झापा । पार्टी जीवनमा निरन्तर सफलता हात पार्दै अघि बढेका काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माका लागि संसदीय चुनाव भने अफापसिद्ध बन्दै आएको छ ।

२०७० र २०७४ को चुनावमा झापा १ मा पराजित बनेका शर्मा तेस्रोपटक पुरानै क्षेत्रमा चुनावी परीक्षामा होमिएका छन् । यसक्रममा उनको प्रतिष्पर्धी बनेका छन्, एमाले नेता अग्नि खरेल । मंसिर ४ को चुनावमा पछिल्लो स्थानीय चुनावको गणित शर्माका लागि मुख्य चुनौती बन्ने देखिन्छ । गठबन्धनका सबै दलको मत मिलाउँदा पनि यो क्षेत्रमा एमालेका वडाध्यक्षहरुले पाएको मत धेरै छ ।

पहिलो संविधानसभामा राष्ट्रपतिबाट मनोनित भएका र दोस्रोमा समानुपातिमार्फत संविधानसभा प्रवेश गरेका खरेल चाहिँ पहिलोपटक प्रत्यक्ष चुनावी मैदानमा होमिएका छन् । पूर्वमन्त्री खरेलको झापा १ आगमन इच्छित नभई बाध्यताको उपज हो ।

खरेलले महान्यायाधिवक्ताबाट राजीनामा दिएपछि झापा २ मा आफूलाई केन्द्रीत तुल्याएका थिए । अन्तिम समयसम्म उनी झापा २ मै चुनाव लड्ने पक्षमा थिए । तर, पार्टीका पुराना नेता देवराज घिमिरेलाई झापा २ छोड्नैपर्ने भएपछि खरेल झापा १ तिर लागे ।
खरेल झापा १ जाँदा अर्का एमाले नेता रविन कोइराला भने विस्थापनमा परे । एमालेको स्थानीय कमिटीले प्रतिनिधिसभाका लागि कोइरालाको नाम एकल रुपमा सिफारिश गरेको थियो । तर, अध्यक्ष केपी ओलीका विश्वासपात्र खरेल प्रतिनिधिसभामा उम्मेद्वार बन्दा कोइराला प्रदेशसभाको उम्मेद्वार बन्न बाध्य भए ।

खरेलले कोइरालाको राजनीतिक ‘भाग खोसेको’ यो दोस्रो घटना थियो । यसअघि खरेलले नै कोइरालाको जिल्ला इन्चार्ज पद खोसेका थिए । नेकपा छँदा कोइराला पार्टीको झापा इन्चार्ज थिए । संसद् विघटनपछिको विवादले नेकपा विभाजित भयो, एमाले पनि सग्लो रहेन ।
कोइराला १० बुँदे सहमतिपछि एमालेमै रहे । पार्टीमा जिम्मेवारी बाँडफाँट गर्दा लामो समय ओलीविरोधी खेमामा रहेका कोइराला घटुवामा पर्दै सह–इन्चार्ज बने, इन्चार्जका रुपमा अग्नि खरेलको इन्ट्री भयो ।

यसरी पहिलोपटक पार्टीको जिम्मेवारी पाउने बेलामा अवसर खोसेका खरेललाई यसपटक कोइरालाको संसदीय मौका खोसेको आरोप पनि लाग्यो । यही अपजस खरेलका लागि चुनावी चुनौती बन्ने खतरा छ ।

बलियो संगठन भएको झापा १ एमालेका लागि सधैंजसो सुरक्षित किल्ला मानिँदै आएको छ । २०५६ र २०६४ को चुनावबाहेक यो क्षेत्रमा सधैं एमाले उम्मेद्वार नै विजेता बन्दै आएका छन् । २०७४ मा पनि एमालेले समर्थन गरेका माओवादीका राम कार्की विजेता बनेका थिए ।
एमाले उम्मेद्वार खरेललाई यो चुनावमा सबैभन्दा धेरै लखेट्ने मुद्दा बनेको छ उनको ‘टुरिस्ट’ छवि । सत्ता गठबन्धनमा रहेका दलका कार्यकर्ताहरुले खरेल स्थानीय नभएको बताउँदै सधैं ‘पाहुनालाई जिताउन नहुने’ धारणा सामाजिक सन्जालमा प्रकट गरिरहेका छन् । एमाले कार्यकर्ता भने खरेल ‘टुरिस्ट’ होइनन् भन्ने स्थापित गर्न सामाजिक सन्जालमा भिडेका भिड्यै छन् ।

‘अहिलेसम्म खाली बाहिरका मान्छेले क्षेत्रको प्रतिनिधित्व गर्दा उनीहरुको प्राथमिकतामा क्षेत्र परेन भन्ने मनोविज्ञान प्रशस्तै देखिन्छ’, धुलाबारीस्थित हिमालयन कलेजमा समाजशास्त्र अध्यापन गर्ने युवा अध्येता सागर शिवाकोटी भन्छन् ‘त्यही भएर यो क्षेत्रमा हरेक चुनावमा यो मुद्दा जोडतोडले उठ्ने गरेको छ । यसपटक पनि उठेको छ, उठ्ने नै छ ।’

शिवाकोटीका अनुसार स्थानीय उम्मेद्वारले मात्रै क्षेत्रका मान्छेको पिरमर्का र आवश्यकता बुझ्न सक्छ भन्ने मनोविज्ञान स्वाभाविक छ । ‘हाम्रो अभ्यासले हरेक तहको जनप्रतिनिधिलाई शक्तिको केन्द्र बनाएको छ’, उनी भन्छन् ‘त्यही भएर मतदाता आफूलाई चिन्ने मान्छे आफ्नो प्रतिनिधि होस् भन्ने चाहना राख्छन्। यो व्यक्तिगत सुरक्षाको प्रश्न पनि भएको छ ।’

काँग्रेसहितका सत्ता गठबन्धनका दलहरुको साथ, राजनीतिक रुपमा निरन्तर अग्लिँदै गएको आफ्नै व्यक्तित्वकोे बलमा महामन्त्री शर्माले बलियो संगठन भएको र क्षेत्रमा रहेको स्थानीय सत्ताको नेतृत्व गरेर बसेको एमालेका खरेलसँग प्रतिष्पर्धा गर्नुपर्नेछ ।
झापा १ मा दुवै प्रतिष्पर्धी ढुक्क हुने अवस्थामा छैनन् । स्थानीय चुनावको गणितले बलियो देखिएका एमाले उम्मेद्वार खरेल यो क्षेत्रका लागि नौला मानिस हुन् । उनको मुख्य कमजोरी नै यही विषय बन्नसक्छ । उनी अहिले क्षेत्रमा पार्टीकै कार्यकर्तासँग पनि चिनजान गर्दै हिँड्नुपर्ने अवस्थामा छन् ।

२०७४ को चुनावमा यो क्षेत्रमा वाम गठबन्धन झण्डै १४ हजार मतान्तरले अघि थियो । तर, चुनावी परिणाम सार्वजनिक हुँदा शर्माले उल्लेख्य आकारमा घटाएका थिए। त्यसबेला राम कार्कीले ३६ हजार १७३ मत पाएर जित्दा शर्माले ३३ हजार ३१० मत पाएका थिए । यसरी १४ हजारले पछि परेको क्षेत्रमा शर्माले भने २ हजार ८६३ मतले मात्रै पराजय व्यहोरेका थिए । काँग्रेस नेताहरु स्थानीय चुनावको गणितले काम नगर्ने दाबी गर्छन् । जनप्रतिनिधि नहुँदै पनि शर्माले क्षेत्रको विकासमा उल्लेख्य योगदान दिएको र त्यसबारे जनता जानकार रहेको काँग्रेसको दाबी छ ।
एमालेहरु पनि खरेल ओलीको विश्वासपात्र भएकाले ओली प्रधानमन्त्री हुँदा उनी मन्त्री बन्ने प्रचार गरिरहेका छन् । खरेलले विकासका काममा नेतृत्व गर्ने क्षमता राख्ने उनीहरुको दाबी छ ।

मेचीनगर नगरपालिकाका १५ वटै वडा, भद्रपुर नगरका ९ र १० नम्बर अनि बुद्धशान्ति गाउँपालिकाका चार वटा वडाहरु ४, ५ , ६ ७ समेटिएको यो क्षेत्रमा कूल १ लाख २० हजार ३७५ मतदाता छन् । स्थानीय चुनावमा वडाध्यक्षहरुले प्राप्त गरेको मत अनुसार यहाँ एमालेसँग ३१ हजार २ सय ३२ मत छ भने काँग्रेससँग २४ हजार ५९ मत छ। राप्रपासँग ५ हजार ९२२ मत रहेको क्षेत्रमा माओवादीसँग ३ हजार ९०५, एकीकृत समाजवादीसँग १ हजार २५२ र लोकतान्त्रिक समाजवादी पार्टीसँग २६२ मत छ ।

यो क्षेत्रमा उम्मेद्वारी दर्तापछि भने राप्रपा मत विभाजित बनेको छ । प्रदेशसभाको क्षेत्र ‘ख’ पाएको राप्रपाबाट सविना बजगाइँ उम्मेद्वार बनेकी छन् भने टिकट नपाएपछि राप्रपाका पुराना नेता कल्याण खड्काले राप्रपा नेपालबाट उम्मेद्वारी दिएका छन् । शर्मा र खरेल दुवैका लागि पार्टीभित्रको किचलो व्यवस्थापनको सकस उत्तिकै छ।

गएको स्थानीय चुनावमा मेचीनगरको मेयरमा शर्माले टिकट खोसेका कृष्णप्रसाद सिटौला निकट पार्टीका जिल्ला उपसभापति केशवराज पाण्डे लगायतको समूहलाई साथैमा लिएर हिँड्नुपर्ने चुनौती उनीसँग छ । प्रदेशसभाको क्षेत्र क मा सिटौला र पाण्डेकै विश्वासपात्र गोपाल तामाङलाई अघि सारेर शर्माले सन्तुलन मिलाउने प्रयास गरेका छन्। शर्माको प्रस्तावक पाण्डे स्वयम् बसेका छन् ।

यो क्षेत्रमा बलियो प्रभाव राख्ने एमाले नेता रविन कोइराला र उनका समर्थकहरुको चिढिएको मन मिलाउनुपर्ने चुनौती खरेललाई छ । कोइरालाले टिकट नपाएर खरेलले पाएपछि कोइराला समर्थक धेरैले सामाजिक सन्जालमा खुला असन्तोष मात्रै प्रकट गरेनन्, पाहुनालाई अस्वीकार गर्नेसमेत बताएका थिए ।