काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने सरकारी कर्मचारी तथा शिक्षकमाथि कारवाही सुरु गरेको छ ।
आयोगले मंगलबार एक विज्ञप्ति जारी गर्दै आचारसंहिताविपरित कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुने शिक्षक तथा कर्मचारीलाई स्पष्टिकरण सोधेर कार्वाहीको प्रक्रिया थालिएको जनाएको छ ।
दल वा उम्मेदवारको प्रचारप्रसार गर्ने, सामाजिक सञ्जालमा राजनीतिक दल वा उम्मेदवारको पक्ष विपक्षमा कुनै सन्देश, सूचना, प्रचारप्रसार सामग्री पोष्ट, शेयर वा लाइक गर्ने तथा सामाजिक सञ्जालमार्फत मत माग्ने शिक्षक तथा कर्मचारीलाई निर्वाचन आयोग, ऐन २०७३ को दफा २३ बमोजिम स्पष्टीकरण सोधेर कारबाहीको प्रक्रिया अघि बढाइएको आयोगले जनाएको छ । निर्वाचन आचारसंहिता, २०७९ को अनुगमन गर्दा आचारसंहिताको प्रतिकूल हुने गरी कतिपय सरकारी कर्मचारी तथा सार्वजनिक संस्थामा कार्यरत कर्मचारी, विद्यालय, महाविद्यालय वा विश्वविद्यालय तथा सोमा सम्बद्ध कर्मचारी, प्राध्यापक तथा शिक्षकहरु राजनीतिक दल र उम्मेदवारका पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न भएको पाइएको आयोगले जनाएको छ ।
कर्मचारी तथा शिक्षकहरुले उम्मेदवारसँग तस्वीर खिचाइ बधाई र शुभकामना दिने, राजनीतिक दल र उम्मेदवाहरुका प्रचार सामग्रीहको शेयर र लाइक गर्ने गरेका घटनाहरु अनुगमनका क्रममा पाइएकाले आयोगले कारबाही प्रारम्भ गरेको जनाएको छ । निर्वाचन आचारसंहिता, २०७९ मा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तह अन्तर्गतका निकाय, अर्धसरकारी तथा सार्वजनिक संस्था र सोमा कार्यरत कर्मचारी, विद्यालय, महाविद्यालय वा विश्वविद्यालय तथा सोमा सम्बद्ध कर्मचारी, प्राध्यापक तथा शिक्षक, सरकारी वा गैह्रसरकारी निकायबाट सञ्चालित परियोजना, विकास समिति तथा सोका कर्मचारीले पालना गर्नुपर्ने आचारणहरुबारे उल्लेख छ ।

