विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनविरुद्धमा उम्मेदवारी दिएका एमाले नेता डम्बरबहादुर गिरीले उम्मेदवारी कायमै राखेका छन् ।
झापामा एमाले र राप्रपाबीच गठबन्धन छ । गठबन्धन हुँदा एमालेले ३ नम्बर क्षेत्र राप्रपा अध्यक्ष लिङ्देनका लागि छोडेको थियो भने एमाले अध्यक्ष केपी शर्मा ओलीलाई राप्रपाले सघाउने सहमति भएको थियो ।
तर, गिरीले उम्मेदवारी दर्ता गराएपछि मोवाइल अफ गरेर वेपत्ता भएपछि उनको उम्मेदवारी फिर्ता भएन । राप्रपा झापाका अध्यक्ष केशव ओझाकाअनुसार गिरी भारततिर लागेका छन् ।
‘एमाले नेता गिरीको उम्मेदवारी फिर्ता भएन,’ ओझाले भने, ‘मोवाइल अफ गरेर भारततिर लागेको भन्ने खबर आएको छ ।’ ओझाले उनको उम्मेदवारीले आफूहरुलाई खासै असर नपर्ने बताएका छन् । गिरी एमालेका प्रदेश १ कमिटी सदस्य तथा स्थानीय तह निर्वाचनमा हल्दीबारी गाउँपालिकाको अध्यक्षमा पराजित उम्मेदवार हुन् ।
सो क्षेत्रमा सत्ता गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौला उम्मेदवार बनेका छन् । गिरीको उम्मेदवारीले सिटौलालाई फाइदा हुने सत्ता पक्षका एक नेताले बताए ।

