धनकुटा । जनता समाजवादी पाटीका केन्द्रीय नेता रकम चेम्जोङले प्रदेशसभा सदस्यको उम्मेदवार बनेका छन् । प्रतिनिधि सभा सदस्य पदको उम्मेदवारी दाबी गरेका चेम्जोङलाई गठबन्धन दल नेकपा एमालेले नछोडेपछि प्रदेशसभामा मनोनयन दर्ता गराएका हुन् ।

धनकुटाको विकासका लागि सहि नेतृत्व नपाएकोले आफूले उम्मेदवारी दिएको उनले बताएका छन् । मोरङ र सुनसरीमा मात्र एमालेसँग तालमेल भएकोले प्रदेशसभामा पार्टीको तर्फबाट उम्मेदवार बनेको उनले बताए ।

एमालेसँग चुनावी तालमेल गरेको उक्त पार्टीले प्रदेशसभाको दुवै क्षेत्रमा उमेदवारी दिएको छ । क बाट चेम्जोङ छन् भने ख बाट डम्बर कटुवालले उम्मेदवारी दिएका छन् ।

प्रदेश सभा ख मा राप्रपा नेपालबाट सोमबहादुर घिसिङ तामाङ, मंगोल नेशनल अर्गनाइजेशनबाट विष्णु विक्रम राई, राप्रपाबाट श्यामकुमार गुरुङ, स्वतन्त्रको रुपमा जितेन्द्र राई, वालावन्द दाहाल लगायतले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै प्रदेश सभा क मा राप्रपा नेपालबाट योगेन्द्र आलेले पनि उम्मेदवारी दर्ता गराएका छन् ।