नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्रले १२ बजे र एमाले १ः३० बजे मनोनयन दर्ता गर्ने

विराटनगर । प्रदेश निर्वाचन कार्यालय प्रदेश नं. १ ले प्रतिनिधिसभा र प्रदेशसभाको आगामी मंसिर ४ गते हुने निर्वाचनको मनोनयन दर्ताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । मोरङका ६ वटा संघीय निर्वाचन क्षेत्र र १२ प्रदेश निर्वाचन क्षेत्रको निर्वाचन कार्यालयमा आइतबार मनोनयन दर्ता हुने छन् ।

मोरङका ६ वटा संघीय निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृतको कार्यालय बिहीबार नै स्थापना गरिसकिएको छ । जसअनुसार निर्वाचन क्षेत्र १ का लागि उर्लाबारी, २ का लागि रतुवामाई, ३ को बेलबारी, ४ विराटनगर हृदयेश बाल उद्यान, ५ को सुनसरी–मोरङ सिंचाई आयोजना र ६ का लागि जिल्ला समन्वय समितिको कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय राखिएको छ ।

नेकपा एमाले १ः३० बजेपछि मनोनयन दर्ता गर्ने भएको छ । मोरङ जिल्लाभरी एकै समयमा एमालेका उम्मेदवारहरूले सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनय दर्ता गर्ने नेकपा एमाले मोरङका अध्यक्ष ऋषिकेश पोखेरलले जानकारी दिए ।

यसैगरी नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले १२ बजेको समय निर्वाचन अधिकृतको कार्यालयसँग लिएका छन् । एमालेभन्दा अगाडि सत्तारुढ गठबन्धनका काँग्रेस, माओवादी र एकीकृत समाजवादी पार्टीका उम्मेदवारहरूले उम्मेदवारी दर्ता गराउने तयारी गरेका छन् । जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवारहरूले भने २ बजेपछि मनोनयन दर्ता गर्नेछन् । जसपाले एमालेसँग गठबन्धन गरेको छ ।

प्रदेश निर्वाचन आयोग कार्यालयका प्रमुख लेवन कश्यप अधिकारीले स्थानीय तहको जस्तो प्रदेश र संघको निर्वाचनमा उम्मेदवारी दिनेको भिड धेरै नहुने भएकोले सहज रूपमा मनोनयन दर्ता हुने बताए । ‘६ वटै निर्वाचन अधिकृतको कार्यालयहरू स्थापना भइसकेको छ,’ उनले भने, ‘१० देखि ५ बजेसम्म मनोनयनको समय रहेको छ । समय सीमाभित्र मनोनयन दर्ता गरिसक्ने गरी सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा कर्मचारीहरू तयारी अवस्थामा रहेका छन् ।’

निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सम्पूर्ण सुरक्षा प्रबन्ध मिलाइएको अधिकारीले बताए । निर्वाचन विथोल्ने प्रयासलाई निस्तेज पार्नका निम्ति सुरक्षा संवेदनशीलताका आधारमा मतदान केन्द्रको वर्गीकरण गरिएको उनको भनाइ छ ।

निर्वाचन कार्यतालिका अनुसार २३ गते मनोनयन दर्ता र सूची प्रकाशन, २५ गते अन्तिम नामावली प्रकाशन, २६ गते मनोनयन फिर्तापछि पुनः अन्तिम नामावली प्रकाशन गरिनेछ ।

आइतबार, २३ असोज, २०७९, बिहानको ०८:१२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर