विराटनगर । टिकट वितरणमा असन्तुष्टिको कारण नेकपा एमाले मोरङमा भाँडभैलो मच्चिएको छ ।

पार्टीका स्थानीय नेता तथा कार्यकर्ताको चाहना विपरित मनमौजी उम्मेदवार चयन गरेको भन्दै नेता तथा कार्यकर्ताले धमाधम राजीनामा दिइरहेका छन् ।

टिकट वितरणप्रति असन्तुष्ट रहेका प्रदेश कमिटि सचिबालय सदस्य तथा संगठन विभाग प्रमुख रामकुमार बस्नेतसहित चार प्रदेश कमिटि सदस्य तथा अर्का जिल्ला कमिटि सदस्यले पनि पार्टी छाडेका छन् । बस्नेतसहित प्रदेश कमिटि सदस्यहरु प्रतापकुमार थापा, मधु गुरुङ, राजकुमार बस्नेत र जिल्ला कमिटि सदस्य सचिबालय सदस्य गिता सिवाले पनि पार्टी परित्याग गरेका छन् ।

क्षेत्र नम्बर ३ (१) मा दिलिपकुमार राई र ३ (२) मा ज्ञानेन्द्र सुवेदीले टिकट पाएका थिए । ३(१) मा पथरीका रामकुमार बस्नेत दावेदार थिए भने ३(२) मा डाँगीहाटका राजकुमार बस्नेत दाबेदार थिए ।

अपमानित भएर पार्टीमा बस्नुभन्दा विद्रोह गर्नु उपयुक्त देखेकोले पार्टी छाडेको उनीहरुले बताएका छन् । उनीहरुले अन्य कार्यकतालाई पनि विद्रोहमा सामेल हुन अपिलसमेत गरेका छन् ।

एमाले मोरङका पुराना नेता बस्नेत अनेरास्ववियुका उपाध्यक्ष भइसकेका नेता हुन् । उनी यसअघि शेरधन राई मुख्मन्त्री रहँदा जनसम्पर्क सल्लाहकार थिए । पार्टी परित्याग गर्ने राजकुमार बस्नेत तत्कालिन डाँगीहाट गाविसका अध्यक्ष भइसकेका नेता हुन् ।

यसअघि एमालेका जिल्ला सचिव रुपेश खतिवडाले उम्मेदवार चयनमै असन्तुष्टि जनाउँदै राजीनामा दिइसकेका छन् । यस्तै प्रदेश कमिटि सचिबालय सदस्य डिल्लीराम अधिकारी र अर्का नेता मेघराज कट्टेलले पनि पार्टी परित्याग गरेका छन् ।

एमालेबाट क्षेत्र नं। ५ मा एकल उम्मेदवार सिफारिस भएपनि टिकटबाट बञ्चित भएका योगेन्द्र मण्डलले पनि पार्टी परित्याग गर्दै स्वतन्त्र उम्मेदवारी दिएका छन् ।