गोकुल पराजुली
आम चुनावको माहोल गाउँ, टोल, चोक र चौतारोमा पुगिसकेको छ । अबको ३० दिनपछि चुनाव हुँदैछ । त्यो चुनावबाट पाच वर्षका लागि प्रतिनिधि छानेर पठाउँनु पर्ने दायित्व छ । चुनावमा उम्मेदवार बनेकाहरु गाउँटोल पस्न थालेका छन् । पाँच वर्षपछि नमस्कार खाने अवसर सर्वसाधारणले पाएका छन् । गुनासो सुनाउने अवसर पाएका छन् । एउटा पक्षले गाली गर्ने अवसर पाएको छ भने अर्को पक्षले एक महिनाका लागि गाली पचाउने क्षमता बनाएरै गाउँ पसेको छ ।
चुनावमा नेतालाई जसरी पनि भोट लिनुछ । भोट लिनका लागि जे भन्दा वा गर्दा हुन्छ नेताहरु त्यो गर्न तयार छन् । बोलेर, हिडेंर, ढोगेर, लम्पसार परेर पनि भोट लिन उम्मेदवारहरु तत्पर छन् । त्यतिले मात्र भोट जितिन्छ भन्ने विश्वास हुने कुरा भएन । त्यसपछि फकाएर, मनाएर, खुवाएर, थर्काएर नभए किनेर पनि भोट लिने प्रयत्न उम्मेदवारहरुले गरिरहेका हुन्छन् । अहिले सामाजिक सञ्जालमा अनेकथरी फण्डा देख्न पाइन्छ । नाचेरै जीवन बिताएको मान्छे सिटीरिक्सा चलाउँदै हिडेका छन् । जनताको छेउमा मुन्टो बटारेर हिड्नेहरु खुट्टा ढोग्दै गरेका छन् । कोही कोदालो बोक्दै खेतमा पुगेका छन्, कोही धान काटेर फण्डा गरिरहेका छन् ।
चुनावमा उम्मेदवार कमजोर हुन्छ । रिस उठेपनि रिसाउन नमिल्ने, बोल्दा जिब्रो सम्हाल्न पर्ने, मनमा लागेको बोल्न नहुने, जो कोहीसँग हिड्न नमिल्ने, पछाडिबाट नमस्कार गरेपछि जानेर फर्काउन पर्ने, नचिनेपनि हास्नु पर्ने अनेकौं दुःख हुन्छ उम्मेदवारलाई ।
एकातिर यस्तो दुःख अर्कोतिर पाँच वर्ष निष्कृय भएका संस्थाहरु जुरुक जुरुक जागेर अर्को हैरान । मन्दिर समिति, सामुदायिक भवन समिति, युवा क्लव, भजन मण्डली, किर्तन समूह, सांस्कृतिक समूह, आमा समूह, जातैपिच्छेका उत्थान समिति आदि इत्यादिले उम्मेदवारबाट गर्ने आशा परिपूर्ति गर्ने, आश्वासन दिने, सकेपनि नसकेपनि हुन्छ भन्ने, गर्छु भन्ने ढाँटढुटे काम पनि गर्नै पर्ने अर्को दुःख छ उम्मेदवारको ।
टोलैपिच्छेका अनेकौं नामधारी समूह, कसैलाई बाजा चाहिएको हुन्छ, कसैलाई त्रिपाल आवश्यक पर्छ, कोही भाँडाकुँडा खोज्छन्, कसैलाई घर अगाडि आजै एक दुई टिपर गिटी खसाल्दिनु भन्छन्, कोही नगदै अपेक्षा गर्छन् । मुखले सबैले विकासको कुरा गर्छन् । हिजो जित्नेले केही गरेन भन्छन् । घर अगाडिको धूलेबाट पिच बनेको छ तर अगाडिकोले केही गरेन किनभने त्यो पिच बन्ने चरणसम्म उसको सहभागिता भएन होला, उपभोक्ता समितिमा बस्न पाएन होला त्यसकारण केही भएन । अब पहिलेको जस्तो आश्वासनमा विश्वास गर्नुछैन उसलाई । जेसुकैको नाममा किन नहोस् हाताहाति चाहियो । मैले देशका लागि गर्ने काम मेरो तर्फबाट उसले गर्छ भनेर मतदान मार्फत अधिकृत वारेशनामा गरिदिएको हो भन्ने अनुभूति मतदान गर्नेले गरेकै छैनन् ।
यतिले मात्र चुनाव चल्दैन अचेल । पल्लो गाउँमा केटा बटारिए रे भन्ने तनाव । बल्लतल्ल मिलायो अर्को गाउँमा बटारिन्छ । एउटा जुइनु बाट्यो अर्को खुस्किन्छ । मिलाउँदा मिलाउँदै हैरान हुन्छन् उम्मेदवार ।
समूहमा बसेर छलफल ग¥यो जितेपछि आकास झारिदिनु पर्छ झैं प्रस्ताव गर्छन् । कुन पदमा उम्मेदवार बनेको हो र उसले गर्नसक्ने कामको सीमा के हो कसैलाई मतलब छैन । उम्मेदवारहरु पनि थेत्तरो भइसकेका छन् । सँधैको चुनावमा यस्तै कुरा गर्ने न हुन् भनेर हुन्छ र गर्छु भन्न छोड्दैनन् । सक्दिन भन्यो भने भोट उडिहाल्छ ।
चिया पसल, चौतारोतिर बस्दा चुनावमा कसलाई जिताउने भन्ने चर्चा चल्छ । किन जिताउने भनेर उनीहरुको एजेण्डमा कसैले चर्चा चलाउँदैन । बरु यो किनाउनु पर्छ, त्यो गराउनु पर्छ भन्ने छलफल हुन्छ । चुनावको बेला विभिन्न समूहको नाममा मतदाता आफू बिक्रीका लागि शो–केसमा बसेपछि भोट चाहिएका उम्मेदवारले आफू जित्नका लागि जे पनि गर्ने नै भए । मतदाता किनेर जितेको उम्मेदवारले भोलि मतदाताको हित सोचेन भनेपनि बोल्ने बाटो बन्द हुँदैन । त्यसैले यो चुनावमा आफूले आफैंलाई बिक्रीमा नराखौं । किनेर चुनाव जित्ने सोच पनि नराखौं ।