विराटनगर । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको लागि मनोनयन भएको छ । निर्वाचन आयोगले प्रकाशित गरेको उम्मेद्वारको प्रारम्भिक नामावली अनुसार प्रदेश १ मा यसअघि प्रतिनिधिसभा र प्रदेशसभा सदस्य रहेकामध्ये धेरैले पुनः उम्मेद्वारी दिएका छन् ।
प्रदेश १ मा २०७४ को निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका २४ जना पुनः प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन् । यस्तै २०७४ मा प्रदेशसभामा निर्वाचति भएका ४ जना यसपटक प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन् । यसअघि प्रदेशसभा सदस्य रहेका २८ जना पुनः प्रदेशसभाको उम्मेदवार बनेका छन् ।
प्रतिनिधिसभामा दोहोर्याउने २४ जना
झापाको निर्वाचन क्षेत्र नम्बर ३ बाट निवर्तमान सांसद राप्रपाका राजेन्द्र लिङ्देन पुनः उम्मेद्वार बनेका छन् । यस्तै झापाको ४ बाट एमालेका एलपी साँवा लिम्बू, झापा ५ बाट एमालेकै अध्यक्ष केपी शर्मा ओलीले पुनः उम्मेद्वारी दिएका छन् ।
इलामको दुई क्षेत्रबाट छुट्टा–छुट्टै उम्मेद्वार बनेका नेकपा एसका नेता झलनाथ खनाल र एमाले नेता सुवास नेम्वाङ पनि निवर्तमान सांसद हुन् । खनाल यसअघि एमालेबाटै निर्वाचित भएका थिए ।
एमाले नेताहरु ताप्लेजुङबाट योगेश भट्टराई, पाँचथरबाट बसन्त नेम्वाङ, मोरङ १ बाट घनश्याम खतिवडा, मोरङ ३ बाट भानुभक्त ढकाल, मोरङ ६ बाट लालबाबु पण्डित, धनकुटाबाट राजेन्द्र राई, तेह्रथुमबाट डा. विजय सुब्बा, संखुवासभाबाट राजेन्द्र गौतम, ओखलढुंगाबाट यज्ञराज सुनुवार र खोटाङबाट उम्मेद्वार बनेका विशाल भट्टराई निवर्तमान सांसद हुन् ।
नेपाली काँग्रेसबाट प्रतिनिधिसभा सांसद भएर पनि उम्मेद्वार पुनः हुनेमा सुनसरी ३, विजयकुमार गच्छदार, सुनसरी २ का सिताराम मेहता, सुनसरी ४ बाट ज्ञानेन्द्रबहादुर कार्की र उदयपुर १ बाट डा.नारायण खड्का रहेका छन् । माओवादी केन्द्रबाट भने मोरङ ४ बाट अमनलाल मोदी, मोरङ ५ बाट शिवकुमार मण्डल र भोजपुरबाट सुदन किराँती पुनः उम्मेद्वार बनेका हुन् ।
प्रदेशबाट ४ जना संघमा फड्किए
यस्तै प्रदेशबाट संघमा टिकट पाएका नेताहरूको संख्या ४ रहेको छ । खोटाङबाट संघीय सांसदमा टिकट पाएका माओवादी नेता रामकुमार राई प्रदेश १ का बाहलवाला सिचाईंमन्त्री हुन् ।
यस्तै एमालेबाट सुनसरीको २ नम्बर क्षेत्रमा टिकट पाएका भीम आचार्य प्रदेश १ का पूर्वमुख्यमन्त्री हुन् । एमालेबाट संघमा टिकट पाएका सुनसरी क्षेत्र नम्बर ४ का जगदिश कुसियैत पनि यसअघिका प्रदेशका सांसद तथा मन्त्री थिए । भोजपुरबाट संघमा टिकट पाएका शेरधन राई प्रदेश १ का संस्थापक मुख्यमन्त्री हुन् ।
प्रदेशमै दोहोर्याउने २८ जना
नेकपा एमालेले प्रदेशसभामा १२ पूर्वसांसदलाई उम्मेद्वार बनाएको छ । झापाको २ (१) का एकराज कार्की, झापा ३ (१) का बसन्त बानियाँ, झापा ५ (१) का हिक्मतकुमार कार्की पूर्वसांसद हुन् ।
यस्तै मोरङको २ (२) का लिलाबल्लभ अधिकारी, मोरङ ४(२) का जीवन घिमिरे, ओखलढुंगा १ का अमिरबहादुर गुरुङ, सोलुखुम्बुका उत्तमकुमार बस्नेत र बुद्धिकुमार राजभण्डारी, तेह्रथुम २ का तेजमान कन्दङ्वा र इलाम २(२) का राम राना प्रदेश १ का निवर्तमान सांसद हुन् । यसअघि प्रदेशसभा सदस्य रहेका धनकुटाका निरन राई धनकुटा १ बाट र इन्द्रमणि पराजुली धनकुटा २ बाट पुनः प्रदेशसभाकै उम्मेदवार बनेका छन् ।
नेपाली काँग्रेसले यसअघि प्रदेश १ काँग्रेस संसदीय दलका नेतासमेत रहेका सुनसरीका राजीव कोइरालालाई सहित ४ जना पुनः प्रदेशसभा सदस्यका लागि उम्मेदवार बनेका छन् । कोइराला सुनसरी २ (२)बाट उम्मेद्वार बनेका छन् ।
यस्तै मोरङको क्षेत्र नम्बर ६ (२)बाट उम्मेद्वारी दिएका केदार कार्की प्रदेश १ का बाहलवाला आन्तरिक मामिला तथा कानूनमन्त्री हुन् । मोरङ क्षेत्र नम्बर ३ (१) बाट उम्मेद्वार बनेका शेखरचन्द्र थापा र उदयपुर क्षेत्र नम्बर १ (२)बाट उम्मेद्वार बनेका हिमाल कार्की पनि प्रदेश १ का बहालवाला मन्त्री हुन् ।
अघिल्लो निर्वाचनमा प्रदेशसभामा निर्वाचित भएर आर्थिक मामिला तथा योजनामन्त्री रहेका माओवादी नेता इन्द्रबहादुर आङ्बोसहित ७ जना प्रदेशसभाका पूर्वसांसदलाई माओवादी केन्द्रले उम्मेदवार बनाएको छ । आङ्बो पुनः पाँचथरको २ बाट उम्मेद्वारी दिएका छन् ।
यस्तै झापाको ३(२)बाट उम्मेद्वार बनेका पूर्णसिंह राजवंशी, झापाको ४ (१)बाट उम्मेद्वार बनेका प्रदेश सरकारका कृषिमन्त्री झलकसिंह दर्लामी पनि प्रदेशसभामा दोस्रो कार्यकालको लागि उम्मेदवार बनेका छन् । मोरङ १ (१) का कुलप्रसाद साम्बा, सुनसरी ३ (१)बाट उम्मेद्वारी दिएकी सरस्वती पोखरेल, धनकुटा २ बाट उम्मेद्वारी दिएकी कुशुमकुमारी श्रेष्ठ, उदयपुर १ (१)बाट नारायण बुर्जा मगर पनि यसअघिका प्रदेश सांसद हुन् । उनीहरुमध्ये पोखरेल र श्रेष्ठ यसअघि समानुपातिक सांसद थिए ।
नेकपा एसबाट प्रदेश १ का बाहलवाला मुख्यमन्त्री राजेन्द्रकुमार राईसहित ४ जना प्रदेशसभाको लागि पुनः उम्मेदवार बनेका छन् । राईले पुनः भोजपुरको १ (१) नम्बर क्षेत्रबाट उम्मेद्वारी दिएका छन् ।
यस्तै मोरङको क्षेत्र नम्बर १(२) बाट उम्मेद्वारी दिएका उपेन्द्रप्रसाद घिमिरे, संखुवासभाको १(२)बाट उम्मेद्वारी दिएकी सरिता थापा खड्का, इलाम १(२) बाट खिनु लङ्वा लिम्बू प्रदेशसभाका निवर्तमान सांसद हुन् । उनीहरुमध्ये घिमिरे र लिम्बू बहालवाला मन्त्री छन् । खड्का यसअघि समानुपातिक सांसद थिइन् ।
यस्तै जनता समाजवादी पार्टीबाट मोरङ क्षेत्र नम्बर ५ (२) बाट उम्मेद्वार बनेका जयराम यादव प्रदेश १ का बहालवाला स्वास्थ्यमन्त्री हुन् । उनी यसअघि सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।

