समानुपातिक तर्फ महिला उम्मेदवारको संख्या ५५ प्रतिशत भन्दा बढी

काडमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फ महिला उम्मेदवारको संख्या ५५ प्रतिशतभन्दा धेरै रहेको देखिएको छ । प्रतिनि सभातर्फ समानुपातिक उम्मेदवारको कूल संख्या दुई हजार चार सय दुई छ । यसमा महिला उम्मेदवारको संख्या एक हजार तीन सय १३ छ, भने पुरुष उम्मेदवारको संख्या एक हजार ८९ छ । निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्यांकअनुसार प्रदेश सभातर्फ महिला समानुपातिक उम्मेदवारको संख्या दुई हजार चार सय २६ छ ।

प्रदेश सभाको समानुपातिकतर्फ पुरुष उम्मेदवारको संख्या एक हजार छ सय २९ छ । प्रदेश सभाको समानुपातिकतर्फ कूल चार हजार ५५ जनाको उम्मेदवारी कायम भएको छ । प्रदेश १ मा चार सय छ महिला र दुई सय ५५ पुरुष, मधेशमा पाँच सय ७० महिला र तीन सय ७७ पुरुष, बागमतीमा चार सय ७१ महिला र तीन सय ५४ पुरुष, गण्डकीमा दुई सय २१ महिला र एक सय ४५ पुरुष, लुम्बिनीमा चार सय तीन महिला र दुई सय ५४ पुरुष, कर्णालीमा एक सय ३१ महिला र ९१ पुरुष तथा सुदूरपश्चिम प्रदेशमा दुई सय २४ महिला र एक सय ५३ पुरुष उम्मेदवार रहेका आयोगले जनाएको छ ।

आगामी मंसिर ४ गते देशभर एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन हुँदैछ । सो निर्वाचनमा ९१ लाख ४० हजार आठ सय छ पुरुष, ८८ लाख ४७ हजार पाँच सय ७९ महिला र एक सय ८५ अन्य गरी कूल एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदाताले मतदान गर्दैछन् । देशभर १० हजार आठ सय ९२ मतदानस्थल र २२ हजार दुई सय २७ मतदान केन्द्र रहनेछन् ।

सोमबार, ३१ असोज, २०७९, साँझको ०५:५० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर