विराटनगर । आगामी मंसिर ४ गते हुन लागेको आम निर्वाचनका लागि राजनीतिक दलहरुले संघ र प्रदेशका उम्मेदवार लगभग टुंग्याएर मनोनयन दर्ताको अन्तिम तयारीमा जुटेका छन् ।
आसन्न निर्वाचनमा कसैसँग गठबन्धन नगरी निर्वाचनमा जाने भन्दै आएको नेकपा एमालेले जनता समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीसँग गठबन्धन गरेको छ । देशको सबैभन्दा ठूलो पार्टी एमाले नेतृत्वको गठबन्धनसँग सत्ता गठबन्धनमा आवद्ध नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले प्रदेश १ मा प्रतिस्पर्धा गर्ने भएको छ ।
यद्यपि सत्ता गठबन्धन दलको तर्फबाट केही निर्वाचन क्षेत्रमा तालमेलको टुंगो लागिसकेको छैन । यस्तै एमाले–जसपा–राप्रपा गठबन्धनको भने उम्मेद्वारको टुंगो लागिसकेको बताइएको छ ।
तेह्रथुममा सत्ता गठबन्धन दलको तर्फबाट सीता गुरुङ (काँग्रेस) प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्ने भएकी छन् भने विपक्षी गठबन्धनबाट विजय सुब्बा (एमाले) उम्मेदवार बन्ने भएका छन् । यस्तै पाँचथरमा सत्ता गठबन्धनबाट काँग्रेसका भीष्मराज आङ्देम्बे र विपक्षी गठबन्धनबाट एमालेका बसन्त नेम्वाङबीच प्रतिस्पर्धा हुने भएको छ । यस्तै धनकुटामा काँग्रेसबाट सुनिल थापासँग एमालेका राजेन्द्र राईले प्रतिस्पर्धा गर्ने निश्चित भएको छ । यता संखुवासभामा काँग्रेसले दीपक खड्कालाई उम्मेदवार बनाउँदा एमालेले निवर्तमान सांसद राजेन्द्र गौतमलाई नै टिकट दिने निर्णय गरेको छ ।
ओखलढुंगामा भने काँग्रेसले रामहरि खतिवडालाई टिकट दिएको छ । एमालेले भने निवर्तमान सांसद यज्ञराज सुनुवारलाई उम्मेदवार बनाउने भएको छ । यता, खोटाङमा एमालेका नेता विशाल भट्टराई र माओवादी नेता रामकुमार राईबीच प्रतिस्पर्धा हुने देखिएको छ । सोलुखुम्बुबाट गठबन्धन दलबाट नेपाली काँग्रेसका बलबहादुर केसीले विपक्षी गठबन्धनबाट एमालेका मानवीर राईसँग प्रतिस्पर्धा गर्ने भएका छन् । सोलुखुम्बुको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नेकपा माओवादी केन्द्रको भागमा परेको भएपनि काँग्रेस भित्रको अन्तरविरोध समाधान गर्न माओवादीले छोडेको हो । अब माओवादीले सोलुखुम्बुकाु दुवै प्रदेशसभा निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने छ भने बदलामा मोरङ क्षेत्र नम्बर ६ (ख) पनि लिने छ ।
यस्तै ताप्लेजुङमा एमालेबाट योगेश भट्टराई र गठबन्धनबाट माओवादीका नेता खिलप्रसाद बुढाथोकी (पराग)ले प्रतिस्पर्धा गर्ने भएका छन् । इलामको क्षेत्र नम्बर १ मा नेकपा (एस)का झलनाथ खनालले विपक्षी गठबन्धनका एमाले नेता महेश बस्नेतसाग प्रतिस्पर्धा गर्नेछन् ।
इलामको २ नम्बर क्षेत्रमा विपवक्षी गठबन्धनबाट एमाले नेता सुवासचन्द्र नेम्वाङले प्रतिस्पर्धा गर्नेछन् । उनीसँग सत्ता गठबन्धनको तर्फबाट नेपाली काँग्रेसले उम्मेदवारी दिनेछ । शनिबार अबेरसम्म उम्मेदवारी टुंगो लागिसकेको छैन ।
यस्तै झापा १ मा काँग्रेसका विश्वप्रकाश शर्मा र एमालेका अग्नि खरेल, झापा २ मा एमालेका देवराज घिमिरे र माओवादी केन्द्रबाट धर्मशीला चापागाईं, झापा ३ मा काँग्रेसका कृष्णप्रसाद सिटौला र राप्रपाका राजेन्द्र लिङ्देन, झापा ४ काँग्रेसका देउमान थेबे र एमालेका एलपी साँवाबीच प्रतिस्पर्धा हुने भएको छ । झापा ५ मा विपक्षी गठबन्धनका नेता एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनमा रहेको नेपाली काँग्रेसका उम्मेदवारसँग प्रतिस्पर्धा गर्नेछन् ।
यता प्रदेशको सबैभन्दा धेरै निर्वाचन क्षेत्र रहेको मोरङमा पनि गठबन्धन दल काँग्रेसले केही ठाउँमा उम्मेदवार फाइनल गरेको छैन । हालसम्म प्राप्त जानकारी अनुसार मोरङको निर्वाचन क्षेत्र १ मा काँग्रेसबाट डिकबहादुर लिम्बू र एमालेबाट घनश्याम खतिवडाबीच प्रतिस्पर्धा हुने भएको छ । क्षेत्र नम्बर २ मा भने एमालेबाट ऋषिकेश पोखरेलले काँग्रेसका सुजता कोइराला र डाक्टर मिनेन्द्र रिजालमध्ये एकजनासँग प्रतिस्पर्धा गर्नेछन् ।
यस्तै मोरङ ३ मा काँग्रेसबाट एकल प्रस्ताव भएका डाक्टर सुनिल शर्माले एमालेका भानुभक्त ढकालसाग प्रतिस्पर्धा गर्ने छन् । यद्यपि शर्माको टिकट निश्चित भइसकेको छैन । सो क्षेत्रमा राप्रपाले रेखा थापालाई उम्मेदवार बनाउने भएको छ । मोरङ ४ मा माओवादी केन्द्रका नेता अमनलाल मोदीसँग एमाले नेता विनोद ढकालले प्रतिस्पर्धा गर्ने भएका छन् ।
मोरङ ५ मा माओवादी नेता शिवकुमार मण्डल र जसपाका नेता राजकुमार यादवबीच प्रतिस्पर्धा हुने भएको छ । मोरङको क्षेत्र नम्बर ६ मा काँग्रेस नेता डाक्टर शेखर कोइराला र एमाले नेता लालबाबु पण्डिताबीच प्रतिस्पर्धा हुने छ ।
यता ४ निर्वाचन क्षेत्र रहेको सुनसरीको १ नम्बर क्षेत्रमा जसपाबाट अशोककुमार राई र माओवादी केन्द्रका मुक्साहाङ मेन्वाङ्बोबीच प्रतिस्पर्धा हुने भएको छ । यस्तै सुनसरीको २ नम्बर क्षेत्रमा काँग्रेसले उम्मेदवार टुंग्याएको छैन भने एमालेले नेता भीम आचार्यलाई टिकट दिएको छ । सुनसरीको ३ नम्बर क्षेत्रमा भने काँग्रेसले पुनः विजयकुमार गच्छदारलाई उम्मेदवार बनाउँदा एमालेले भगवती चौधरीलाई टिकट दिएको छ । सुनसरी ४ मा भने काँग्रेसका ज्ञानेन्द्र कार्कीको टिकट सुनिश्चित हुँदा एमालेका जगदिशप्रसाद कुसियैतले पनि टिकट पाएका छन् ।
यता, उदयपुरको निर्वाचन क्षेत्र १ मा काँग्रेसका डाक्टर नारायण खड्का र एमालेकी मञ्जु चौधरीबीच प्रतिस्पर्धा हुने पक्का हुँदा उदयपुर २ मा भने नेकपा एसका जगन्नाथ खतिवडा र एमालेका ज्ञानेन्द्र श्रेष्ठबीच प्रतिस्पर्धा हुने भएको छ । यस्तै भोजपुरमा एमाले नेता तथा प्रदेश १ का पूर्व मुख्यमन्त्री शेरधन राईसँग माओवादी नेता सुदन किराँतीबीच प्रतिस्पर्धा हुने भएको छ ।