विराटनगर । १ नम्बर प्रदेशबाट प्रतिनिधिसभा निर्वाचनमा ५ जना महिला प्रत्यक्ष चुनावी मैदानमा आएका छन् । नेकपा एमालेका २ र नेपाली काँग्रेसका २ जना र राप्रपाबाट एक जना महिला चुनावी दौडमा रहेका छन् ।उनीहरूले पुरुष उम्मेदवारलाई टक्कर दिइरहेका छन् ।
काँग्रेसका सीता गुरुङ र सुजाता कोइराला , एमालेका भगवती चौधरी र मञ्जु चौधरी र राप्रपाकी रेखा थापा चुनावी दौडमा छन् ।
नेपाली काँग्रेसकी केन्द्रीय सदस्य समेत रहेकी गुरुङ तेह्रथुमबाट चुनाव लड्दै छिन् । उनले एमालेका डा. विजय सुब्बासँग प्रतिस्पर्धा गर्नुपर्नेछ । समानुपातिक तर्फबाट संविधानसभा सदस्य भएकी गुरुङ प्रत्यक्ष तर्फबाट दोस्रो पटक चुनावी मैदानमा आएका छिन् ।
२ पटक चुनाव जितेका सुब्बा तेस्रो पटक संसदमा छिर्नका लागि २३ वर्षपछि तेह्रथुमबाट लड्दैछन् । सुब्बाले २०४८ र २०५६ सालमा चुनाव जितेका थिए । २ पटक चुनाव जितेका सुब्बासँग गुरुङ पहिलो पटक चुनावी मैदानमा भिड्दैछिन् ।
एमालेको पकड मानिएको तेह्रथुममा २०१५ र २०६४ सालबाहेक सबै निर्वाचनमा एमाले विजयी हुँदै आएको थियो । एमाले फुटेको तथा माओवादीले साथ दिएकाले तेह्रथुमबाट कम्युनिस्टको विरासत तोड्ने कसरतमा सीता छिन् । उनी यसअघि समानुपातिक कोटा बाट संसदमा छिरेकी थिइन ।
मोरङको २ नम्बर क्षेत्रबाट सुजाता कोइराला चुनावी मैदानमा छिन् । उनको प्रतिस्पर्धा एमाले मोरङका अध्यक्ष ऋषिकेश पोखरेलसँग हुँदैछ । पोख्रेल र सुजाताको यो पहिलो भेट हो । पटक–पटक मन्त्री समेत भइसकेकी सुजाता पनि प्रत्यक्षतर्फ पहिलो पटक भिड्दैछिन् । यसअघि उनी समानुपातिकबाट संसद् छिरेकी थिइन् ।
अघिल्लो निर्वाचनमा मिनेन्द्र रिजाल विजयी भएका थिए । यो क्षेत्रमा काँग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले चुनाव लड्ने क्षेत्र हो ।
विजयकुमार गच्छदार २०४८ सालको चुनावमा पहिलो पटक संसद् छिरे । त्यसपछिका सबै चुनावमा उनी संसद् पुगिरहन्छन् ।
२०४८ देखि २०७४ सालसम्म भएका सबै चुनाव उनले आफ्नो पक्षमा पार्दै आएका छन् । छैटौंपटक चुनाव जितेका गच्छदार सातौंपटक संसद छिर्ने प्रयासमा छन् । उनलाई संसद् छिर्न रोक्नका लागि नेकपा एमालेकी भगवती चौधरीले कसरत गरिरहेकी छन् । यसअघिका २ चुनावमा गच्छदारसँगै पराजित बनेकी भगवती तेस्रो पटक भिड्दैछिन् ।
२०७० सालको दोस्रो संविधानसभा चुनावमा ३६२ मतान्तरले चौधरीलाई गच्छदारले हराएका थिए । २०७४ सालको निर्वाचनमा ३२१ मतान्तरले भगवतीलाई नै उनले पराजय गरेका थिए । २०७४ सालको चुनावमा गच्छदारले मतगणनामा धाँधली गरेको भन्दै पराजित भगवती पुनः मतगणनाको माग राख्दै सर्वोच्च पुगेकी थिइन् । त्यो मुद्दा अहिले पनि विचाराधीन छ ।
भगवतीले गच्छदारलाई रोकेर आफू माननीय बन्न तेस्रो पटक प्रयास गर्दै छिन् । यसअघि गच्छदार २०४८, २०५१, २०५६ र २०७४ सालका चुनावमा काँग्रेसबाट विजयी भएका थिए भने २०६४ सालको पहिलो संविधान सभामा मधेसी जनअधिकार फोरमबाट र २०७० सालको दोस्रो संविधान सभामा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकबाट विजयी भएका थिए ।
उदयपुरको १ नम्बर क्षेत्रबाट मञ्जु चौधरी प्रतिस्पर्धा गर्दै छिन् । उनले परराष्ट्र मन्त्री नारायण खड्काको सामना गर्नुपर्नेछ । २०७४ सालको निर्वाचनमा तिनै खड्कासँग उनी पराजित बनेकी थिइन् । उनको यो तेस्रो प्रतिस्पर्धा हो । २०७४ सालको चुनावमा वाम गठबन्धनकी उम्मेदवार बनेकी चौधरी खड्कासँग ५४८ मतान्तरले पराजित भएकी थिइन् ।
उनी उदयपुर–२ बाट २०७० सालको निर्वाचनमा निर्वाचित भएकी थिइन् । खड्काले २०६४, २०७० र २०७४ सालका निर्वाचन जितेका छन् । खड्का चौथो पटक संसद् छिर्ने प्रयासमा छन् । २०७० सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा उनले उदयपुर–१ बाट जीत हासिल गरेकी थिइन् । उनी यसअघि शहरी विकास राज्यमन्त्री समेत भइसकेकी छन् ।
यस्तै मोरङ क्षेत्र नम्बर ३ बाट राप्रपाकी केन्द्रीय सदस्य रेखा थापाले पनि सता गठबन्धन र विपक्षी गठबन्धनका उम्मेदवारलाई टक्कर दिइरहेकी छिन । १ दशक भन्दा बढी फिल्म क्षेत्रमा रमाएकी थापा पहिलो पटक जनताको बाट निर्वाचित हुने तयारीमा छिन । उनले एमालेका भानुभक्त ढकाल र काँग्रेसका सुनिल शर्मासँग सामाना गर्नु पर्ने छ ।

