काठमाडौं । सर्वोच्च अदालतले रुपन्देही क्षेत्र नम्बर २ मा गठबन्धनबाट उम्मेदवार रहेका नेकपा एकीकृत समाजवादीका राजु गुरुङको उम्मेदवारी खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको छ ।

न्यायाधीश विश्वम्भर श्रेष्ठको एकल इजलासले आज निर्वाचन अधिकृतको कार्यालयको उम्मेदवारी खारेज गर्न निर्णय कार्यान्वयन नगर्न अल्पकालिन अन्तरिम आदेश दिएको हो ।

अदालतले अन्तरिम आदेशको लागि दुबै पक्षलाई छलफल गर्न बोलाएको छ । निर्वाचन अधिकृतको कार्यालयले बैंकिङ कसूरसम्बन्धी मुद्दामा अदालतबाट सजाय तोकिएको भन्दै्र गुरुङको उम्मेदवारी खारेज गरेको थियो । त्यसविरुद्धमा गुरुङ सर्वोच्च अदालत गएका थिए ।

सो क्षेत्रमा एमालेबाट उपाध्यक्ष विष्णु पौडेल उम्मेदवार छन् । राजुसँगै अन्य दुईजना स्वतन्त्र उम्मेदवारको मनोनयनसमेत आयोगले खारेज गरेको थियो ।

खारेजीमा परेका डा.कमल भुसालले पनि सर्बोच्चमा रिट दिएका छन् । आज नै न्यायाधीश श्रेष्ठकै इजलासमा उनको रिट परेको भएपनि हेर्न नभ्याइने भएर सरेको छ ।