विर्तामोड । नेकपा एमाले झापा जिल्ला कमिटिले राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारलाई हलो चिन्हमा मतदान गर्न अपिल गरेको छ ।

एमाले झापाका अध्यक्ष दीपक कार्कीले बिहीबार एक विज्ञप्ति जारी गर्दै राप्रपाको हलो चुनाव चिन्हका उम्मेदवारलाई मतदान गरि विजयी गराउन पार्टीका नेता कार्यकर्ता, शुभचिन्तक, शुभेच्छुक तथा मतदाताहरूमा अनुरोध गरेका हुन् ।

स्थानीय आवश्यकतालाई मध्यनजर गर्दै झापामा राप्रपासँग चुनावी तालमेल गरिएको भन्दै विज्ञप्तिमा राष्ट्रियता, लोकतन्त्र, समृद्धि र जनजीविकाको लागि, देशी विदेशी प्रतिक्रियावादीहरूको षड्यन्त्र र घेराबन्दी विरुद्ध राष्ट्रिय प्रजातन्त्र पार्टीसँग चुनावी तालमेल आवश्यक परेको जिकिर गरिएको छ । चुनावी तालमेलमा राप्रपाको हलो चुनाव चिन्हमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ मा उम्मेदवार बनेका राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, प्रदेशसभा निर्वाचन क्षेत्र नं. १ (ख) बाट सविना बजगाईँ र प्रदेशसभा निर्वाचन क्षेत्र नं. ४ (४) बाट भक्तिप्रसाद सिटौला उम्मेदवार बनेकोले उनीहरुलाई मतदान गर्न एमालेले अपिल गरेको हो ।

झापाको अन्य निर्वाचन क्षेत्रहरूमा भने एमालेका उम्मेदवार रहेको विज्ञप्तिमा जनाइएको छ । एमालेले पार्टी विरोधी गतिविधि गर्ने अर्जुनधाराका हरिकुमार राना र शिवसताक्षीका होमप्रसाद गौतमलाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिसकेको जनाएको छ ।

झापा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवार बनेका पार्टी जिल्ला कमिटीका सचिवालय सदस्य डम्बर गिरीलाई पार्टी अनुशासन उल्लङ्घन गरेकोले पार्टीका सबै जिम्मेवारी र साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको एमालेले जनाएको छ । गिरीले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई पटक–पटक मत हाल्नुपर्ने अवस्था बनाएर एमालेको संगठन ध्वस्त बनाएको भन्दै स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।