विराटनगर । सत्तारुढ गठबन्धन छाडेर नेकपा एमालेसँग चुनाबी तालमेल गरेको जनता समाजवादी पार्टीलाई नेकपा एमालेले धोका दिएको छ ।

एमालेले जसपाको भागमा परेको मोरङको २ वटा प्रदेशसभा निर्वाचन क्षेत्रमा आफ्नै उम्मेदवारी दिने भएको छ ।

मोरङका प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ५ तथा प्रदेशसभाको ४(२), ५(२) र ६(२) जसपालाई दिने र अन्य क्षेत्रमा जसपाले एमालेलाई सहयोग गर्ने सहमति दुई पार्टीबीच भएको थियो । तर, मोरङको क्षेत्र नं. ४(२) मा एमाले अध्यक्ष केपी ओलीले जीवन घिमिरेलाई उम्मेदवारी दर्ताको पत्र दिएका छन् भने ६(२) मा पर्शुराम बस्नेतलाई पनि पत्र दिएका छन् ।

एमाले–जसपा गठबन्धनबाट ४(२) मा सञ्जय सिंह र ६(२) बाट राजेन्द्र गुप्ता उम्मेदवार बन्ने तयारी थियो । तर, जसपाको उम्मेदवारी दर्ता नहुँदै एमालेबाट दुबै क्षेत्रमा उम्मेदवारी दर्ताको तयारी भएको छ ।

एमाले विराटनगर महानगर समितिका सदस्य सागर थापाले दुबै क्षेत्रको लागि एमालेकै उम्मेदवारको टिकट पार्टीले पठाएको जानकारी दिए । जसपासँग नयाँ समझदारी भएर टिकट आएको हुनसक्ने उनको भनाइ छ ।

उता मोरङको क्षेत्र नं. ५(२) बाट उम्मेदवार बन्न लागेका जसपाका नेता जयराम यादवले भने भागबण्डा र सहमति अनुसार उम्मेदवार दर्ता हुनुपर्ने बताउँदै आफूहरु त्यसमा प्रतिबद्ध रहेको बताएका छन् । एमालेले सहमति विपरित उम्मेदवारी दिएमा त्यसबारे छलफल हुने उनको भनाइ छ ।

यसअघि एमालेका जिल्ला सचिव रुपेश खतिवडाले राजीनामा दिइसकेका छन् भने प्रदेश कमिटि सचिबालय सदस्य डिल्लीराम अधिकारीले पनि पार्टी परित्याग गरेका छन् । यस्तै एमालेबाट क्षेत्र नं. ५ मा एकल उम्मेदवार सिफारिस भएपनि टिकटबाट बञ्चित भएका योगेन्द्र मण्डलले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् ।