विराटनगर । प्रदेश १ का २८ निर्वाचन क्षेत्रमा तीन ठूला दलका २२१ जना आकांक्षी थिए । तर, दलका थुप्रै नेताहरू टिकट पाउने समयमा भने रिङबाट आउट भएका छन् ।

यसअघि निर्वाचन जितेका काँग्रेसका नेताहरु मात्रै होइन एमाले र माओवादीका पनि केही नेता यस पटकको निर्वाचनमा उम्मेद्वार बन्नबाट बञ्चित भएका छन् । उम्मेद्वार हुँ भन्दै प्रचारमा खटिएएका नेताहरु पनि ब्याक हुुनपरेको छ ।

ताप्लेजुङबाट माओवादी केन्द्रका नेता खेलप्रसाद बुढाथोकीले भागबण्डाबाट टिकट पाउने भएपछि सिफारिसमा परेका नेपाली काँग्रेसका नेता गजेन्द्रप्रसाद तुम्मेहाङ र मणि लामा रिङ आउट भए । यस्तै पाँचथरबाट काँग्रेस नेता भीष्मराज आङ्देम्बेले टिकट पाएपछि गठबन्धन दल माओवादी केन्द्रका प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ मिक्सो पनि चुनावी प्रतिस्पर्धाबाट वञ्चित भएका छन् ।
एमालेले आफ्नै नेता व्यवस्थापन गर्न नसक्दा झापाको १ नम्बर निर्वाचन क्षेत्रबाट एकल सिफारिसमा परेका रविन कोइराला संघबाट आउट भएका छन् । यद्यपि उनलाई प्रदेशको टिकट दिइएको छ ।

सो क्षेत्रबाट यसअघि विजयी बनेका माओवादी केन्द्रका नेता राम कार्की (पार्थ)भने गठबन्धनबाट काँग्रेसको भागमा पर्दा आउट भएका छन् । सो क्षेत्रमा गठबन्धन दलको तर्फबाट काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा उम्मेद्वार बन्दैछन् । एमालेका तर्फबाट भने झापा इञ्चार्ज अग्नि खरेल उम्मेदवार बन्दैछन् ।

यस्तै झापाको क्षेत्र नम्बर २ माओवादीको भागमा परेपछि काँग्रेस नेता केशव कुमार बुढाथोकी, सरिता प्रसाई, सुधिर सिवाकोटी आउट भएका छन् । यस्तै झापाको क्षेत्र नम्बर ३ मा राप्रपाको भागमा परेपछि एमालेबाट टिकटको दाबेदार रहेका दुर्गा प्रसाईलगायत आउट भएका छन् ।
संखुवासभा काँग्रेसको भागमा गएपछि माओवादी केन्द्रका केन्द्रीय सदस्य राजेन्द्रकुमार कार्की यसपटक पनि उम्मेद्वार बन्नबाट वञ्चित भएका छन् । सो क्षेत्रमा काँग्रेसले दीपक खड्कालाई उम्मेद्वार बनाएको छ भने एमालेले राजेन्द्रप्रसाद गौतमलाई उठाएको छ । सोही ठाउँका एमाले प्रदेश अध्यक्ष तुलसी प्रसाद न्यौपाने पनि चुनावी दौडबाट ब्याक सरेका छन् ।

धनकुटामा गठबन्धनबाट काँग्रेसले टिकट पाउँदा माओवादीका नेता हेमराज भण्डारी रिङआउट भएर स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरेका छन् । एमाले जसपा गठबन्धनबाट टिकट पाउने आशामा रहेका रकम चेम्जोङले संघमा प्रतिस्पर्धा गर्न नपाउँदा एमालेका राजेन्द्र राईका लागि भने टिकट सुरक्षित भएको छ ।

उता, भोजपुर माओवादीको भागमा गर्दा काँग्रेस नेता उमेशजंग रायमाझीलगायत संघको टिकट पाउन वञ्चित भएका छन् । मोरङ १ मा एमालेले घनश्याम खतिवडालाई टिकट दिँदा एमाले नेतृ तथा पूर्व उपसभामुख शिवमाया तुम्वाहाम्फे रिङआउट भएकी छिन् ।

मोरङको क्षेत्र नम्बर ३ बाट काँग्रेसको भागमा परेसँगै माओवादी केन्द्रका नेता सावित्रीकुमार काफ्ले चुनावी दौडबाट बाहिरिएका छन् । मोरङको क्षेत्र नम्बर ४ माओवादीको भागमा पर्दा काँग्रेसका नेताहरु महेश आचार्य र गुरुराज घिमिरे संघीय संसदको चुनावी दौडमा नरहने भएका छन् । सो क्षेत्रबाट माओवादी केन्द्रले अमनलाल मोदीलाई उम्मेद्वार बनाउने भएको छ । एमालेले भने उक्त क्षेत्रमा विनोद ढकाललाई उम्मेद्वार बनाएको छ ।

मोरङ ४ कै सोही क्षेत्रको प्रदेश (१)बाट सांसद जितेका माओवादी नेता विजय विश्वास र एमालेबाट प्रदेश (२) मा सांसद जितेका जीवन घिमिरे पनि गठबन्धनका कारण रिङबाट आउट भएका छन् । एमालेले प्रदेश (२) मा जसपालाई दिएको छ । उक्त क्षेत्रमा जसपाका सञ्जय सिंह उम्मेद्वार बन्ने भएका छन् । ४(१) सत्तारुढ गठबन्धनबाट काँग्रेसको भागमा परेको छ ।

यस्तै मोरङको क्षेत्र नम्बर ५ बाट एमालेले एकल उम्मेद्वारको रुपमा सिफारिस गरेका योगिलाल मण्डलल जसपासँगको गठबन्धनसँगै उम्मेद्वार बन्न नपाउने भएका छन् । सो क्षेत्रमा जसपाले राजकुमार यादवलाई उठाउने र एमालेले सघाउने सहमति भएको छ । सत्ता गठबन्धनको भागबण्डामा माओवादी केन्द्रलाई परेको उक्त क्षेत्रबाट नेता शिवकुमार मण्डल उम्मेद्वार बन्दा काँग्रेस केन्द्रीय सदस्य अमृत अर्याल आउट भएका छन् ।
निर्वाचन क्षेत्र ६(२)मा उम्मेद्वारको रुपमा प्रचारित एमाले नेता पर्शुराम बस्नेत जसपासँगको गठबन्धनको कारण पछाडि सर्नुपरेको छ । सो क्षेत्रमा एमालेले जसपका राजेन्द्र गुप्तालाई समर्थन गर्नेछ ।

यस्तै सुनसरीको निर्वाचन क्षेत्र १ जसपाको पोल्टामा गएपछि एमाले नेता जयकुमार राई सांसदको दौडमा नहुने भएका छन् । जसपाले अशोक राईलाई उक्त क्षेत्रमा उम्मेद्वार बनाउँदैछ । यता, सो क्षेत्रबाट माओवादी केन्द्रका नेता मुक्साहाङ मेन्याङ्बोले टिकट पाउने भएका छन् । सो क्षेत्रका आकांक्षी काँग्रेस नेता मिन विश्वकर्मा पनि यस पटक उम्मेद्वार बन्न नपाउने भएका छन् ।

सोलुखुम्बुमा काँग्रेस नेता बलबहादुर केसीले पाउने सम्भावना बढेसँगै माओवादी केन्द्रका निवर्तमान सांसद हेमकुमार राई (सुरवीर)ले टिकट नपाउने भएका छन् । उदयपुर २ नम्बर क्षेत्रबाट यसअघि सांसद जितेका माओवादी नेता सुरेशकुमार राईले पनि यस पटक उम्मेद्वार बन्न नपाउने भएका छन् । उनको क्षेत्रमा नेकपा एसका नेता जगन्नाथ खतिवडाले टिकट पाउने भएका हुन् । सो क्षेत्रमा एमालेले भने ज्ञानेन्द्र श्रेष्ठलाई उम्मेद्वार बनाएको छ ।