विराटनगर । प्रतिनिधिसभाको आउँदो निर्वाचनमा मोरङका ६ वटै निर्वाचन क्षेत्रमा मुख्य रुपमा सत्ता गठबन्धन र एमाले नेतृत्वको गठबन्धनबीच चुनावी प्रतिष्पर्धा हुँदैछ । तर, मोरङमा जसपा र एमालेबीचको गठबन्धनको भविष्य के हुने टुंगो छैन भने राप्रपा यहाँ अलग्गै चुनावी प्रतिष्पर्धामा छ ।
मोरङका ६ वटै क्षेत्रको चुनावी प्रतिष्पर्धाको अवस्था कस्तो छ ? हेरौं जिल्लाका ६ वटै क्षेत्रको क्षेत्रगत अवस्था ।
मोरङ १ः सत्ता गठबन्धन बलियो
मोरङका १ नम्बर निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभाका लागि १४ जनाले प्रतिस्पर्धा गर्ने भएका छन् । जसमध्ये सत्ता गठबन्धनबाट काँग्रेसका डिगबहादुर लिम्बू र एमाले गठबन्धनबाट नेता घनश्याम खतिवडाको मुख्य प्रतिस्पर्धा हुने भएको छ । यस्तै सो क्षेत्रबाट ५ जनाले स्वतन्त्र उम्मेद्वारी दिएका छन् ।
लिम्बू र खतिवडा बाहेक सो क्षेत्रमा राप्रपाबाट होमनाथ गौतम, नेपाल मजदुर किसान पार्टीबाट लक्ष्मी प्रसाद कवा, हाम्रो नेपाली पार्टीका राजेन्द्र प्रसाद पौडेल, मंगोल नेशनल अर्गनाइजेसनबाट सुरज लिम्बू, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट हर्कमान सम्वाहाम्फे, राष्ट्रिय जनमुक्ति पार्टीबाट बुद्धमाया लिम्बू र राष्ट्रिय स्वतन्त्र पार्टीबाट कमलबहादुर श्रेष्ठ रहेका छन् । उक्त क्षेत्रमा गत स्थानीय तहको निर्वाचनमा वडाध्यक्षहरुले पाएको मत अनुसार एमाले ३२ हजार ३६६, कांग्रेस ३१ हजार ४१३, माओवादी ६ हजार ५८३, राप्रपा २ हजार ८९०, एकीकृत समाजवादी १ हजार ९३ र जसपाको ४९४ मत छ । यो नतिजा अनुसार मोरङ १ मा सत्ता गठबन्धन बलियो अवस्थामा देखिन्छ ।
मोरङ २ः काँग्रेस किचलो व्यवस्थापन होला ?
मोरङको क्षेत्र नम्बर २ मा भने ३ जना स्वतन्त्रसहित १३ जना उम्मेद्वार बनेका छन् । उक्त क्षेत्रमा सत्ता गठबन्धनको तर्फबाट नेपाली काँग्रेसकी नेतृ सुजाता कोइरालाको उम्मेद्वारी परेको छ । यसअघि उक्त क्षेत्रमा काँग्रेसका डाक्टर मिनेन्द्र रिजाल विजयी भएका थिए ।
कोइरालाको प्रतिस्पर्धामा एमाले गठबन्धनबाट ऋषिकेश पोखरेल रहेका छन् । अघिल्लो पटकको निर्वाचनमा पोखरेल रिजालसँग पराजित भएका हुन् । यसपटक मिनेन्द्रसहितका काँग्रेस नेताहरुको भूमिकाले सुजाताको जीतहार निश्चित हुने अनुमान यो क्षेत्रमा छ ।
यस्तै सो क्षेत्रबाट राप्रपाका गोपाल दाहाल, नेपाल मजदुर किसान पार्टीका सुरेश कवाँ, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका नारायण प्रसाद गनगाई, हाम्रो नेपाली पार्टीका विनोदमणि भट्टराई, मंगोल नेशनल अर्गनाइजेसनका नारायण विसंखे, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका खीलबहादुर खड्का, नेश्नलिष्ट पिपल्स पार्टीका मिना कटुवाल बुढाथोकी, राष्ट्रि स्वतन्त्र पार्टीबाट ठेगेन्द्र प्रसाद न्यौपानेले उम्मेद्वारी दिएका छन् । यस्तै अन्य तीन जना स्वतन्त्र उम्मेद्वारहरु राजकुमार सिवाकोटी, विशेश्वर ऋषिदेव र सुनिल कुमार साह पनि चुनावी मैदानमा छन् ।
सो क्षेत्रमा यसअघि स्थानीय तह निर्वाचनमा वडाध्यक्षहरुले पाएको मत अनुसार एमाले ३१ हजार ३३०, कांग्रेस २८ हजार ६१७, माओवादी ७ हजार २७१, जसपा ५, राप्रपा २ हजार ६९, लोसपा ५६६ र नेकपा एस १८० मतसहितको अवस्थामा छन् । यो क्षेत्रमा पनि थोरै मतले सत्ता गठबन्धन अघि छ ।
मोरङ ३ः कसले जित्ला ‘रिम्याच’
मोरङको क्षेत्र नम्बर ३ मा भने १९ जना स्वतन्त्रसहित ३३ जना उम्मेद्वार बनेका छन् । उक्त क्षेत्रमा सत्ता गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका डाक्टर सुनिल शर्मा उम्मेद्वार बनेका छन् ।
यसअघि उक्त क्षेत्रमा काँग्रेसका डाक्टर शर्मा एमाले नेता भानुभक्त ढकालसँग पराजित बनेका थिए । अहिले पनि प्रतिस्पर्धामा एमाले गठबन्धनबाट ढकाल नै रहेका छन् । ढकाल र शर्माबीच प्रतिस्पर्धा हुने ठानिएको भएपनि राप्रपाबाट सो क्षेत्रमा उम्मेद्वार बनेकी रेखा थापा दुवै उम्मेद्वारको लागि अहिले टाउको दुखाइ बनेकी छिन् ।
सो क्षेत्रमा अन्य पार्टीहरु नेमकिपाका ओमनारायण राजवातर, लोकतान्त्रिक समाजवादी पार्टीका भवन राई, हाम्रो नेपाली पार्टीका खगेन्द्र प्रसाद न्यौपाने, नेकपा मालेका उद्धिमबहादुर खड्का, मंगोल नेशनल अर्गनाइजेसका विकेन्द्र राई, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट चन्द्रीका देवी लिम्बू, नेशनलिष्ट पिपल्स पार्टीबाट नारायण शर्मा, जनसमाजवादी पार्टी नेपालबाट कमल लिम्बू र राष्ट्रिय स्वतन्त्र पार्टीबाट विकास उप्रेती उम्मेद्वार बनेका छन् ।
अन्य स्वतन्त्रहरुमा दिनेश चापागाएं, जयराज संयोग, कृष्ण राई, पंकजकुमार भगत, गणेशबहादुर पखेरेल, इन्दिरा थापा, कमल राजवंशी, प्रकाश भट्टराई, शिवकुमार पौडेल, अरविन शाह, इन्द्रप्रसाद सुवेदी, चन्द्रकला खत्री, सुवास धिमाल, हिमप्रसाद मिश्र, बाबुराम सुवेदी, रेवतकुमार बस्नेत, सुरेश भण्डारी, धर्मप्रसाद न्यौपाने र जीवनाथ निरौला उम्मेद्वार बनेका छन् ।
स्थानीय चुनावमा यहाँका वडाध्यक्षका उम्मेद्वारले पाएको मत अनुसार एमालले ३७ हजार ४१०, कांग्रेस ३६ हजार ९१६, माओवादी ७ हजार ३७३, राप्रपा २ हजार १२१, नेकपा एस १ हजार ८५५ र जसपाले ४६३ मत पाएका छन् ।
मोरङ ४ मा पनि सत्ता गठबन्धन नै बलियो
मोरङको क्षेत्र नम्बर ४ मा ६ जना उम्मेद्वारसहित १६ जनाबीच प्रतिस्पर्धा हुने भएको छ । सत्ता गठबन्धन दलका तर्फबाट माओवादी नेता अमनलाल मोदी उम्मेद्वार बनेका छन् । यस्तै एमाले गठबन्धनका तर्फबाट सो क्षेत्रमा एमाले नेता विनोद ढकाल उम्मेद्वार बनेका छन् ।
राप्रपाका रवि रिजाल, नेपाल मजजदुर किसान पार्टीका श्यामबहादुर दर्जी, लासपाका लक्ष्मण साहु, हाम्रो नेपाली पार्टीका नविनकुमार विश्वास, मंगोल अर्गनाइजेसनका धनबहादुर लिम्बू, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका गेल्टेन ऋषिदेव, नेपाली काँग्रेस (बि.पी)बाट अशोक पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीबाट नेत्रप्रसाद सिवाकोटी दलीय उम्मेद्वार बनेका छन् ।
अन्य स्वतन्त्र उम्मेद्वारहरुमा राजेन्द्रकु्मार खवास, कुवेत मिया, ज्ञानेन्द्र खत्री, पदम कार्की, मशे नेपाल र देवनारायण विश्वास रहेका छन् । अघिल्लो पटकको निर्वाचनमा नेपाली काँग्रेसका नेता महेश आचार्यलाई पराजित गर्दै विजयी बनेका मोदी यस पटक पुनः उम्मेद्वार बनेका हुन् । सो एमाले र सत्ता गठबन्धन दलका उम्मेद्वारबीच प्रतिस्पर्धा हुने यो क्षेत्रमा थारु राजवंशी समुदायको बाहुल्य रहेको छ
।
स्थानीय तह निर्वाचनमा वडाध्यक्षहरुले पाएको मत अनुसार एमालेले २५ हजार ७३०, कांग्रेस २१ हजार ८९४, माओवादी ९ हजार ९९०, राप्रपा ४ हजार ६७४ , जसपा ३ हजार ११२ र नेकपा एसले १ हजार २५५ मत ल्याएका थिए ।
मोरङ ५ मा बागी निर्णायक
मोरङको निर्वाचन क्षेत्र ५ मा पनि ८ जना स्वतन्त्रसहित १६ जनाले उम्मेद्वारी दिएका छन् । सो क्षेत्रमा सत्ता गठबन्धनका तर्फबाट माओवादी नेता शिवकुमार मण्डल उम्मेद्वार बन्दा एमाले र जसपाका संयुक्त उम्मेद्वार राजकुमार यादव प्रतिस्पर्धामा छन् । अघिल्लो पटक काँग्रेसका अमृत अर्याललाई पराजित गर्दै मण्डल विजयी भएका थिए ।
सो क्षेत्रमा राप्रपाबाट रेवतबहादुर थापा, जनमत पार्टीबाट परमेश्वर मुर्मु, हाम्रो नेपाली पार्टीबाट फिरोजकुमार साह, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट मंगल ऋषिदेव, नेपाल लोकतान्त्रिक पार्टीबाट मजबुल रहमान मियाँ र राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रमोदकुमार मण्डल दलीय उम्मेद्वार हुन् । यसबाहेक रमेशकुमार यादव, विद्याभूषण प्रसाद, मोहमद रेजा हुसैन, सन्जु शर्मा वडइ, गयानन्द मण्डल केवरत, रामप्रसाद मुखिया, योगेन्द्र मण्डल र मनोजकुमार मण्डलले स्वतन्त्र उम्मेद्वारी दिएका छन् ।
स्वतन्त्र उम्मेद्वारी दिने योगेन्द्र मण्डल नेकपा एमालेका नेता हुन् । जसपासँगको सहमतिमा एमालेले सो क्षेत्र छोडेपछि उनले असन्तुष्टि व्यक्त गर्दै स्वतन्त्र उम्मेद्वारी दिएका हुन् ।
स्थानीय तह निर्वाचनमा वडाध्यक्षहरुले पाएको मत अनुसार यहाँ कांग्रेस १९ हजार ४९८, एमाले १५ हजार ६८०, जसपा १३ हजार २४९ र माओवादी ११ हजार ६२८ मतसहितको अवस्थामा छन् । त्यस्तै राप्रपा राप्रपा १ हजार ८८७, लोसपा ७५२ र नेकपा एसले ६०८ मत पाएका छन् ।
मोरङ ६ मा रोचक ‘रिम्याच’
मोरङको क्षेत्र नम्बर ६ मा यसपटक पुरानै प्रतिस्पर्धीको रोचक भीडन्त हुने भएको छ । सो क्षेत्रमा सत्ता गठबन्धनको तर्फबाट काँग्रेस नेता डाक्टर शेखर कोइराला र एमाले गठबन्धनबाट लालबाबु पण्डित उम्मेद्वार छन् ।
पण्डितले कोइरालालाई २०७४ सालको निर्वाचनमा पराजित गरेका थिए ।
त्यसको बदला लिने दाउमा कोइराला रहेका छन् । अघिल्लो निर्वाचनमा बाम गठबन्धनबाट उम्मेद्वार बनेका पण्डितले ६ सयमतले कोइरालालाई पराजित गरेका थिए । यस पटक भने माओवादीसहितको गठबन्धनबाट उम्मेद्वार बनेका कोइरालाले बाजी मार्ने सम्भावना छ ।
पण्डित र कोइरालाका साथै राप्रपाका गोपाल क्षेत्री, नेमकिपाबाट चिरञ्जिवि खतिवडा, जनमत पार्टीबाट बुद्धिराम माझि, हाम्रो नेपाली पार्टीबाट टेकबहादुर अधिकारी क्षेत्री, जनता प्रगतिशिल पार्टी, नेपालबाट प्रशान्त ठाकुर, नागरिक उन्मुक्ति पार्टीबाट बलराम खवास, मंगोल नेशनल अर्गनाइजेसनबाट मोहनबहादुर राई, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट दुखाराम माझी, बहुजन शक्ति पार्टीबाट नारायण पासवान र राष्ट्रिय स्वतन्त्र पार्टीबा यादवकुमार प्रधान दलीय उम्मेद्वार हुन् । अन्य उम्मेद्वारहरु सुशिल खड्का, सरोज नेपाल र लक्ष्मी थेबे भने स्वतन्त्र हुन् । सो क्षेत्रमा यसअघि स्थानीय तह निर्वाचनमा वडाध्यक्षहरुले पाएको मत अनुसार कांग्रेस २७ हजार ८६, एमाले २४ हजार ५५६, माओवादी ४ हजार ९९६, जसपा ३ हजार ९३९, राप्रपा ३ हजार ११५, नेकपा एस २ हजार ३५५ र लोसपा ८९५ मतसहितको अवस्थामा छन् ।

