विराटनगर । २०६४ सालमा दुवै क्षेत्र नेकपा माओवादीले जितेयता ओखलढुंगामा नियमित प्रतिस्पर्धी हुन् यज्ञराज सुनुवार र रामहरि खतिवडा । २०६४ सालमा नेपाली कांग्रेसबाट रामहरि खतिवडाले टिकट पाएका थिएनन् । तर एमालेले क्षेत्र नं. १ मा यज्ञराज सुनुवारलाई उठाएको थियो ।

त्यतिबेला माओवादीका उम्मेदवार केशव राईसँग पराजित भएका यज्ञराज त्यसपछिका दुई निर्वाचनमा विजयी हुँदै आएका छन् । २०७० सालको निर्वाचनमा क्षेत्र नं. १ बाट यज्ञराज विजयी हुँदा क्षेत्र नं. २ बाट कांग्रेसका रामहरि खतिवडा निर्वाचित भएका थिए ।

आ–आफ्नो क्षेत्रमा पकड रहेका उनीहरुबीच ओखलढुंगामा एकै निर्वाचन क्षेत्रमा समेटिएपछि भेट हुन थालेको हो । उनीहरु दोश्रो पटक चुनावी मैदानमा भिड्न लागेका हुन् । दुवै नेता ओखलढुंगाबासीमाझ उत्तिकै चर्चित छन् । यज्ञराज यसपटक पनि जित्दै पकड बलियो बनाउन चाहन्छन् भने रामहरि २०७४ को बदला लिने योजनामा छन् ।

प्रतिस्पर्धी पुरानै भए पनि राजनीतिक समीकरणमा फेरबदल भएकाले रामहरिमा त्यो अपेक्षा अझै बढी छ । २०७४ मा एमाले–माओवादी गठबन्धन थियो। त्यतिबेला माओवादीको साथ पाएका यज्ञराज सुनुवार ३२ हजार ५ सय ८० मतसहित विजयी भएका थिए । उता रामहरि खतिवडाले २७ हजार ३ सय २७ मतमा चित्त बुझाए ।

एमाले एक भएका बेला माओवादीको पनि मत पाउँदा त्यसबेला ५ हजार २५३ मतले जितेका सुनुवार यसपटक एक्लै मैदानमा छन् । यसअघि साथ दिएको माओवादी कांग्रेसको पोल्टामा पुगेको छ । यसअघि एमालेमा रहँदा सहयात्री पनि एकीकृत समाजवादीतिर लागिसकेका छन् ।
तर कांग्रेस–माओवादीले गठबन्धन गर्दैैमा सबै भोट रामहरिलाई जाने निश्चित नभएकाले जित दोहो¥याउने आशा यज्ञराजले बोकेका छन् ।

२०६४ सालमा दुवै क्षेत्र जिते पनि अहिले ओखलढुंगामा माओवादीको प्रभाव कम छ । त्यसबेला माओवादीका केशव राई ११ हजार ६३५ मत ल्याएर क्षेत्र नं. १ बाट विजयी भएका थिए । पराजित कांग्रेसका बालकृष्ण दाहालले ९ हजार ५३ र एमालेका यज्ञराज सुनुवारले ८ हजार ९२० मत पाएका थिए । क्षेत्र नं. २ मा त्यतिबेला कांग्रेस उम्मेदवार बालाराज कार्की थिए । उनले ८ हजार ७५ मत पाए । एमालेका किशोरकुमार अधिकारीले ८ हजार ७३३ मत पाउँदा माओवादीका बालकृष्ण ढुंगेल ११ हजार ६९ मत ल्याएर निर्वाचित भएका थिए ।

तर ६ वर्षपछिको निर्वाचनमा यो मत माओवादीले बचाउन सकेन । २०६४ मा पहिलो पार्टी बनेको माओवादी दुवै निर्वाचन क्षेत्रमा तेस्रोमा खुम्चियो । क्षेत्र नं. १ बाट २०७० सालमा यज्ञराज सुनुवार निर्वाचित भए । उनले १२ हजार ९४३ मत पाउँदा कांग्रेसका बालकृष्ण दाहालले ९ हजार ९४३ मत मात्रै ल्याए । माओवादीका केशव राई २ हजार ९६३ मतमा खुम्चिए ।

क्षेत्र नं. १ मा यज्ञराजको जस्तै प्रभाव र मतान्तर क्षेत्र नं. २ मा रामहरि खतिवडाले कायम गरे । खतिवडा १३ हजार ९०४ मत ल्याएर निर्वाचित भए । एमालेका नानीबाबु बुढाथोकीको पक्षमा ८ हजार ५१० मत मात्रै खस्यो । माओवादीका पेशलकुमार खतिवडाले ३ हजार ६३६ मत ल्याउन सके । एउटै क्षेत्र बनेपछि आ–आफ्नो क्षेत्रमा पकड बनाएका यज्ञराज र रामहरिलाई कांग्रेस र एमालेले निरन्तर भिडाउँदै आएका छन् ।