बिर्तामोड । प्रतिनिधिसभा झापा क्षेत्र नं–२ का उम्मेद्वार हरिकुमार रानाले एमालेभित्र आशा, विश्वास, सद्भाव र संभावनाको राजनीति नदेखिएपछि समृद्धि र रुपान्तरणका पक्षमा रहेको गठबन्धनको समर्थनमा आफू साझा उम्मेद्वार बनेको बताएका छन् ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य आम निर्वाचनको प्रचार–प्रसारका लागि गठित २ नं क्षेत्रस्तरीय प्रचार–प्रसार समितिको भेलामा सञ्चारकर्मीसँग बोल्दै उम्मेद्वार रानाले संभावनाभन्दा बढी निषेधको राजनीति देखिएको बताएका हुन् ।
‘राजनीतिमा आशा, विश्वास, सद्भाव र संभावना हुन्छ’–रानाले भने ‘मैले आफ्नो ऊर्जाशिल समय नेकपा एमालेको संगठन बनाउनमै खर्चिएँ । पार्टीले बाटो विराउँदा २०५४ सालमा भएको महाकाली सन्धीदेखि संसद विघटनसम्मका मुद्दामा आफ्नो असहमति राख्दै आएँ । अहिले उक्त पार्टीको गाडीले बाटो बिराएपछि गठबन्धनमार्फत नै समृद्धिका मुद्दा संवोधन हुने देखेर म साझा उम्मेद्वार बनेको हुँ ।’ एमालेतर्फ लक्षित गर्दै रानाले काठमाडांै जान हिडेको सवारी साधन बाटो विराएर धनकुटातर्फ लागेपछि आफूलाई उक्त सवारीमा सयर गर्नु अनुचित लागेको बताए ।
के.पी. शर्मा ओलीको निरंकुश ढंगले शासन सञ्चालन गर्ने पद्धतीले देशभरका जनता पीडित बनेको बताउँदै उम्मेद्वार रानाले सोही निरंकुशता र पार्टीभित्रैका कतिपय कार्यकर्तालाई गरेको अपमानजन्य ब्यवहारकै कारण उक्त पार्टीबाट बाहिरिएको बताए । गठबन्धन दलका तर्फबाट झापा क्षेत्र नं–२ अन्तरगत प्रदेश क मा नेकपा समाजवादीका पुष्प पोखरेल र २ ख मा नेपाली कांग्रेसका खगेन्द्र मैनालीको उम्मेद्वारी रहेको छ ।

