विराटनगर । प्रधानमन्त्री शेरबहादुर देउवाको उम्मेदवारी कायमै रहने भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले देउवाविरुद्ध परेको उजुरी खारेज गर्दै उनको उम्मेदवारी कायमै राख्ने निर्णय गरेको छ ।
देउवाले प्रतिनिधिसभा सदस्यका लागि डडेल्धुराबाट मनोनयन दर्ता गराएका थिए ।
मनोनय दर्तापछि देउवाको उम्मेदवारीविरुद्ध परेको दाबी विरोधको उजुरी कानुनसम्मत नदेखिएकाले उम्मेदवारी कायमै राख्ने निर्णय भएको मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले बताए।
देउवाको उम्मेदवारीविरुद्ध उजुरी, नागरिकता र मतदाता नामावलीमा उमेर बाझएको थियो ।
‘मिति फरक परेकोबारे छानबिन गर्दा मतदाता नामावली संकलनका क्रममा छपाइमा प्रावधिक त्रुटि भएको पाइएको छ, यस्तोलाई सामान्य लिने प्रावधान छ,’ उनले भने, ‘उजुरी कानुनसम्मत नदेखिएको खारेज भएको छ।’ नागरिकता र मतदाता नामावलीमा जन्ममिति बाझिएको भन्दै कांग्रेस बीपीका उम्मेदवार कर्णबहादुर मल्लले सोमबार उजुरी गरेका थिए।
उजुरी परेपछि देउवा पत्नी आरजुले मतदाता नामावली संकलनमा प्रावधिक त्रुटी भएको जवाफ दिएकी थिइन्।

