ताप्लेजुङ । ताप्लेजुङको फुङलिङस्थित विरेन्द्र चोकमा रहेको कञ्चन मनी ट्रान्सफरबाट नगद तथा गहना लुटपाटमा संलग्न भएको आरोपमा चार जना पक्राउ परेका छन् ।
फुङलिङ नगरपालिका–२ हेलिप्याडका राजन पोर्तेल भन्ने २९ वर्षीय राजा यन्द्रलाई प्रहरीले घटना भएकै दिन पक्राउ गरेको थियो । उनलाई घटनाको मुख्य योजनाकार मानिएको छ ।
यसैगरि ताप्लेजुङकै सिदिङवा–५ घर भई फिदिम नगरपालिका–१ बस्ने टाइगर भनिने २७ वर्षीय गजेन्द्र लिम्बू मंगलबार पक्राउ परेका छन् । झापाको शिवसतासी नगरपालिका–१ का २६ वर्षीय चुनबहादुर सुनारलाई १८ असोजमा झापाबाटै र अर्जुनधारा नगरपालिका–१० का २५ वर्षीय मणिराज पोर्तेललाई १९ असोजमा फुङलिङ २ बाट प्रहरीले पक्राउ गरेको थियो ।
उनीहरुले असोज १७ मा दसैं महाष्टमीको मौका छोपी लुटपाट गरेका थिए । डीएसपी कैलाश राईका अनुसार मुख्य योजनाकार राजनबाट लुटिएको नगद ६ लाख १३ हजार ३४० रुपैयाँ र १४३ तोला सुन बरामद भएको छ । प्रहरीले उनको साथबाट घटनामा प्रयोग गरेको म्याग्जिन सहितको एक पेस्तोल पनि बरामद गरेको छ ।
मनि ट्रान्सफरका सञ्चालक अमर श्रेष्ठले ११ लाख ६३ हजार २५० नगद र ३ करोड ३९ लाख ९९ हजार मूल्य बराबरको ३४८ तोला सुन लुटिएको दाबी गरेका छन् । त्यसको यकिन भने भइसकेको छैन ।
फुङलिङमा सुन बनाउने काम गर्ने राजेन्द्रकै योजनामा लुटपाट भएको प्रहरीले जनाएको छ । चारैजना लागूऔषध सेवनकर्ता भएकाले योजनामा सहमत भएर लुट्ने तयारीमा लागेको प्रहरीको भनाइ छ ।
आइएमईका सञ्चालक अम्बरकुमार श्रेष्ठ र उनका श्रीमती मैयाँ श्रेष्ठ अष्ट्रेलिया भ्रमणमा गएको र कर्मचारीमात्रै भएको मौकामा सो समूहले कर्मचारी आशामाया प्रधानलाई फूलपातीको बेलुका प्रधानलाई फोन गरेर ‘सुन जाकटी राखेको छ, निकाल्नुपर्ने’ बताएका थिए । दसैंको महाष्टमीको बिहान साढे ९ बजे सुनको तथ्यांक हेर्न आईएमईको कार्यालयमा पसेकी उनलाई पछ्याउँदै गएका दुई युवकले काउन्टरमा बसेर खाता हेर्न लगाएको र केही समयमै पसेका मुख्य योजनाकारसहितका थप दुईले युवतीलाई नियन्त्रणमा लिएर सीसीटीभी बन्द गरेपछि लुटेका थिए ।
लुटेर भागिरहेका मध्येका पोर्तेललाई स्थानीयले निर्माणाधीन बसपार्क छेउबाट जंगलमा पसेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । पक्राउ परेकाहरुलाई जिल्ला अदालतबाट डाका मुद्दामा १० दिनको म्याद थप गरी अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।

