विराटनगर । १४ जिल्ला रहेको प्रदेश १ मा संघ र प्रदेशको निर्वाचनमा ४ सय ३८ वटा मतदान स्थल ‘अति संवेदनशील’ रहेको सुरक्षा निकायले विश्लेषण गरेको छ ।
स्थानीय तहको निर्वाचनमाभन्दा संघ र प्रदेशको निर्वाचनमा मतदानस्थल बढेसँगै संवेदनशीलस्थलहरू पनि बढेको जिल्ला सुरक्षा निकायले विश्लेषण गरेको हो ।
स्थानीय तहको भन्दा संघ र प्रदेशको निर्वाचनमा प्रदेशमा ९० वटा मतदान स्थल थप गरिएको छ । ९० वटा मतदानस्थल थपिँदा स्थानीय तहको निर्वाचनमाभन्दा संघ र प्रदेशको निर्वाचनमा १ सय १७ वटा मतदान स्थल थप संवेदनशील रहेको सुरक्षा निकायका प्रमुखको विश्लेषण छ ।
स्थानीय तहको निर्वाचनमा प्रदेशमा ४ हजार ५१ वटा मतदान केन्द्र र १ हजार ८ सय ७७ मतदान स्थल रहँदा ३ सय २१ मतदान केन्द्र अति संवेदनशीलमा वर्गीकरण गरिएको थियो ।
जिल्ला सुरक्षा समितिको सिफारिसको आधारमा निर्वाचन आयोगले मतदान स्थललाई ३ तहमा वर्गीकरण गरेको छ । सो वर्गीकरण अनुसार १४ जिल्ला रहेको प्रदेशमा ४ हजार ९९ मतदान केन्द्र र १ हजार ८ सय ९७ मतदान स्थल मध्ये ४ सय ३८ मतदान स्थल अति संवेदनशील वर्गीकरण गरिएको १ नंं प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नविनराज राईले जानकारी दिए । प्रदेशमा ८२४ मतदान स्थल संवेदनशील र ६३५ मतदानस्थल सामान्य रहेको प्रदेश प्रहरीले जनाएको छ ।
प्रदेशको सबैभन्दा बढी झापामा मतदान स्थल ‘अति संवेदनशील’ रहेको छ । झापा पछि मोरङ र सुनसरीको मतदान स्थल सुरक्षा निकायले अति संवेदनशील विश्लेषण गरि सोही अनुसार सुरक्षा रणनीति अपनाएको छ । तराईका जिल्लाहरू भारतसँग सीमा जोडिएको स्थानीय तहहरूको मतदान स्थलहरू सुरक्षा निकायले अति संवेदनशीलमा राखेर सुरक्षा योजना बनाएको जनाएको छ ।
७६६ मतदान केन्द्र र २ सय ८५ मतदान स्थल रहेको झापामा ९५ मतदान स्थल अति संवेदनशील सूचीमा राखेको छ । यस्तै १४४ संवेदनशील र ४६ सामान्य रहेको छ । झापापछि दोस्रोमा सबैभन्दा बढी निर्वाचन क्षेत्र र स्थानीय तह रहेको मोरङमा ५० वटा मतदानस्थल अति संवेदनशील छन् । ८ सय ३९ वटा मतदान केन्द्र र ३ सय ६ वटा मतदान स्थल रहेको मोरङमा संवेदनशील १ सय ४४ र ११२ वटा सामान्य रहेका छन् । मोरङको अति संवेदनशील सूचीमा राखेको मतदान स्थलमध्ये विराटनगरको दक्षिण भेगमा पर्ने ९ वटा मतदान स्थल अति संवेदनशीलमा सुरक्षा निकायले राखेको छ । रंगेली, धनपालथान, रतुवामाइ, सुनवर्षी र केराबारी क्षेत्रको मतदान स्थललाई पनि सुरक्षा निकायले अति संवेदनशील क्षेत्रको पहिचान गरी सुरक्षा योजना अगाडि बढाएको छ ।
५ सय ९१ मतदान केन्द्र र १ सय ६६ मतदान स्थल रहेको सुनसरीमा ५९ अति संवेदनशील, ६५ संवेदनशील र ४२ सामान्य रहेको प्रहरीले जनाएको छ ।
यस्तै धनकुटा १६, उदयपुर २१, इलाम ३६, पाँचथर ३४, भोजपुर ३३, खोटाङ्ग ४०, ओखलढुंगा १३, खोलुखुम्बु ११, संखुवासभा ७ र ताप्लेजुङ्ग २३ मतदानस्थल अति संवेदनशील रहेको छ ।
१४ हजार बढी प्रहरी र २० हजार म्यादी परिचालन
प्रदेश १ मा संघ र प्रदेशकोे निर्वाचनमा १४ हजारभन्दा बढी नेपाल प्रहरी मात्रै खटाइने प्रदेश प्रहरी कार्यालयले जनाएको छ । प्रहरी बाहेक २० हजार म्यादी प्रहरी प्रहरी परिचालन गरिने भएको छ । नेपाल प्रहरी, म्यादी प्रहरी बाहेक सशस्त्र प्रहरी पनि परिचालन हुनेछ ।
सामान्य मतदान स्थलमा ३ प्रहरी र ५ म्यादी, संवेदनशील मतदान स्थलमा ३ प्रहरी र ६ म्यादी परिचालन गर्ने निर्णय गरिएको छ ।
यस बाहेक मोवाइल, प्रोटेल, रिजर्भ टिम, क्यूआरटी टिम पनि प्रहरीले परिचालन गर्नेछ । निर्वाचनमा प्रहरीले ड्रोनको प्रयोग गरेर खबर सङ्कलन तथा निगरानी गर्नेछ । मतगणना स्थल सुरक्षा र इजाजत पत्र प्राप्त निजी हतियार निर्वाचन अवधिभर नजिकको प्रहरी कार्यालयमा सुरक्षित राख्ने जिम्मा प्रहरीलाई दिइएको छ ।
निर्वाचनमा थ्रेट छैनः डिआइजी गिरी
संघ र प्रदेशको निर्वाचनमा प्रदेश १ मा कुनै पनि समूहबाट निर्वाचनमा थ्रेट नभएको १ नंंं. प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख डिआइजी सुदिप गिरीले बताए । निर्वाचनमा संगठित समूहको भन्दा भौगोलिक विकटता, खुला सिमाना र बढी जनघनत्व भएका स्थान सुरक्षा चुनौती हुन सक्ने उनले बताए । ‘धेरै झडप हुने गरेका र सम्भावित झडप हुन सक्ने ठाउँलाई पनि हामीले सुरक्षा चुनौतीको रूपमा हेरेका छौँ,’ उनले भने ।
तराईमा सक्रिय सशस्त्र समूह अहिले चुनाव बिथोल्न सक्ने अवस्थामा छैनन् ।सत्ता गठबन्धन र नेकपा एमालेका बिचमा हुन सक्ने सम्भावित झडपलाई ‘थ्रेट’को रूपमा विश्लेषण गरिएको एकजना उच्च अधिकृतले बताए । ती अधिकृत भन्छन्, ‘गठबन्धन भित्रको आन्तरिक मतभेद पनि थ्रेट हुन सक्छ । तर, यसअघिको निर्वाचनमा जस्तो थ्रेट अहिले छैन ।’

