विराटनगर । नेकपा एमालेको निर्देशनमा लामो समयदेखि चुनाबी तयारीमा लागेको योगेन्द्र मण्डलले मोरङ क्षेत्र नम्बर ५ बाट स्वतन्त्र उम्मेदवारी दिने भएका छन् ।

पार्टीले एकल उम्मेदवार सिफारिस गरेपछि चुनाबी अभियानमा रहेका मण्डलको टिकट खोसेर एमालेले जनता समाजवादी पार्टीलाई सो क्षेत्र दिएपछि मण्डलले बागी उम्मेदवारी दिने भएका हुन् ।

जीवन विकास समाजका संस्थापक मण्डलले मोरङ क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने तयारी लामो समयदेखि गरिरहेका थिए । नेकपा एमालेले पनि उनलाई उम्मेदवार बनाउने आश्वासन दिएपछि उनी त्यसको लागि राम्रै लगानीसमेत गरेका थिए । तर, अन्तिममा टिकट नपाएपछि उनले स्वतन्त्र उम्मेदवारी दिने भएका हुन् ।

‘म स्वतन्त्र उम्मेदवारी दिन्छु,,’ उनले भने,‘ जनताको घरदैलोमा जान्छु ।’
आफ्ना समर्थकको माग अनुसार उम्मेदवार बन्ने निर्णयमा पुगेको उनले बताए । ‘जनताले विकल्प खाजेका छन्,’ उनले भने, ‘जनतालाई विकल्प दिन म उम्मेदवारी दिन्छु ।’

जसपासँग गठबन्धन गर्दा नेकपा एमालेले मोरङ क्षेत्र नम्बर ५ छाडेको छ । सो क्षेत्रमा जसपा मोरङ अध्यक्ष राजकुमार यादवले टिकट पाएका छन् ।

क्षेत्र नम्बर ५ मा सत्तारुढ गठबन्धनबाट माओवादी केन्द्रका नेता शिवकुमार मण्डलले टिकट पाएका छन् । उनी निवर्तमान सांसद पनि हुन् ।