विराटनगर । मोरङको ग्रामथान गाउँपालिका – ७ नयाँबस्तीका ४५ वर्षीय तेतरलाल चौधरीलाई बारीमा तरकारी फलाएर नजिकैको बजारमा बिक्री गर्न पाए हुन्थ्यो भन्ने लागिरहन्छ । तर, इच्छा भएर मात्रै कहाँ हुन्छ र ! भरपर्दो सिंचाई सुविधा अभाव उनको इच्छाको बाधक बनिरहेको छ ।

त्यसैले उनीहरु गाउँमा सिंचाई सुविधा ल्याइदिने जनप्रतिनिधि चाहिरहेका छन् । ‘गाउँमा सिंचाइको भरपर्दो व्यवस्था गरिदिने मान्छेलाई भोट दिन पाए हुन्थ्यो’ सुनसरी मोरङ सिंचाइ आयोजनाको नहरबाट सय मिटर दक्षिणमा रहेको नयाँबस्तीका अधिकांशको भनाइ यही छ । यहाँ ३७ घरपरिवार बस्छन् । उनीहरूले अर्काको घरमा बनिबुतो गरेर गुजारा चलाउँदै आएका छन् ।

बस्तीसम्म आफै सिंचाइ पु¥याउनसक्ने सामथ्र्य स्थानीयसँग छैन । त्यसैले उनीेहरू खेतबारीसम्म पानी ल्याइदिने र शुद्ध पिउने पानी उपलब्ध गराउन आफ्ना जनप्रतिनिधिले पहल गरिदिउन् भन्ने चाहन्छन् । नयाँ बस्तीकी ४५ वर्षीया प्रमिला चौधरीले पनि विकास गर्नेलाई नै जिताउने बताइन् । उनले बस्तीसम्म विकासका पूर्वाधार ल्याइदिनेलाई भोट हाल्ने बताइन् ।
‘खानेपानी, सिँचाइ, सडकलगायतका धेरै समस्या छन्, चुनाव जित्नेले यी काम गरिदिए हुन्थ्यो जस्तो लाग्छ’, उनले भनिन् । सिंचाई र खानेपानी मात्रै होइन, नागरिकको समस्या बहुआयामिक छ ।

सुनसरी मोरङ सिंचाइ आयोजनाको नहरको डिलमा बसेका ग्रामथानका ३६ जना सुकुमबासीको भने व्यवस्थापन भएको छ । मोरङ क्षेत्र नम्बर ४ बाट निवर्तमान सांसद अमनलाल मोदीको पहलमा उनीहरुले घर पाएका छन् । जनता आवास र स्थानीय पूर्वाधार विकास कार्यक्रम अन्तर्गत सुकुम्बासीहरूको चार कोठाको पक्की घर बनेको हो ।

कृषिमा आबद्ध बेलबारी नगरपालिका ७ का काफ्ले टोलका ५० वर्षे कृष्णबहादुर ढकालले चुनावले केही आशा थपेको बताए । संसद मोदीको पहलमा यसअघि बेलबारी ७ काफ्ले टोलमा बिजुली र ट्रान्समिटर आएको उनले सुनाए । काफ्ले टोलमा ६० भन्दा बढी घरपरिवार छन् । चुनावपछि गठबन्धनको सरकार बन्ने देखिएकाले गाउँको विकासको लागि गठबन्धनलाई नै मत दिने सोचमा रहेको उनको भनाइ छ ।

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सत्ता गठबन्धनबाट माओवादीका मोदी पुनः उम्मेदवार छन् । नेकपा एमालेबाट विनोद ढकाल छन् । मोरङ क्षेत्र नं. ४ को प्रतिनिधिसभामा उनीहरूबीच चुनावी प्रतिस्पर्धा हुने देखिएको छ ।
अघिल्लो पटक कांग्रेस नेता महेश आचार्यलाई पराजित गरेका माओवादी नेता अमनलाल मोदीले एमालेका उम्मेदवार विनोद ढकाललाई पराजित गर्ने रणनीतिका साथ चुनावी मैदानमा उत्रिएका छन् । आफूले ५ वर्षको अवधिमा गरेको काम नै जितको आधार भएको उनको दाबी छ ।

‘मैले ५ वर्षमा काम गर्दा जनताको जीवनलाई छोएको छु । समाजमा भिजेको छु । समाजमा रहेका विविधतासँग गाँसिएको छु । विकास, पूर्वाधार निर्माणको सवालमा मैले जसरी काम गरेको छु’ उनले भने ‘ शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षाको सम्बन्धमा मैले काम गरेको छु । खेलकुददेखि महिला स्वावलम्बनका योजना बनाउनेलगायतका काम गरेको छु, जसको कारण व्यक्ति–व्यक्ति र घर–घरले मलाई चिन्छन् ।’ गाउँकै धुलो, माटोमा जन्मिएर हुर्केबढेको बासिन्दा भएकोले चुनाव जित्नेमा शतप्रतिशत विश्वस्त रहेको उनले बताए ।

मोदीका प्रतिष्पर्धी एमाले केन्द्रीय सदस्य विनोद ढकालले पनि यो पटक आफ्नो जित सुनिश्चित रहेको दाबी गर्छन् । यो पटकको निर्वाचनमा एमालेलाई खासै चुनौती नभएको उनको भनाइ छ ।

‘एमालेको पार्टी संगठन, स्थानीय तहको मत परिमाणको आधार र जनताको सुखदुःखमा साथ दिएको कारण सहजै चुनाब जित्छु’ उनले भने, ‘मोरङ क्षेत्र नं. ४ कृषिमा आधारित छ । त्यहीले कृषकको जीवनस्तर उठाउन मेरोज जीत निश्चित छ ।’ यो पटक एमालेको खासै चुनौती महसुस नगरेको र जित्ने आधार बलियो रहेको उनको दाबी छ ।

यस्तो छ, अंकगणित

मोरङ ४ मा ग्रामथान र कटहरी गाउँपालिकाको सबै वडासहित विराटनगरका १, २, ३, ८, १०, १९ तथा बेलबारीका ५, ६ र ७ वडा पर्दछन् । क्षेत्र नम्बर ४ मा १ लाख १० हजार ९३ जना मतदाता छन् ।

क्षेत्र नम्बर ४ मा रहेका स्थानीय तह निर्वाचनमा वडाध्यक्षहरुले पाएको मत अनुसार गठबन्धन अगाडि छ । क्षेत्रमा गठबन्धनको मत ३३ हजार १३९ छ भने एमाले–जसपा गठबन्धनको मत २८ हजार ८४२ छ । निर्वाचनमा एमालेले २५ हजार ७३०, कांग्रेसले २१ हजार ८९४, माओवादीले ९ हजार ९९०, राप्रपाले ४ हजार ६७४, जसपाले ३ हजार ११२ र एकीकृत समाजवादीले १ हजार २५५ मत ल्याएका थिए ।