काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य प्रभु साहले पार्टीको टिकट अस्वीकार गर्दै स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
पार्टीविरोधी जनता समाजवादी पार्टीसँग गठबन्धन गरेको र आफूले पार्टी प्रवेश गराएका नेताहरुलाई उम्मेदवार नबनाएको विरोधमा साहले रौतहट ३ मा स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।
साहको टिमले तालमेलबाट जनता समाजवादी पार्टीको भागमा परेका सबै क्षेत्रमा स्वतन्त्र उम्मेदवारी दिएको छ । एमालेले टिकट दिएपनि साहले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् । नेकपा विभाजनपछि माओवादी केन्द्र छाडेर एमालेमा रहेका साहले आफूसँगै पार्टी प्रवेश गरेका अन्य नेताहरूलाई एमालेले टिकट नदिएको भन्दै स्वतन्त्र उम्मेदवार बनेका हुन् ।
टिकट दिने वाचासहित नेता साहले आफूसँगै विभिन्न पार्टीबाट भित्र्याएका थिए । तर, तीनलाई एमालेले टिकट नदिएपछि साहले स्वतन्त्र उम्मेदवारी दिएका हुन्। ‘जायज कामका लागि स्वतन्त्र उम्मेदवारी दिएर मैले ठूलो जोखिम मोलेको छु’, उनले भने, ‘जनताले के चाहेका छन् भनेर हामीले टेस्ट गर्न चाहेका छौँ। रौतहटको तागत के हो चुनावमै थाहा हुन्छ।’
साहको टिमबाट रौतहटको क्षेत्र नम्बर ३ (१) मा केशव राय चौधरी उम्मेदवार बनेका छन् । उनी केही समयअघि नेकपा एसबाट एमाले प्रवेश गरेका थिए । सोही क्षेत्रको प्रदेशसभा २ मा कुन्दन कुशवाहले उम्मेदवारी दर्ता गराएका छन् ।
क्षेत्र नम्बर २ को प्रतिनिधिसभामा किरण शाहले उम्मेदवारी दर्ता गराएका छन् । उनी जसपा त्यागेर केहि समय अगाडि एमालेमा प्रवेश गरेका थिए । यस्तै क्षेत्र नं. २ को प्रदेशसभाा २ मा राजन यादव उम्मेदवार बनेका छन् । क्षेत्रत्र नम्बर १ को (२) साह समूहबाट राजेश चौधरी उम्मेदवार बनेका छन् । उनी काँग्रेस छाडेर साहकै पहलमा एमाले प्रवेश गरेका थिए ।

