विराटगनर । छठ पर्वलाई ध्यानमा राखेर विराटनगर महानगरपालिकाले नहरको सफाइ सुरु गरेको छ ।
सुनसरी–मोरङ सिंचाइ आयोजनाको सहकार्यमा महानगरले नहरको सफाइ सुरु गरेको हो । महानगर क्षेत्रभित्रका सबै नहर सफा गरिने विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले जानकारी दिए । हरेक दिन दुईवटा जेसीबीले नहर सफाइ गरिरहेका छन् ।
बिहान ६ बजेदेखि नै सफाइ सुरु हुने गरेको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले बताए ।
एउटा जेसीबीले खार्जीदेखि जामुनगाछीसम्म सफा गर्नेछ भने अर्को जेसीबीले जामुनगाछीदेखि रानीसम्म सफा गर्नेछ । लामो समयदेखि नहर सफा भएको थिएन । मेयर कोइरालाको पहलमा नहर सफाइलाई तीव्रता दिइएको छ । छठ पर्वमा भक्तजनहरुले नहरमा मण्डप बनाएर पूजा गर्ने गरेका छन् । सुनसरी–मोरङ सिंचाइ आयोजनाको नहरले विराटनगरको वडा नम्बर ४, ५, ६, ११, १२, १६ लगायतका वडामा पर्ने नहर सफा गर्ने योजना अनुसार काम गरिरहेको छ । महानगरले हरेक शुक्रबार महानगर सफाइ विशेष अभियान पनि सञ्चालन गरिरहेको छ ।

