विराटनगर । मंसिर ४ को चुनावी मिति नजिकिँदै जाँदा राजनीतिक दलहरुले चुनावी अभियानलाई पनि उचाई दिँदै लगेका छन् । प्रदेश १ का सबै जिल्लाका निर्वाचन क्षेत्रहरुमा चुनावी सरगर्मी यतिबेला उत्कर्षमा छ ।
यहीबेला दलको केन्द्रीय नेतृत्वमा रहेका प्रदेश १ का नेताहरुका क्षेत्रमा चुनावी जोडघटाउको सिलसिला जारी छ । प्रदेश १ का विभिन्न जिल्लामा चुनाव लड्दै गरेका दलका दोस्रो तहका नेताहरुमध्ये कसको अवस्था कस्तो छ ?
पाँचथरमा १५ उम्मेदवार मैदानमा रहँदा कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बे र एमालेका वसन्त नेम्वाङबीच कडा टक्कर हुने देखिएको छ । अघिल्लो निर्वाचनमा वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेम्वाङले आङ्देम्बेलाई पराजित गरेका थिए । तत्कालीन वाम गठबन्धनको एक घटक माओवादी केन्द्र यसपटकको निर्वाचनमा कांग्रेससँग मिलेको छ भने एमाले आफै पनि विभाजित भएको छ ।
यस अर्थमा नेम्वाङलाई चुनाव जित्न सकस देखिन्छ । तर, स्थानीयस्तरमा लोकप्रिय रहेका नेम्वाङको व्यक्तिगत प्रभाव पनि राम्रै छ । अर्कोतिर आङ्देम्बेका लागि पनि जित निकाल्न चुनौतिपूर्ण छ । सो क्षेत्रमा स्थानीय निर्वाचन २०७९ मा पार्टीगत वडाध्यक्षका उम्मेदवारले पाएको मत अनुसार
एमालेसँग ३० हजार ९५८ मत छ भने कांग्रेससँग २५ हजार ६५,
माओवादीसँग ११ हजार ८०८, जसपा २ हजार ६४३, एकीकृत समाजवादी २ हजार १६१ र राप्रपासँग १ हजार ९०९ मत रहेको छ ।
पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा सुनिलबहादुर थापा धनकुटाबाट काँग्रेस उम्मेद्वारका रुपमा प्रतिनिधिसभामा चुनाव लड्दैछन् । एमालेको अत्याधिक प्रभाव क्षेत्र रहेको धनकुटामा निर्वाचन जित्नु उनका लागि गाह्रो छ । त्यसमाथि सत्ता गठबन्धनबाट माओवादीका नेता हेमराज भण्डारीले स्वतन्त्र उम्मेदवारी दिएर उनलाई चिन्ता थपेका छन् ।
सत्ता गठबन्धन हुँदा धनकुटाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र कांग्रेसको भागमा पर्ने बुझेका भण्डारीले उम्मेदवारी दर्ता हुनु एक हप्ता अगाडि नै माओवादीबाट राजीनामा दिएर स्वतन्त्र चुनाव लड्ने घोषणा गरेका थिए । धनकुटामा प्रतिनिधिसभामा एमालेबाट राजेन्द्र राई उम्मेदवार छन् । अघिल्लो निर्वाचनमा अत्याधिक मतका साथ विजयी बनेका राईका लागि भण्डारीको स्वतन्त्र उम्मेदवारीले झनै सहज बनाइदिएको छ ।
त्रिपक्षीय भिडन्त नभए पनि भण्डारीले थापा र राईमध्ये कसको बढी भोट काट्छन् भन्ने विषयले पनि नतिजा कसको पक्षमा जान्छ भन्ने निर्धारण गर्नेछ । धनकुटामा माओवादी पार्टी तेस्रो स्थानमा छ । उक्त पार्टीका धेरै कार्यकर्ता भण्डारीको चुनावी प्रचारमा हिँडिरहेका छन् । जसका कारण थापालाई कठिन देखिन्छ । सो क्षेत्रमा स्थानीय निर्वाचन २०७९ मा पार्टीगत वडाध्यक्षका उम्मेदवारले पाएको मत अनुसार एमालेको ३६ हजार ३३६,
कांग्रेसको २८ हजार १८२, माओवादीको ५ हजार ४५८, जसपा २ हजार २९३, एकीकृत समाजवादीको १ हजार ७२८ र राप्रपाको ३०४ मत छ ।
मोरङको क्षेत्र नम्बर २ मा भने ३ जना स्वतन्त्रसहित १३ जना उम्मेदवार बनेका छन् । उक्त क्षेत्रमा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाको उम्मेदवारी परेको छ । यसअघि उक्त क्षेत्रमा कांग्रेसका डा. मिनेन्द्र रिजाल विजयी भएका थिए । कोइरालाको प्रतिस्पर्धामा एमाले गठबन्धनबाट ऋषिकेश पोखरेल छन् ।
अघिल्लो पटकको निर्वाचनमा पोखरेल रिजालसँग पराजित भएका हुन् । २१ वर्षपछि निर्वाचन क्षेत्रमा चुनाव लड्न आएकी सुजाताले दैनिक त्यही क्षेत्रमा घुमिरहेका एमाले नेता पोखरेलसँग चुनाव लडेर जित्न गाह्रो हुने विश्लेषण गरिन्छ । उनले पार्टीको अन्तरविरोध हल गर्दै एमालेको असन्तुष्टि र गठबन्धन दलको मत मिलाएको खण्डमा मात्रै जित हात पार्न सक्नेछिन् । सो क्षेत्रमा यसअघि स्थानीय तह निर्वाचनमा वडाध्यक्षहरुले पाएको मत अनुसार एमाले ३१ हजार ३३०, कांग्रेस २८ हजार ६१७, माओवादी ७ हजार २७१, जसपा ५, राप्रपा २ हजार ६९, लोसपा ५६६ र एकीकृत समाजवादी १८० मतको अवस्थामा छन् ।
मोरङको क्षेत्र नम्बर ३ मा भने १९ जना स्वतन्त्रसहित ३३ जना उम्मेदवार बनेका छन् । उक्त क्षेत्रमा पूर्वमन्त्रीसमेत रहेका एमाले नेता भानुभक्त ढकालले यसपटक पनि दोहो¥याएका छन् । उक्त क्षेत्रमा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका डा. सुनिल शर्मा उम्मेदवार बनेका छन् । यसअघि उक्त क्षेत्रमा कांग्रेसका डा. शर्मा एमाले नेता ढकालसँग पराजित बनेका थिए । अहिले पनि प्रतिस्पर्धामा एमाले गठबन्धनबाट ढकाल नै छन् ।
ढकाल र शर्माबीच प्रतिस्पर्धा हुने ठानिएको भए पनि राप्रपाबाट सो क्षेत्रमा उम्मेदवार बनेकी नायिका रेखा थापा दुवै उम्मेदवारका लागि अहिले टाउको दुखाइ बनेकी छन् । थापाले कसको मत धेरै काट्छिन् भन्ने तनावका बीच ढकालका लागि एमाले विभाजन, टिकट वितरणमा देखिएको असन्तुष्टिको व्यवस्थापन पनि चुनौतीपूर्ण बनेको छ । सो क्षेत्रमा यसअघि स्थानीय तह निर्वाचनमा वडाध्यक्षहरुले पाएको मत अनुसार एमाले ३७ हजार ४१०, कांग्रेस ३६ हजार ९१६, माओवादी ७ हजार ३७३, राप्रपा २ हजार १२१ , एकीकृत समाजवादी १ हजार ८५५ र जसपा ४६३ मतको अवस्थामा छन् ।
सुनसरीको क्षेत्र नम्बर १ मा २० जनाले उम्मेदवारी दर्ता गराएका छन् । सत्ता गठबन्धनको तालमेलबाट निर्वाचन लड्ने तयारी गरिरहेका जसपाका नेता अशोक राई अन्तिममा एमालेको कित्तामा पुग्नु परेपछि तनावमा छन् । एकल निर्वाचन लड्ने मानसिकतामा रहेको एमालेमा अशोकलाई सघाउने निर्णय भएपछि स्थानीय स्तरमा विद्रोह भएको छ । उनलाई एमाले नेता मनोज मेन्याङ्बोले स्वतन्त्र उम्मेदवारी दिएपछि झट्का लागेको छ ।
सत्ता गठबन्धनको मत पनि नपाउने र एमालेको पनि सबै मत नपाउने, आफ्नो पार्टीको मत कम हुनु उनका लागि यसपटकको निर्वाचन प्रतिकूल हुनसक्छ । सत्ता गठबन्धनको तर्फबाट माओवादी केन्द्रले मुक्साहाङ मेन्याङ्बोलाई उम्मेदवार बनाएको छ । सो क्षेत्रबाट यसअघि एमाले नेता जयकुमार राई विजयी भएका थिए । यस पटक पनि राई उम्मेदवारका आकांक्षी थिए ।स्थानीय तह निर्वाचनमा वडाध्यक्षहरुले पाएको मत अनुसारएमाले ३३ हजार ४५३, कांग्रेस २६ हजार ६६४, माओवादी ७ हजार १८,राप्रपा ४ हजार ७४ मतको अवस्थामा छन् ।
सुनसरीको क्षेत्र नम्बर २ मा नेपाल कम्युनिस्ट पार्टी एमालेले भीमप्रसाद आचार्यलाई उम्मेदवार बनाएको छ । आचार्य प्रदेश १ का मुख्यमन्त्री भइसकेका व्यक्ति हुन् । उनलाई एमालेभित्र १० बुँदे पक्षधर भनेर चिनिन्छ ।
उनलाई सोही क्षेत्रबाट २०७४ सालमा विजयी बनेका सिताराम मेहताले चुनौती दिएका छन् । पार्टीको गुटबन्दीले समस्याग्रस्त बनेको सुनसरीमा एमालेको व्यवस्थापन नै आचार्यका लागि पहिलो चुनौती हो । त्यसबाहेक भर्खरै एमालेबाट विद्रोह गरेर माओवादी प्रवेश गरेका द्वारिकलाल चौधरीको असहयोगले पनि आचार्यको जित कठिन बनाइदिएको छ । सो क्षेत्रमा यसअघि स्थानीय तह निर्वाचनमा वडाध्यक्षहरुले पाएको मत अनुसार कांग्रेस ३७ हजार ७३७, एमाले ६ हजार ४७२, जसपा ७ हजार ८५५,
माओवादी ३ हजार २५०, राप्रपा ३ हजार ११० र एकीकृत समाजवादी २ हजार ११९ मतको अवस्थामा छन् ।
उदयपुर क्षेत्र नम्बर २ का रामकुमार राई कांग्रेसका क्षेत्रीय सभापति हुन् । उनले सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका नेता जगन्नाथ खतिवडाका विरुद्धमा बागी उम्मेदवारी दिएका छन् ।
यसअघि २०७४ सालमा माओवादी केन्द्रका नेता सुरेशकुमार राई (हिमाल) विजयी भएको सो क्षेत्र नेकपा एकीकृत समाजवादीको भागमा परेको थियो । खतिवडाका लागि कांग्रेस नेताको उम्मेदवारीले टाउको दुखाइ बनिरहँदा एमालेका उम्मेदवार अम्बरबहादुर रायमाझीका लागि भने राहत भएको छ । एमाले, कांग्रेस र माओवादी तीनै पार्टीको उल्लेख्य जनाधार रहेको उदयपुर–२ मा खतिवडाले निर्वाचन जित्न कांग्रेस र माओवादीको मत जित्नुपर्ने देखिन्छ । सो क्षेत्रमा यसअघि स्थानीय तह निर्वाचनमा वडाध्यक्षहरुले पाएको मत अनुसार एमालेसँग १८ हजार ५७३, कांग्रेससँग ११ हजार ३४४, माओवादीसँग ८ हजार २०२, एकीकृत समाजवादीसँग ३ हजार ४२७ र जसपासँग १ हजार ४३४ मत रहेको छ ।

