विराटनगर ।नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदार र एमालेकी नेता भगवती चौधरीको तेस्रोपटकको चुनावी भीडन्तले सुनसरी ३ को प्रतिष्पर्धालाई चाखलाग्दो बनाएको छ ।

यी दुईबीच यसअघि दुईटा निर्वाचनमा प्रतिष्पर्धा भइसकेको छ । ती दुवै निर्वाचनमा गच्छदारले विजय हासिल गर्दा भगवतीले उनलाई कडा टक्कर दिएकी थिइन् । गच्छदार सातौं जीतको खोजीमा हुँदा चौधरी पहिलो जीतको पर्खाइमा हुनेछिन् ।
गच्छदार अहिले पनि अदालतमा भ्रष्टाचार मुद्दाले घेरिएका छन् । बालुवाटारको ललिता निवास प्रकरणमा उनीविरुद्धको मुद्दा अदालतमा विचाराधीन अवस्थामा छ ।
सधैंजसो विवादकै बीचमा उनले चुनाव लड्दै आए । जतिसुकै विवादले घेरिए पनि सुनसरीका मतदाताले भने उनलाई सधैं अनुमोदन गर्दै आएका छन् ।

दलीय रुपमा बरु उनी अस्थिर रहे । मतदाताले भने उनलाई रोज्ने मामिलामा आफूलाई सधैं स्थिर नै राखे । आफूले लामो समय व्यतित गरेको काँग्रेस छोडेर उनी मधेशी जनाधिकार फोरममा गए, त्यसपछि फोरम लोकतान्त्रिक बनाए । फेरि काँग्रेसमै पुगे । यसरी निरन्तरजसो पार्टी फेरिरहँदा पनि उनका क्षेत्रका मतदाताले भने मन र मत बदलेनन् । उनैलाई जिताइरहे ।

सधैंका चुनावी विजेता गच्छदारले सातौंपटक उही सफलता दोहोर्याउलान् कि उनको विरासत भत्केला ? मंसिर ४ मा हुने सुनसरी–३ को चुनावी लडाइँले यसको निर्धारण गर्नेछ ।

थारु बहुल क्षेत्र सुनसरी ३ मा सोही समुदायका दुई नेताबीचको तेस्रो भीडन्त यसपटक रोचक हुने देखिन्छ । यसअघिका हरेकजसो निर्वाचनमा ‘पैसाको खोलो बग्ने’ क्षेत्रका रुपमा चिनिएको यो क्षेत्रमा यसपटक पनि उस्तै दृश्य देखिने अनुमान मतदाता लगाउँछन् । ‘यहाँ दुवै उम्मेद्वार पैसावाला भनेर चिनिन्छन्’, दुहबी –३ का युवा शंकर राजवंशीले भने ‘पैसा खर्च धेरै हुन्छ यहाँ। उनीहरुले खोलै बगाउने गरेका छन् ।’

लामो समय सत्ताभोग गरेका गच्छदार र दुहबीमा लघु वित्त चलाइरहेकी भगवती चौधरी दुवैलाई ‘पैसावाल’ ठान्ने मतदाताको एउटा पंक्ति चुनावी परिणाममा ‘पैसा नै निर्णायक बन्ने’ अनुमान लगाउँछन् । यद्यपि दलका नेता–कार्यकर्ताहरु भने त्यसलाई अस्वीकार गर्छन् । शुद्ध रुपमा राजनीतिक लडाइँ हुने उनीहरुको दाबी मतदाताहरु भने पत्याउँदैनन् ।
‘पैसा खर्च गर्छु, खोलो बगाउँछु भनेर त कुन पार्टी र नेताले भन्छ र ?’ , विराटनगरमा स्नात्तक तह पढिरहेका दुहबीकै अर्का युवा निशान्त रायले भने ‘भन्ने एउटा र गर्ने अर्को हो । हाम्रो क्षेत्रमा पैसाको ठूलो चलखेल हिजो पनि भएको थियो, यसपालि पनि हुन्छ ।’

यसपटक मुख्य प्रतिष्पर्धामा रहेका गच्छदार र चौधरी दुवैको सार्वजनिक छवि राम्रो छैन । दुवैका लागि आफ्नै व्यक्तिगत छवि मुख्य चुनौती हुने देखिन्छ ।

यसअघिका दुई निर्वाचनमा गच्छदारलाई बलियो चुनौती दिएकी चौधरीको क्रेज अघिल्ला दुई निर्वाचनभन्दा घटेको यहाँका मतदाताको बुझाई छ । यसअघिका दुईटा निर्वाचन लड्दा चौधरीलाई स्थानीय समुदायले आफ्नो सहयोगीका रुपमा बुझेका थिए । खासगरी फरवार्ड लघु वित्त संस्थामार्फत उनले क्षेत्रका धेरैलाई ऋण दिलाएकी थिइन् । सर्वसाधारणलाई उद्यमशीलतासँग जोड्न सघाएकी थिइन् ।

तर, लघुवित्तको चर्को ब्याजदर र त्यही ब्याज असुल्न चौधरी आफै अध्यक्ष रहेको संस्थाले लिएको कठोर नीतिले धेरैलाई पीडित बनाएको सर्वसाधारणको बुझाइ छ । ‘पहिले भर्खरै संस्थाले कारोबार सुरु गरेको थियो, सबैलाई राम्रै होला जस्तो लागेको थियो’, दुहबीका शंकरले भने ‘अहिले लघुवित्तको ब्याज असुल्न भगवती चौधरीले देखाएको कठोरताले धेरैलाई पीडित पारेको छ । उहाँ ‘ब्याज’ कै पर्याय जस्तो हुनुभएको छ ।’ यसबाहेक सानो ठाउँमा निरन्तर आकाशिँदै गएको उनको आर्थिक हैसियतले पनि उनीतिर प्रश्न उठाउने गरेको शंकरको भनाइ छ ।

नेपाली राजनीतिका विवादास्पद पात्रमा गणना हुने गच्छदारप्रति पनि धेरै आशा नभएको मतदाताको भनाइ छ । ‘यतिका लामो समय शक्तिमा रहेका विजय गच्छदार दर्जनौ.पटक मन्त्री, उपप्रधानमन्त्री भए। क्षेत्रका लागि के गरे ?’, गएको स्थानीय निर्वाचनबाट भोट हाल्न थालेका निशान्तले भने ‘अघिल्लो पटक जितेपछि त भ्रष्टाचार मुद्दाले सांसद पद नै गयो । अब फेरि जित्ने बित्तिकै पद जाने होला ।’

यसरी यी दुवै प्रतिष्पर्धी आ–आफ्नै छविले चुनौतीमा छन् । यद्यपि उनीहरुलाई चुनौती दिने तेस्रो शक्तिशाली उम्मेद्वार कोही नभएको यहाँका सर्वसाधारणको बुझाइ छ ।

यी दुवै प्रतिष्पर्धीले यही छविलाई भोट माग्ने मुख्य अस्त्र बनाएका छन् । भ्रष्टाचार प्रकरणमा निलम्बनमा परेका गच्छदारले जिते फेरि पनि उनको पद जाने भन्दै एमाले पंक्ति अब परिवर्तन ल्याउनु पर्ने नारा लगाइरहेका छन् भने काँग्रेसहरु वित्तीय संस्थामार्फत सर्वसाधारणलाई दुःख दिनेलाई क्षेत्र सुम्पिन नहुने बताइरहेका छन् । यसबाहेक आफ्नै दलभित्रको असन्तोष व्यवस्थापन पनि दुवैका लागि अर्को चुनौती हुने देखिन्छ ।

गठबन्धन, निरन्तर जीतको विरासत, बलियो व्यक्तिगत प्रभाव र समुदायगत भोटको फाइदामा रहेका गच्छदारसँग स्थानीय निर्वाचनपछि पुराना काँग्रेस असन्तुष्ट छन् । गच्छदारलाई पुराना फोरम लोकतान्त्रिकका कार्यकर्तालाई मात्रै अवसर दिएको आरोप छ ।

२०७४ को स्थानीय चुनावमा बर्जु गाउँपालिकामा फोरम लोकतान्त्रिक विजेता बनेको थियो । यसपटक काँग्रेस पृष्ठभूमिकालाई उम्मेद्वारी दिनुपर्ने माग उच्च थियो । तर, गच्छदारले फोरम पृष्ठभूमिकै व्यक्तिलाई टिकट दिए । परिणामतः यो पटक एमालेले विजेता बन्यो । गढी गाउँपालिकामा पनि उस्तै भयो । २०७४ मा काँग्रेसले जितेको गाउँपालिकामा यसपटक गच्छदारले फोरम पृष्ठभूमिकै उम्मेद्वार अघि सार्दा काँग्रेस पृष्ठभूमिका धेरैले एमालेलाई सघाए । गढी पनि एमालेले जित्यो ।

२०४८ पछिका सबै चुनाव जित्ने रेकर्ड बनाएका गच्छदारले २०४८, ०५१ र ०५६ को निर्वाचन जितेका थिए । २०६४ मा मधेशी जनअधिकार फोरम र २०७० मा मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) बाट विजयी भएका थिए । २०७४ मा कांग्रेसबाट विजयी भएका गच्छदार अहिले पनि उम्मेदवार बनेका छन् । यसपटक पुराना काँग्रेसहरुको असन्तोष गच्छदारको मुख्य चुनौती हुनसक्छ ।

स्थानीय ठाउँमै बसेर निरन्तर जनतामाझ काम गरेकी भगवतीका लागि पनि आन्तरिक असन्तोष चुनौतीका रुपमा खडा छ । कुनैबेला ज्यादै कमजोर संगठन भएको एमालेलाई क्षेत्रमा बलियो बनाएको जस भगवतीलाई नै जान्छ । त्यसक्रममा उनले अन्य दलबाट धेरै कार्यकर्ताहरु एमालेमा भित्र्याएकी छन् । गएको स्थानीय चुनावमा त्यही नयाँ र पुरानो एमालेबीच वडादेखि पालिकाका विभिन्न तहमा टिकटको हानथाप चल्यो । नयाँले टिकट पाउँदा पुराना एमाले बिच्किने, पुरानाले टिकट पाउँदा नयाँ रिसाउने क्रम यहाँ धेरै चल्यो । भगवतीले नयाँ र पुराना एमाले व्यवस्थापन गर्न नसकेको बुझाई कार्यकर्ताको छ । यसर्थ आन्तरिक असन्तोष चिर्दै पार्टी मत सुरक्षित पार्नु र विपक्षी मत तान्नुपर्ने बाध्यता दुवै उम्मेद्वारलाई छ ।
गएको स्थानीय चुनावको गणितले पनि यहाँ प्रतिष्पर्धा तीव्र हुनेवाला देखाउँछ । तर, दुवै पक्षका नेताहरु आफ्नै उम्मेद्वारले सजिलै जीत हात पार्ने दाबी गरिरहेका भेटिन्छन् ।

‘चुनावमा प्रतिष्पर्धा त भइहाल्छ’, काँग्रेस क्षेत्रीय सभापति मेहदी हुसेनले भने ‘तर, गठबन्धन, अहिलेसम्म गरेको कामको आधारले विजय गच्छदारको जीत निश्चित छ ।’ एमाले नेताहरु भने शक्तिको आडमा धाँदली गरेर यसअघिका दुईटा चुनाव गच्छदारले जितेको आरोप लगाउँछन् । २०७४ को नतिजाप्रति असन्तोष जनाउँदै भगवतीले अदालतमा मुद्दा नै दायर गरेकी छन् । तर, संसद्को कार्यकाल सकिएर अर्को चुनाव लागिसक्दा पनि यो मुद्दा किनारा लाग्न सकेको छैन ।

‘अहिलेसम्म काँग्रेसले धाँदली गरेर चुनाव जितेको हो’, बर्जु गाउँपालिकाका अध्यक्षसमेत रहेका एमाले नेता जीवछ रायले भने ‘सधैं धाँदली गरेर कहाँ हुन्छ र, यसपटक हामी चुनाव ठूलो मतान्तरले जित्दैछौं ।’ २०७४ मा वाम गठबन्धनकी चौधरीलाई काँग्रेसका गच्छदारले ३२१ मतले पराजित गरेका थिए । गच्छदारले ३८ हजार ९७२ मत ल्याउँदा भगवतीले ३८ हजार ६५१ मत पाएकी थिइन् । गणनामा गडबड गरेको भन्दै नतिजा लगत्तै भगवती अदालत गएकी थिइन् ।

यो निर्वाचन क्षेत्रमा इटहरी उपमहानगरपालिका ६, ७, ८, ९, १०, ११, १२, १३, १४ र १५ नम्बर वडा गरेर १० वटा वडा पर्छन्। सुनसरी क्षेत्र नम्बर ३ मा गढी गाउँपालिका सबै वडा, दुहबी नगरपालिकाका सबै वडा, बर्जु गाउँपालिकाको सबै वडा र इनरुवा नगरपालिकाको वडा नं.७ पर्छ । पछिल्लो स्थानीय चुनावमा वडाध्यक्षहरुले पाएको मत अनुसार यहाँ एमालेसँग. ३५ हजार ५३ मत छ भने काँग्रेससँग ३३ हजार ५७१ मत छ। जसपा ५ हजार ५१६, माओवादी ३ हजार ८०० , राप्रपा ३ हजार ३३१ र नेकपा एससँग ६२६ मत छ ।