विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईले विश्वविद्यालयहरुले विदेशमा बिक्री गर्नका लागि हैन स्वदेशमै बसेर उत्पादनमूलक सेवा प्रदान गर्ने गुणस्तरीय शैक्षिक जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिएका छन् ।

बुधबार मनमोहन प्राविधिक विश्वविद्यालयको दोस्रो सिनेट सभालाई सम्बोधनगर्दै मुख्यमन्त्री राईले स्वदेशमै योगदान गर्न रुचाउने दक्ष जनशक्ति उत्पादन गर्न सकेमात्र देशमा विकास तीव्र रुपले हुनेमाजोड दिएका हुन् ।

प्रदेश १ सरकारले स्थापना गरेको देशकै पहिलो प्राविधिक विश्वविद्यालयका कुलपति मुख्यमन्त्री राईले उत्पादन भएका विद्यार्थीहरु सेवा दिन विदेशजाने प्रवृत्तिले देशले झन् धेरै घाटा बेहोर्नु परिरहेको बताए । मुख्यमन्त्री राईले भने, ‘हामी अहिले विश्व बाजारमा जनशक्ति बिक्री गर्न सक्ने अवस्थामा छैनांै बरु हामीलाई नै धेरै भन्दा धेरै उत्पादनका लागि दक्ष जनशक्तिको खाँचो भएकोले स्वदेशमै योगदान दिनेखालको शैक्षिक कार्यक्रमहरु बनाउनुपर्छ ।’

मुख्यमन्त्री राईले प्रदेश १ मा स्थापना भएको देशकै पहिलो प्राविधिक विश्वविद्यालय प्रदेशको मात्र नभएर देशकै गौरवको विश्वविद्यालय भएको बताए । उनले हिमाल, पहाड र तराईलाई सुहाउँदो बिषयवस्तु चयन गरेर समय सान्र्दभिक कोर्ष तयार गरी शैक्षिक कार्यक्रम सञ्चालन गर्नु पर्नेमा जोड दिए ।

उनले प्रदेश सरकारले चाहेर पनि दक्ष जनशक्ति उत्पादन गर्न विद्यार्थीहरुलाई निःशुल्क पढाउन नसकेको तर, महत्वपूर्ण कोर्षका लागि न्यूनतम शुल्कमात्र कायम गराएर पठनपाठन सुरु गराएको बताए ।

विश्विद्यालयका उपकुलपति तथा प्रदेश १ सरकारका समाजिक विकासमन्त्री राजन राईले विद्यार्थीकालदेखि नै आफूहरुले देशमा प्राविधिक शिक्षाको मुद्दा उठाउँदै आएको र त्यो प्रदेश सरकारले प्राविधिक विश्वविद्यालय स्थापना गरेर पूरा गर्न आरम्भ गरेको बताए । मनमोहन अधिकारी जस्तै इमान्दार बनेर गुणस्तरीय प्राविधिक जनशक्ति उत्पादन गर्न विश्वविद्यालयका सभासद, पदाधिकारी र कर्मचारीहरु सबै लागिपर्नु पर्नेमा जोड दिए । मन्त्री राईले अन्दोलनले मात्र गुणस्तरीय शिक्षाको समस्या समाधान नहुने भएकोले मागहरु पूरा गराउन कर्मचारी र शिक्षकहरुले अराजक बन्न नहुने बताए ।

विश्विद्यालयका उपकुलपति डा. सुभाषश्री पोखरेलले पोलिटेक्निकबाट सुरु भएर प्राविधिक विश्वविद्यालयमा रुपान्तरण भैसकेको मनमोहनले स्नातक तहमा इन्जिनियरिङ विषयमा पठनपाठन सुरु गरेर दोस्रो वर्षका लागि भर्ना थालिसकेको र आगामी वर्षदेखि हेल्थपोलेसी र म्यानेजमेन्टतर्फ स्नातकोत्तर तहको कक्षा सञ्चालन गर्ने तयारी गरेको जानकारी दिए ।

शिक्षक कर्मचारीहरुको विरोध

मनमोहन प्राविधिक विश्वविद्यालयको दोस्रो सभासद बैठक सञ्चालन स्थलबाहिर शिक्षक कर्मचारीहरुले भने विरोध प्रर्दशन गरेका थिए । सभा आयोजना भएको इटहरी स्थित त्रियुगा होटल अगाडि सडकमा आंगिक क्याम्पस मनमोहन पोलिटेक्निकका शिक्षक कर्मचारीहरुले आप्mना मागहरु पूरा गराउन धर्ना दिएका थिए । उनीहरुले सभामा सहभागी हुन आएका सभासदहरुलाई आप्mना मागहरु पूरा गराउन मागपत्र दिँदै आग्रह गरेका थिए ।

आंगिक क्याम्पसका रुपमा रहेको मनमोहनका सबै शिक्षक र कर्मचारीहरुलाई ग्रेड बढुवा गरेर स्थायी गर्नुपर्ने माग उनीहरुले अगाडि सारेका थिए । मोरङको बुढीगंगा गाउँपालिका ४ हात्तीमुढामा रहेको मनमोहन पोलिटेक्निकलाई प्रदेश १ सकारले प्रदेशसभाबाट स्वायत्त कानुन निर्माण गरेर १६ असोज २०७६ मा राजपत्रमा सूचना प्रकाशित गरी देशकै पहिलो प्राविधिक विश्वविद्यालयमा रुपान्तरण गराएका थिए ।