संखुवासभामा पुरानै प्रतिष्पर्धीको नयाँ भीडन्त

संखुवासभा । संखुवासभामा प्रतिनिधिसभाका सदस्यका लागि पुरानै अनुहारबीच प्रतिस्पर्धा हुने भएको छ । मैदानमा पुरानै अनुहार भएकाले मतदातालाई नयाँपनको महसुस भएको छैन । मंसिर ४ गते निर्वाचनमा प्रतिनिधिसभाका सदस्यका लागि नेकपा एमालेका राजेन्द्रप्रसाद गौतम र गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका दीपक खड्काबीच प्रतिस्पर्धा हुने भएको छ । एमालेका गौतम र काँग्रेसका खड्का तेस्रोपटक चुनावी मैदानमा छन् ।

२०७० सालको निर्वाचनमा काँग्रेसका खड्काले एमालेका गौतमलाई पराजित गरेका थिए भने २०७४ को निर्वाचनमा एमालेका गौतमले काँग्रेका खड्कालाई पराजित गरेका थिए । संखुवासभामा दुई स्वतन्त्रसहित १० वटा राजनीतिक दलले प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गरे पनि एमालेका गौतम र काँग्रेसका खड्काबीच प्रतिस्पर्धा हुने भएको छ ।
गौतम एमालेका स्थायी कमिटी सदस्य र काँग्रेसका खड्का पूर्व खानेपानी तथा सरसफाइ राज्यमन्त्री तथा जिल्ला सभापति हुन् ।

गौतम र खड्का यसअघि पनि दुईपटक चुनावी मैदान भिडिसकेका छन् । त्यतिवेला उनीहरू दुवै जनाले पालै–पालो एक÷एक पटक विजयी हासिल गरिसकेका छन् । यसअघि २०७० सालको निर्वाचनमा खड्का र गौतमबीच प्रतिस्पर्धा भएको थियो । २०७० को निर्वाचनमा एमालेका गौतमले १० हजार ९७३, माओवादीका राजेन्द्र किरातीले ४ हजार २९३ मत र काँग्रेसका खड्काले ११ हजार ५५२ मत ल्याएर विजयी भएका थिए ।

२०७४ सालको निर्वाचनमा समेत उही पुरानै अनुहार गौतम र खड्का दोस्रोपटक चुनावी मैदानमा भिडेका थिए । गौतमले ३२ हजार ७६९ मत ल्याई १ हजार १३० मतका साथ विजयी भए भने खड्काले ३१ हजार ६३९ मत ल्याएका थिए ।
२०७४ को निर्वाचनमा एमालेका उम्मेदवार गौतमलाई नेकपा माओवादी केन्द्रको साथ रहेको थियो । २०७४ कांग्रेस एक्लै लडेको थियो । काँग्रेसका खड्कालाई अहिले माओवादी केन्द्र र समाजवादी पार्टीको साथ रहेको छ भने नेकपा एमाले अहिले एक्लै चुनावी मैदानमा उत्रिएको छ ।

प्रदेशसभामा (१) मा गठबन्धन दलबाट माओवादी केन्द्रका राजेन्द्र कार्की र नेकपा एमालेका भवीश्वर गुरुङबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । माओवादीका कार्कीलाई काँग्रेस, नेकपा एकीकृत समाजवादीको साथ रहेको छ । २०७४ मा माओवादी केन्द्रका पूर्णप्रसाद राईले १६ हजार ६६६ ल्याएर विजयी भएका थिए भने काँग्रेसका टंकप्रसाद राईले १४ हजार ६३२ मत मात्र ल्याएका थिए ।

२०६४ र २०७४ मा माओवादीले जितेको थियो । कार्की माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा संखुवासभा इन्चार्जको जिम्मेवादीमा छन् भने गुरुङ एमालेका प्रदेश कमिटी सदस्य हुन् । प्रदेशसभा (१) प्रदेश सदस्यमा एक एक स्वतन्त्र सहित ८ जनाले मनोनयन दर्ता गराएका छन् । प्रदेशसभा (१) मा माओवादी आफ्नो साख जोगाउने पक्षमा छ भने एमाले माओवादीको साख तोड्ने पक्षमा छ । प्रदेशसभा (१)मा दुबै नयाँ अनुहार हुन् ।

त्यस्तै प्रदेशसभा (२) मा गठबन्धन दलका तर्फबाट नेकपा एकीकृत समाजवादीकी सरिता थापा खड्का र एमालेका विदुरकुमार लिङ्थेपबीच प्रतिस्पर्धा हुने भएको छ । २०७४ निर्वाचनमा एमालेका तुलसीप्रसाद न्यौपाने र काँग्रेसका दीपककुमार लिम्बुबीच प्रतिस्पर्धा भएको थियो । एमालेका न्यौपानेले १७ हजार ५१४ ल्याएर विजयी भएका थिए भने काँग्रेसका लिम्बुले १६ हजार १४० मत मात्र ल्याएका थिए । प्रदेशसभा (२)मा दुबै नयाँ अनुहार हुन् । प्रदेशसभा (२) तर्फ स्वतन्त्र ३ सहित १० जनाले मनोनयन दर्ता गराएका छन् । जिल्लामा १ लाख १६ हजार ५५४ मतदाता रहेका छन् ।

सोमबार, ३१ असोज, २०७९, बिहानको ०८:०८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर