विराटनगर । गोरखाको संघीय निर्वाचन क्षेत्र २ मा नेपाली काँग्रेस (बि.पी.)बाट उम्मेद्वारी दिने टिका दत्त पोखरेलको उमेर ९९ वर्ष पुग्यो ।

तर, उनी अझै निर्वाचन जित्ने अभिलाशाका साथ उम्मेद्वारी दिएका छन् । सबैभन्दा बढी उमेरमा उम्मेद्वारी दिने पोखरेल एक मात्रै व्यक्ति हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट तेह्रथुमको उम्मेद्वारी दिने युवराम गौतम ८७ वर्षका भए । उनी पनि अबको मंसिर ४ गतेसम्मका लागि निर्वाचन जित्ने ध्याउन्नमा हुनेछन् ।

निर्वाचन आयोगले दाबी विरोधपछि सार्वजनिक गरेको विवरण अनुसार प्रतिनिधिसभा तर्फ ८० वर्षभन्दा माथिका उम्मेद्वारको संख्या १० जना छ । महोत्तरी ३ बाट उम्मेद्वारी दिएका लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरको पनि उमेर ८० वर्षको छ ।

यस्तै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको पनि उमेर ८० वर्षकै हो । उनी बाग्लुङ १ बाट सत्ता गठबन्धनको साझा उम्मेद्वार बनेका छन् । यस्तै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को एकल चुनाव चिन्हबाट निर्वाचन लड्ने महिन्द्रा राय यादव ८५ वर्षका हुन् । उनले पनि सर्लाही २ बाटै सत्ता गठबन्धनको समर्थन लिएर चुनाव लड्ने भएका हुन् ।

काडमाडौं ६ बाट स्वतन्त्र उम्मेद्वारी दिएका विष्णुप्रसाद ढकाल पनि ८५ वर्षका छन् । यस्तै पर्सा १ बाट स्वतन्त्र उम्मेद्वार ह्दयनारायण प्रसाद बरै (८०), बारा १ बाट स्वतन्त्र उम्मेद्वारी दिएका कृष्णराज गिरी (८१), कास्की ३ का स्वतन्त्र उम्मेद्वार पशुपतिनाथ तिमिल्सिना (८४), डडेलधुरा १ का स्वतन्त्र उम्मेद्वार कर्णसिंह रावल पनि ८४ वर्ष उमेरका हुन् । यस्तै ७० देखि ७९ वर्ष उमेरका उम्मेद्वार देशभरमा ६९ जना रहेका छन् । निर्वाचन आयोगका अनुसार ६८ र ६९ वर्षका उम्मेद्वार मात्रै ४७ जना छन् ।

यस्तै प्रदेशसभा तर्फ पनि ६८ वर्षभन्दा माथि उमेर समूहका उम्मेद्वारको संख्या १०६ जनाको रहेको छ । प्रदेशसभामा सबैभन्दा बढी उमेरका उम्मेद्वार पर्वत निर्वाचन क्षेत्र १ (२) बाट राप्रपा नेपालका उम्मेद्वार बालकृष्ण पौडेल हुन् । उनी ८५ वर्षका छन् ।

यस्तै राप्रपा नेपालकै झलकबहादुर बानियाँ (८१) ले म्याग्लीको १ (२) बाट उम्मेद्वारी दिएका छन् । यस्तै लोकतान्त्रिक समाजवादी पार्टी नेपालका दिलबहादुर सोदेम्बा लिम्बू (८०)ले तेह्रथुम १ (१)बाट उम्मेद्वार दिँदा झापा ४ (२)बाट स्वतन्त्र उम्मेद्वारी दिएका जयप्रसाद चौंलागाईं पनि ८० वर्षकै उमेर समूहका हुन् ।

३० मुनीका उम्मेद्वार

प्रतिनिधिसभा तर्फ झापाको निर्वाचन क्षेत्र १ बाट स्वतन्त्र उम्मेद्वारी दिने विकास राजवंशीको उमेर २५ रहेको छ । राजवंशी जस्तै २५ वर्ष उमेरका प्रतिनिधिसभाका उम्मेद्वार २० जना छन् । संघीय संसदको लागि उम्मेद्वार हुने योग्यता अनुसार उमेर न्यूनतम २५ वर्षको हुनुपर्छ ।
वृद्धवृद्धाहरुले उम्मेद्वार बन्ने लालशा राखिरहेको बेला युवा उमेर समूहका उम्मेद्वार पनि मनग्ये देखिएको छ ।

आयोगले सार्वजनिक गरेको विवरण अनुसार १६५ वटा निर्वाचन क्षेत्रका लागि २ हजार ५ सय ३१ जनाले उम्मेद्वारी दिएका छन् । जसमध्ये २९ वर्षसम्मका उम्मेद्वारको संख्या १६२ जनाको रहेको छ ।

त्यसमध्ये ४० भन्दा तलको उमेरका उम्मेद्वार ७ सय ८३ जनाको छ । यस्तै ४० देखि ६० वर्षसम्मका उम्मेद्वारको संख्या १ हजार ३ सय ४६ जना रहेका छन् भने ६१ देखि ६७ वर्ष उमेर सम्मका उम्मेद्वारको संख्या २७६ जना रहेका छन् ।

यस्तै प्रदेशसभा तर्फ उम्मेद्वारी दिएका देशभरका ३ हजार ४ सय ८१ उम्मेद्वारमध्ये २५ वर्षदेखि २९ वर्षसम्मका उम्मेद्वारको संख्या २१२ रहेको छ । यस्तै ४० वर्षसम्मको उम्मेद्वारको संख्या १ हजार ७० रहेको छ । ४१ देखि ६० वर्षसम्म उमेर समूहका उम्मेद्वारको संख्या १ हजार ९९५ हुँदा ६१ वर्षदेखि ६७ वर्षसम्मका उम्मेद्वारको संख्या ३१० जना रहेको छ ।