विराटनगर । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल इलामबाट संसदीय चुनावमा सातौंपटक प्रतिस्पर्धा गर्दैछन् । इलाम क्षेत्र १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका खनाल अहिलेसम्मका निर्वाचनमा एक पटकबाहेक सबैमा विजयी पनि भएका छन् । तर, आउँदो मंसिर ४ मा हुने निर्वाचन चाहिँ खनालका लागि अहिलेसम्मकै फरक अभ्यासको हुने देखिएको छ ।
यो निर्वाचनमा ‘हेभिवेट’ खनाललाई अहिलेसम्मका चुनावको निकटतम् प्रतिद्वन्द्वी (नेपाली कांग्रेस) समेतको साथ छ । तर, आफैंलाई छ पटकसम्म चुनाव जिताएर सांसद, पटक–पटक मन्त्री र प्रधानमन्त्री (देशको कार्यकारी प्रमुख) समेत बनाउने दल नेकपा (एमाले)सँग चाहिँ अहिले मुख्य प्रतिस्पर्धीका रूपमा छन् उनी । र, त्यही क्षेत्रका मतदाताले खनाललाई अब सूर्य चिह्नमा होइन, कलममा भोट हाल्नुपर्ने छ ।
इलामका गाउँ–गाउँ चहारेर भूमिगत राजनीति गर्दादेखि २०४६ सालको राजनीतिक परिवर्तनमा समेत खनाल इलामेको आशाको केन्द्र बनिरहे । र, कम्युनिस्ट योद्धाको ‘ब्रान्ड’ बन्दै ३३ वर्षकै उमेरमा पहिलोपटक उनले पार्टी (नेकपा माले)को सर्वाेच्च नेतृत्व हाँक्ने अवसर समेत पाए । ०४६ सालको परिवर्तनपछि २०४८ र २०५१ सालका संसदीय निर्वाचनमा खनाललाई नै विजयी गराएर इलामे मतदाताले आफ्नो ‘वास्ताविक प्रतिनिधि’ भएको पुष्टि समेत गरिदिए । ०५६ सालको निर्वाचनमा पराजित बनेपनि ०६४ र ०७० सालको संविधानसभा निर्वाचन तथा ०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा खनाल इलाम १ बाट पुनः विजयी बने ।
जन्मगाउँ साखेजुङ इलामको क्षेत्र नम्बर २ मा पर्ने भएपनि खनाललाई क्षेत्र नम्बर १ का मतदाताले सांसदका रूपमा पटक–पटक विजयी बनाएर सिंहदरबार (प्रतिनिधिसभा) छिराए । २०६७ माघ २० मा उनी देशको प्रधानमन्त्री समेत निर्वाचित भए ।
सैद्धान्तिक रूपमा आफ्नो दृष्टिकोण स्पष्ट राख्ने भएपनि आफूनिकट नेता–कार्यकर्ता ‘व्यवस्थापन’ गर्न नसकेको आरोप खेपिरहेका खनालका लागि यो निर्वाचन चुनौती र अवसर दुवैका रूपमा अगाडि छ । तर, उनलाई आफ्नो दल नेकपा (एस)को मात्रै मत जितका लागि पर्याप्त भने देखिँदैन । सत्ता गठबन्धनको भागवन्डामा खनाल निर्वाचनपछि देशको राष्ट्रपति बन्ने चर्चा इलामस्थित गठबन्धन दलका नेताबीच हुने गरेको छ । र, सत्ताको मुख्य साझेदार कांग्रेस खनाल राष्ट्रपति भए रिक्त हुने उनको निर्वाचन क्षेत्र (इलाम १) मा आफ्नो दलका उम्मेदवार उठाएर विजयी बनाउने ‘दाउ’ हेर्दैछ ।
उनको निर्वाचन क्षेत्रमा पर्ने मुख्य पालिका सूर्याेदय नगरपालिकामा गत वैशाख ३० को स्थानीय तह निर्वाचनमा नेकपा (एस)का उम्मेदवारले ल्याएको एकल मत हिसाब गर्दा ९ हजार हाराहारी देखिन्छ । तर, यो निर्वाचन क्षेत्रमा ५४ हजार २ सय ८८ मतदाता छन ्। यही क्षेत्रका अन्य पालिकामा उनकै दलको मत चाहिँ ‘थपथाप’मात्रै हुने देखिन्छ । जितका लागि कांग्रेस र नेकपा (माओवादी)को पनि सबैजसो मत उनलाई आवश्यक देखिन्छ।
कांग्रेस जिल्ला सभापति डम्बर खड्काले केही साताअघि पत्रकारहरूसँगको कुराकानीमा भनेका थिए, ‘अहिले गठबन्धनबाट खनाललाई जिताएर पठाउँदा भोलि त्यही क्षेत्रमा हुने उपनिर्वाचनबाट कांग्रेसका उम्मेदवार विजयी गराउने बाटो खुल्ने छ ।’
पछिल्लो प्रतिनिधिसभा सदस्य निर्वाचनमा यही क्षेत्रबाट खनाल नेकपा (माओवादी केन्द्र)सहितको साझा उम्मेदवारका रूपमा निकटतम् उम्मेदवारभन्दा १७ हजार २ सय ६७ मतान्तरले विजयी बनेका थिए । खनालले ३६ हजार ८ सय ५ मत ल्याएका थिए भने उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका भूपेन्द्र कट्टेलको १९ हजार ६ सय ३८ मत आएको थियो ।
सूर्याेदय नगरपालिका, माइजोगमाई, सन्दकपुर र रोङ गाउँपालिका, माई नगरपालिकाको वडा १, २, ३, ४, ५, ६ र १० तथा इलाम नगरको वडा १० उनको निर्वाचन क्षेत्रमा पर्छन् । खनालका लागि अहिले सबैभन्दा ‘मलिलो’ चाहिँ सूर्योदय नै मानिएको छ । वैशाख ३० को स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट नेकपा (एस)कै रणबहादुर राई सूर्याेदयको मेयर निर्वाचित भएका थिए ।
सत्ता गठबन्धनबाट खनाल क्षेत्र १ को उम्मेदवार बनेपछि गठबन्धनमै रहेको कांग्रेसका एक नेताले यही क्षेत्रमा बागी उम्मेदवारी दिएका छन् । कांग्रेस नेता विक्रम पाण्डेको उम्मेदवारीले क्षेत्र नम्बर १ को सत्ता गठबन्धनभित्र अहिले तरंग ल्याइरहेको छ । पाण्डे कांग्रेसको पकड भएको क्षेत्र बागबिरेका पुराना नेता हुन् । खनाल उम्मेदवार रहेको इलाम क्षेत्र १ मा नेकपा (एमाले) जिल्ला अध्यक्ष महेश बस्नेत उनका प्रतिस्पर्धी उम्मेदवारका रूपमा छन् ।
नेकपा (एस)का जिल्ला अध्यक्ष भक्त केसी खनाल नै पुनः यो क्षेत्रमा विजयी हुने दाबी गर्छन् । खनालमा देशप्रेमी भावना भएको र कुनै पनि बहानामा देशलाई घात गर्ने योजनाविरुद्ध खनालको धारणा सधैं स्पष्ट रहेको केसी बताउँछन् ।
‘एमसिसी (मिलेनियम च्यालेन्ज कर्पाेरेसन), नागरिकता विधेयकलगायत विषयमा खनालको धारणा देशको हितमै रहेको सबैलाई थाहा छ,’ केसी भन्छन्, ‘अहिलेकै संविधानमार्फत् देशमा शान्ति, समृद्धि हुँदै वैज्ञानिक समाजवादतर्फ जानुुपर्छ भन्ने धारणाले उहाँप्रति जनताको विश्वास अझ बढेको छ ।’
त्यतिमात्र नभइ खनालकै पहलमा इलाममा ठूलो बजेटका परियोजनासमेत आएको, साखेजुङमा खनालले आफैं ५५ रोपनी जमिन दिएर प्राविधिक शिक्षालय खुलेको, उनकै प्रयासमा इलाम विमानस्थल निर्माण भएको पनि केसीले दाबी गरे । ३१ घर परिवारलाई मुआब्जा दिएर स्थानीयस्तरबाट करिब ४ करोड रुपैयाँसहित २८ करोड रुपैयाँहाराहारी खर्च भएको फाल्गुनन्द सुकिलुम्बा विमानस्थल तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले २०६७ चैत १३ मा शिलान्यास गरेका थिए । करिब १२ वर्षमा निर्माण पूरा भएको विमानस्थलको उद्घाटन पनि खनालले गत चैत १ मा गरेका थिए ।
इलाम क्षेत्र १ बाट जनता समाजवादीका कमलकुमार राई, नेपाली कांग्रेस (बिपी)का गणेशप्रसाद पौडेल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका जितकुमार मुखिया, राष्ट्रिय प्रजातन्त्र पार्टीका तोयानाथ शर्मा सापकोटा, मंगोल नेसनल अर्गनाइजेसनका बुद्धलाल मेचे, राष्ट्रिय जनमुक्ति पार्टीका पदमबहादुर लिम्बू तथा स्वतन्त्र उम्मेदवारद्वय निमातेञ्जिङ शेर्पा र नेत्रप्रसाद रेग्मीको पनि उम्मेदवारी छ ।