई हाम्रो किसान संघ । तपाई सबै पार्टीको कार्यकर्ता हो । जसले हामीलाई नकारात्मक दृष्टिकोणले असुरक्षित प्रतिस्पर्धा, अस्वस्थ प्रतिस्पर्धा गर्न खोज्छ भने त्यसलाई निष्पक्ष ढंगले जानुस् हो भन्ने हाम्रो काम हो खबरदारी गराउने । यदि भएन भने म भन्छु, मर्ता क्या नहि कर्ता । अन्तिम अवस्थामा त्यस्तो भयो भने, त्यस्तो चुनौति आयो भने म स्वयंम भन्छु भगवती चौधरी म उम्मेद्वार हुँ । यदि साँच्चिकै मानेन त्यहाँ धाँधली र गलत प्रक्रियाहरु, दुस्प्रयास भयो भने त्यसलाई तोड्नका लागि पहिलो फायरिङ मैले नै गर्छु । पहिले छुरा घोप्नु पर्यो कि त्यसलाई उ गर्नुपर्यो कि त्यसरी चाहि हाम्रा कार्यकर्ता पनि हरेक बुथमा । हरेक लाइनमा । हरेक गाउँमा कहाँ गडबढ हुँदैछ । त्यहाँ धारिलो छुरा जस्तो भएर हाम्रा कार्यकर्ता ओराल्छौं । त्यो सँगसँगै म भन्न चाहन्छु मेरा प्रतिपक्षीलाई, जो मेरो दुस्परिणाम निकाल्न खोज्ने, अन्य षड्यन्त्र गर्न खोज्ने । जनताको अभिमतलाई सुरक्षित रुपले परिणाम निकाल्न नदिने त्यस्तो काम गरियो भने त्यसको जवाफ दिनको लागि हामी तयार छौं । त्यसलाई भोलीपर्सि हुनसक्छ भने त्यसलाई गोली ठोक्नु पर्यो भने छुरी हान्न परे पनि भगवनी चौधरी तयार छु ।

तस्बिर तथा भिजुयल प्रदेश पोर्टलबाट साभार