विराटनगर । प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनमा उम्मेदवारीको विषयलाई लिएर मोरङमा देखिएको चर्को विवाद मिलाउन नेपाली काँग्रेस सफल भएको छ ।
यस पटक पनि उम्मेदवारी पाउने सम्भावना कमजोर देखेपछि पार्टी सभापतिविरुद्ध खरो उत्रिएका नेताहरुको अधिकतम व्यवस्थापन गरेर काँग्रेसले उम्मेदवारी टुंग्याएको हो । कूल ६ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्रमध्ये चार र १२ प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये सात वटामा काँग्रेसले आफ्ना उम्मेदवारहरु प्रतिस्पर्धामा उतार्दै छ ।
प्रतिनिधि सभा तर्फ डा. मिनेन्द्र रिजाल र डिला संग्रौलाको व्यवस्थापन मिलाउन नसकेपनि बाँकी नेताहरुलाई समेटेर मंसिर ४ गतेको निर्वाचनमा गठबन्धनको नेतृत्व गर्दै काँग्रेस अगाडि बढेको छ ।
नेपाली काँग्रेसले मोरङ क्षेत्र नम्बर १ बाट जिल्ला सभापति डिगबहादुर लिम्बूलाई प्रतिनिधि सभाका लागि उम्मेदवार बनाएको छ । उक्त निर्वाचन क्षेत्र अन्तरगत प्रदेशसभाको (क) तर्फ नेकपा माओवादी केन्द्र र (ख) तर्फ नेकपा एकीकृत समाजवादीलाई छोडेको छ ।
यस्तै मोरङ क्षेत्र नम्बर २ बाट काँग्रेस नेतृ तथा पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला पुत्री सुजता कोइरालालाई उम्मेदवार बनाएको छ । काँग्रेस नेता डा. मिनेन्द्र रिजाल टिकटको आकांक्षी भएपनि काँग्रेसले कोइरालालाई अगाडि सारेको हो । उक्त निर्वाचन क्षेत्र अन्तरगत प्रदेशसभा (क) नेकपा माओवादी केन्द्रको भागमा परेको छ भने (ख) मा काँग्रेसका विनोद कार्कीलाई उम्मेदवार बनाएको छ ।
मोरङ क्षेत्र नम्बर ३ बाट काँग्रेसले मेडिकल कलेज सञ्चालक डा. सुनिल शर्मालाई प्रतिनिधि सभाका लागि उम्मेदवार बनाएको छ । प्रदेशसभाको (क) तर्फ प्रदेश सरकारका वन तथा वातावरण मन्त्री शेखरचन्द्र थापालाई उम्मेदवार बनाएको छ । प्रदेशसभाको (ख) तर्फ नेकपा एकीकृत समाजवादीले उम्मेदवारी दिनेछ ।
यसैगरी मोरङको ४ नम्बर निर्वाचन क्षेत्र नेकपा माओवादी केन्द्रलाई छोडेर दुइवटै प्रदेशसभा निर्वाचन क्षेत्र लिएको काँग्रेसले नेता गुरुराज घिमिरे र विराटनगर महानगरपालिकाका पूर्व मेयर भीम पराजुलीलाई उम्मेदवार बनाएको छ । घिमिरे प्रदेशसभा (क) बाट उम्मेदवार बन्ने छन् भने पराजुलीले प्रदेशसभा (ख)मा उम्मेदवारी दिनेछन् ।
क्षेत्र नम्बर ५ मा पनि काँग्रेसले प्रतिनिधि सभा नेकपा माओवादी केन्द्रलाई छोडेर प्रदेशसभा तर्फ दुवै क्षेत्र आफूले लिएको छ । प्रदेशसभा निर्वाचन क्षेत्र (क) बाट काँग्रेसले गयानन्द मण्डललाई उम्मेदवार बनाउँदै छ भने (क) बा केन्द्रीय सदस्य अमृत अर्याललाई टिकट दिएको छ ।
नेपाली काँग्रेसका केन्द्रीय सभापतिको प्रतिस्पर्धि डा. शेखर कोइराला मोरङको ६ नम्बर क्षेत्रबाट प्रतिनिधि सभाका लागि चुनाव लड्दैछन् । उक्त निर्वाचन क्षेत्र अन्तरगत प्रदेश (क) नेकपा माओवादी केन्द्रको भागमा परेको छ । प्रदेश निर्वाचन क्षेत्र (ख) मा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्की उम्मेदवार बन्ने भएका छन् ।
गठबन्धनको विषयलाई लिएर पार्टी नेतृत्वको चर्को विरोध गर्दै विपक्षमा उभिएका डा. कोइराला, युवा नेता गुरुराज घिमिरे तथा संघीयताकै विरुद्धमा प्रेस विज्ञप्ति जारी गर्दै हिडेका पूर्व मेयर भीम पराजुली र पार्टीमा राम्रो पकड भएर पनि टिकट हातपार्न नसक्ने अवस्थामा पुगिसकेका केन्द्रीय सदस्य अमृत अर्यालसम्मलाई काँग्रेसले उम्मेदवार बनाएर आन्तरिक व्यवस्थापन मिलाएको छ । काँग्रेसले टिकटका आकांक्षी रहेका पूर्व मन्त्री महेश आचार्य, नेता डा. मिनेन्द्र रिजाल, डा. डिला संग्रौला र प्रदेशसभा संसदीय दलका पूर्व प्रमुख सचेतक सुयर्माराज राईलाई भने संसदीय निर्वाचनमा समेट्न सकेन । यद्यपि पार्टी भित्रको चर्को विरोध र असन्तुष्टिलाई भने राम्रैसँग मत्थर गर्न सफल भएको काँग्रेस नेताहरुले बताएका छन् ।

