विराटनगर । प्रदेश नं. १ सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले प्रदेशसभा सदस्यको लागि पाँचथरबाट उम्मेदवारी दर्ता गरेका छन् ।
माओवादी केन्द्रका पोलिटब्युरो सदस्य रहेका आङ्बोले सत्तारुढ गठबन्धनबाट प्रदेशसभा २ बाट उम्मेदवारी दर्ता गरेका हुन् ।
आङ्बो २०७४ को निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए । प्रदेश सरकारको शक्तिशाली आर्थिक मामिला मन्त्रीमा ४ वर्षभन्दा धेरै समय काम गरेर स्थापित तथा लोकप्रिय बनेका छन् ।
भावी मुख्यमन्त्रीको रुपमा हेरिएका आङ्बोले प्रदेशसभामा उम्मेदवारी दर्ता गर्दा गठबन्धनबाट प्रतिनिधिसभामा नेपाली काँग्रेसका सहमहामन्त्री भिष्मराज आङ्दम्बेले उम्मेदवारी दर्ता गरेका छन् । यस्दै प्रदेशसभा १ बाट नेकपा एकीकृत समाजवादीका कमलप्रसाद जवेगुको उम्मेदवारी दर्ता भएको छ ।
पाँचथरबाट नेकपा एमालेले प्रतिनिधिसभामा बसन्त नेम्बाङलाई उम्मेदवार बनाएको छ । उनी निवर्तमान सांसद हुन् । यस्तै प्रदेशसभामा क्रमशः राजकुमार भण्डारी र अइन्द्रसुन्दर नेम्बाङ उम्मेदवार बनेका छन् ।

