विराटनगर । उम्मेदवार चयनको किचलोको कारण नेकपा एमालेका अध्यक्ष केपी ओलीको गृहजिल्ला झापाका एमाले नेता हरिकुमार रानाले पार्टी परित्याग गरि नेकपा माओवादी केन्द्रको उम्मेदवार बनेका छन् ।

एमाले प्रदेश कमिटि सचिबालय सदस्य तथा अर्जुनधारा नगरपालिकाका निवर्तमान प्रमुख रानाले एमाले परित्याग गरि झापा २ मा गठबन्धनको तर्फबाट उम्मेदवार बन्ने भएका हुन् ।

माओवादी केन्द्रले झापा २ को उम्मेदवारी रानालाई दिएको छ । यसअघि सो क्षेत्रमा माओवादी केन्द्रबाट नेतृ धर्मशीला चापागाइँ उम्मेदवार बन्ने चर्चा थियो । एमालेमा प्रदेश सांसदको दाबेदार रहेका लोकप्रिय नेता रानालाई १० बुँदे सहमति पक्षधर भएकै कारण उम्मेदवारीबाट एमालेले बञ्चित गरेको थियो ।

राना एमालेबाट शनिश्चरे गाविसको दुई पटक अध्यक्ष बनेका थिए । अर्जुनधारा नगरपालिकाको प्रमुख पनि भइसकेका हुन् । सो क्षेत्रमा उनी निष्ठावान नेताका रुपमा चिनिन्छन् ।

पार्टीका झापा इञ्चार्ज अग्नि खरेलले रानालाई पुनः नगरपालिकाको प्रमुख वा प्रदेश सांसदमध्ये एउटा दिने प्रतिबद्धता जनाएर एमालेमै राखेका थिए । झापा २ को प्रतिनिनिधिसभामा उठ्न चाहेका खरेल आफैं झापा १ को उम्मेदवार भएका छन् । जसको कारण १० बुँदे पक्षधर रविन कोइराला झापा १ बाट विस्थापित भएका छन् । झापा २ मा भने एमालेले देवराज घिमिरेलाई उम्मेदवार बनाएको छ ।

एमालेले प्रदेशसभा १ मा एकराज कार्की र प्रदेशसभा २ मा चिन्तन पाठकलाई उम्मेदवार बनाएको छ ।