विराटनगर । समाजसेवी दीनबन्धु गोयललाई नागरिक अभिनन्दन गरिएको छ । विराटनगरमा शुक्रबार एक भव्य कार्यक्रम आयोजना गरी नागरिक अभिन्नदन गरिएको हो ।

गोयललाई पूर्वराष्ट्रपति डा.रामवरण यादवले कदर पत्र प्रदान गरी नागरिक अभिनन्दन गरिएको हो । समाजसेवी गोयललाई अभिनन्दन गर्न नागरिक समाज आवद्ध ४७५ जनाको समाजसेवी दीनबन्धु गोयल नागरिक अभिनन्दन समारोह समिति बनाएको थियो ।

नागरिक अभिनन्दन कार्यक्रममा बोल्दै पूर्वराष्ट्रपति यादवले समाजको एकीकरणमा सबै जातजातिको महत्वपूर्ण योगदान रहेको बताए । उनले यस क्षेत्रको समाजको विकासमा पहाडी, मधेसी थारु एवम् मारवाडी समुदायको महत्वपूर्ण योगदानको रहेको बताए । ‘समाजसेवी गोयल एवम् उहाँको परिवारले यस क्षेत्रमा सामाजिक, संस्कृति, शिक्षा, स्वास्थ्य, क्षेत्रमा गर्नुभएको महत्वपूर्ण योगदानको हृदयदेखि आभार प्रकट गर्दछु,’ उनले भने ।

उनले सम्पूर्ण समाजको मेलमिलापबाट नै सभ्यता निर्माण हुने चर्चा गर्दै मेलमिलापको सभ्यताले मुलुकको सही विकासमा सहयोग पु¥याउने बताए । अभिनन्दित व्यक्ति गोयलले गरीब विद्यार्थीलाई छात्रवृत्तिलगायत विभिन्न संघसंस्थालाई सहयोग गर्न पाउँदा ज्यादै खुसी र शान्ति महशुस हुने गरेको अनुभव सुनाए । समितिका अध्यक्ष सुरेशकुमार शर्मा, राजेन्द्र चापागाईँ, महावीरप्रसाद गोयललगायतले समाजसेवी गोयलको सहयोगबाट धेरै विद्यार्थीले उच्च शिक्षा अध्ययन गर्न सफल भएको बताए ।

झापाको भद्रपुरमा २००५ मा समाजसेवी गोयलको जन्म भएको थियो । उनलाई स्वदेश र विदेशका गरी २६८ संघसंस्थाले अभिनन्दन गरेका छन् । गोयलले प्रत्येक वर्ष झापा, मोरङ, धनकुटा, सुनसरी, तेह्रथुम जिल्लाका एक हजार ५०० भन्दाबढी असाहय एवं जेहेन्दार विद्यार्थीलाई नगद छात्रवृत्ति प्रदान गर्नुका साथै ज्येष्ठ नागरिक एक महिला, गौशाला, मठमन्दिर, बाल आश्रमलगायत क्षेत्रमा सहयोग गर्दै आएका छन् ।

एक दर्जन उद्योग स्थापना गरेर त्यसको सफल सञ्चालन गरेका गोयल अहिले झण्डै दुईसय सामाजिक संघसंस्थामा आवद्ध छन् । एक दशकदेखि औद्योगिक जीवनबाट बिश्राम लिएर सामाजिक क्षेत्रमा क्रियाशील छन् ।