इलाम । कुनै आपतविपद् हुनेबित्तिकै सूचना आदानप्रदान गर्न चाहिने आपतकालीन कार्य सञ्चालन केन्द्र इलामका स्थानीय तहमा स्थापना हुन सकेका छैनन् । प्राकृतिक प्रकोप वा विपद्का बेला सूचना लिएर माथिल्लो तहलाई दिन प्रत्येक स्थानीय तहका केन्द्रमा आपत्कालीन कार्य सञ्चालन केन्द्र स्थापना गर्नुपर्ने प्रावधान छ ।
तर, जिल्लाका १० पालिकामध्ये इलाम र सूर्याेदय नगरपालिकाबाहेकमा यो केन्द्र स्थापना हुन सकेका छैनन् । फाकफोकथुम गाउँपालिकाले केन्द्र स्थापना गरेको तर साधन–स्रोत कम भएको जनाएको छ ।अहिले जिल्ला प्रशासन कार्यालयसँगै रहेको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रलाई चौबीसै घन्टा इन्टरनेट, टेलिफोन तथा ब्याकअपसहितको विद्युत् तथा सोलार इनर्जी र अझ व्यवस्थित, सुविधा सम्पन्न बनाइएको छ ।
केन्द्रका लागि भवनको व्यवस्था गरी क्षमता सुदृढीकरण गरिएको, केन्द्रमा अहिले नेपाल प्रहरीका एक जना, सशस्त्र प्रहरी बल नेपालका दुई सुरक्षा कर्मचारी कार्यरत रहेको प्रशासनले जनाएको छ । जिल्ला विपद् व्यवस्थापन समिति संयोजक तथा प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगानाले स्थानीय तहमा केन्द्र स्थापनाका लागि प्रमुख प्रशासकीय अधिकृतहरूलाई निर्देशन दिइसकेको जनाएका छन् । उनले आइतबार सदरमुकाममा बैठक बोलाएर प्रत्येक पालिकामा चाँडोभन्दा चाँडो केन्द्र स्थापनाका लागि निर्देशन दिएका हुन् । बैठकमा सहभागी धेरैजसो प्रमुख प्रशासकीय अधिकृत वा सम्बन्धित पालिकाका प्रतिनिधि कर्मचारीले तिहारअघि नै पालिकामा केन्द्र स्थापना गर्ने प्रतिबद्धतासमेत जनाएका छन् ।
प्रजिअ ढुंगानाका अनुसार यस्ता केन्द्रले पालिकाभर हुने आपत्कालीन घटनाको सूचना संकलन गरी माथिल्लो निकायलाई जानकारी दिनेछन् । ‘पालिकाका केन्द्रमा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना भएपछि त्यसबाटै पालिकाभर हुने आपतकालीन घटनाको सूचना लिन सकिने छ,’ उनले भने, ‘यो सामान्य एउटा इकाई हो तर सबै पालिकामा अझै स्थापना हुन सकेको छैन ।’
केन्द्रहरू आधारभूत कार्य सञ्चालन विधिका आधारमा सञ्चालन हुनेछन् । केन्द्रले केन्द्रीय, क्षेत्रीय र स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्रसँग सम्पर्क–समन्वय गरी कार्य गर्ने प्रशासनले जानकारी दिएको छ । केन्द्रले राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्र र क्षेत्रीय आपतकालीन कार्य सञ्चालन केन्द्रसँग नियमित र प्रत्यक्ष सञ्चार सम्पर्कमा रहनुपर्ने प्रशासन कार्यालयका अधिकृत यादव राउतले बताए ।
स्थानीय तहमा रहने केन्द्रले जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रको सम्पर्क तथा समन्वयमा रही कार्य गर्नेछन् । राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले स्थानीय तहमा स्थापना भएका केन्द्रको विवरण अद्यावधिक गरी राख्ने छ। स्थानीय केन्द्रले जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रसँग सम्पर्क र समन्वयमा रही कार्य गर्नेछ ।
यो केन्द्रका लागि पालिकामा कम्तीमा एक जना कर्मचारी, एउटा कोठा, टेलिफोन, कम्युटर, इमेल, इन्टरनेटलगायतको सुविधा भए पुग्छ । बाँकी सामग्री आवश्यकताअनुसार थप्दै लैजान सकिन्छ । तर, पालिकाभरको सूचना सकंलकन र वितरण हुने भएकाले यो केन्द्र निकै महत्वपूर्ण पनि रहेको प्रजिअ ढुंगानाले जानकारी दिए । ‘जिल्लाका पालिकाहरूले चाँडै केन्द्र स्थापना गर्ने छन्,’ उनले भने, ‘कुनै आपत् आइलाग्दा सूचना नै आएन भने उद्धार र राहत सहयोग गर्न सकिँदैन, त्यसैले यो केन्द्र निकै महत्वपूर्ण छ ।’